शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

चीनबाट फर्किएका रास्वपा नेताले भने– रवि लामिछानेलाई साथ दिन छिटो आयौँ

बिहीबार, १० असोज २०८१, १९ : ०९
बिहीबार, १० असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ । चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका रास्वपाका नेताहरूले रवि लामिछानेलाई साथ दिन छिटो नेपाल आएको बताएका हुन् ।  

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरू आउनुपरेको बताए । उनले पार्टीको सभापति व्यक्ति नभई संस्था भएकाले सबैले सहयोग गर्नुपर्ने भन्दै आफूहरू स्वदेश फर्किएको बताए । उनले रिसका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको आरोप लगाए । 

उनले भने, ‘अप्ठ्यारो घडीमा पार्टीको सभापति व्यक्ति रवि लामिछाने मात्रै होइन, त्यो संस्था हो । त्योमाथि इगोका कारण प्रहार भएको छ भने हामी एकजुट भएर यसको सामना गर्नुपर्छ । अप्ठ्यारो घडीमा नेपाल नै हुनुपर्छ भनेर आएका हौँ ।’

सांसद मनिष झाले पार्टी सभापतिले सहकारीमा आफैँ व्यक्तिगत रूपमा उपस्थित र संलग्न भएर रकम नलिएको प्रतिवेदनले स्पष्ट पारिसकेको बताए । उनले ४१ वटा कम्पनीमा ८७ अर्ब रकम सहकारीबाट आएकोतिर ध्यान नभई त्यसमध्येको एउटा मात्रै कम्पनीमा सभापति लामिछानेलाई लक्षित गरेर मात्रै प्रहार भइरहेको बताए । उनले रवि लामिछाने जोडिएको कम्पनीको पछाडि मात्रै अनुसन्धान केन्द्रित भएको भन्दै आपत्ति जनाए । 

उनले भने, ‘सहकारीमा आफैँ व्यक्तिगत रूपमा उपस्थित भएर संलग्न भएर रकम लिएको छैन भन्नेकुरा प्रतिवेदनले स्पष्ट पारिसकेको छ । कसैले पहिलो पाटोमा राजनीति नगरे हुन्छ । आफ्नो राजनीतिक भविष्य कतै जोखिममा छ कि भनेर धेरै कथाहरू नबुने पनि हुन्छ । अर्को पाटोमा हेर्दा एउटा व्यापारीले व्यापार गर्दै गर्दा ४१ वटा कम्पनीमा लगानी भित्र्याएको छ । सहकारीको पैसाबाट । त्यसमा ४० वटा कम्पनी अरू कुनै दललाई मतलब छैन । एउटै कम्पनीको पछाडि लागेको छ । त्यो रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र पूर्वगृहमन्त्री हुनुहुन्छ ।’

उनले २/४ करोडको पछि लागेर ८७ अर्ब छोड्ने चलखेल हुन लागेको भन्दै आशंका व्यक्त गरे । पाँच दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गरेको १४ सदस्यीय टोलीमध्ये ८ जना आज स्वदेश फर्किएका हुन् । बाँकी शुक्रबार नेपाल आउने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप