शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

साढे २ महिनादेखि वाणिज्य बैंकले रोके सुनको आयात

विदेशबाट आउने नेपालीकै भर, आयात र राजश्वमा असर
बिहीबार, १० असोज २०८१, १६ : ०१
बिहीबार, १० असोज २०८१

काठमाडौँ । झन्डै साढे २ महिनायता नेपालमा औपचारिक माध्यमबाट हुने सुनको आयात ठप्प भएको छ । व्यावसायिक कारोबारका लागि सुनको आयात गर्ने जिम्मेवारी पाएका वाणिज्य बैंकहरुले नयाँ आर्थिक वर्षदेखि सुनको आयात गरेका छैनन् ।

 व्यवसायीले माग नै नगरेपछि बैंकहरुले पनि सुनका आयात नगरेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माको भनाइ छ । 

वाणिज्य बैंकले सुन आयात गर्न छोड्दा देशमा आयात हुने सुनको मात्रा झन्डै ८० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा जम्मा एक सय किलोग्राम मात्र सुनको आयात भएको छ । यो दैनिक औसत १.६७ किलोग्राम हो । यो आयात विदेश जाने नेपालीले व्यक्तिगत रूपमा ल्याएको परिमाण हो । अघिल्लो वर्षको दुई महिनाको अवधिमा नेपालमा ५११ किलोग्राम सुनको आयात भएको थियो । यो दैनिक औसत ८.५२ किलोग्राम बराबर हो । 

किन भएन सुनको माग ?

नेपालमा सुनको माग नहुनुमा मुख्यतया तीन वटा कारण रहेको बैंकर्स तथा व्यवसायीहरू बताउँछन् । पहिलो, अहिले नेपालमा सुनको माग हुने सिजन नै होइन । सुनको माग मुख्यतया विवाहको सिजनमा बढी हुने गर्छ, यो भनेको दसैँ तिहारपछि हो । त्यसैले अहिले यस्तो माग हुने बेला नै भएको छैन ।  

सुनको माग नहुनुको दोस्रो र सबैभन्दा मुख्य कारण भनेको सुनको मूल्यमा भएको वृद्धि हो । अहिले सुनले दिनप्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ । यसरी मूल्य बढ्दा स्वैच्छिक रूपमा हुने सुनको माग अहिले ठप्पप्रायः छ । खासगरी तिज र दसैँ तिहारको समयमा स्वैच्छिक रूपमा गहना बनाउन चाहनेले सुनको माग गर्छन्, जसलाई मूल्यले धेरै नै असर गर्छ । यस पटक मूल्य बढेकोले मागमा कमी आएको हो । 

सुनको मूल्य अन्तर्राष्ट्रिय स्तरमा निर्धारण हुने भएकोले यसमा आन्तरिक माग र आपूर्तिसँग कुनै सरोकार राख्दैन । अन्तर्राष्ट्रिय बजारमा भने विश्वव्यापी मागमा वृद्धि र केन्द्रीय बैंकहरुको ब्याजदर गिरावटको प्रभाव परिरहेको छ । 

डलरलाई अन्तर्राष्ट्रिय विनिमयको माध्यम बनाउन रोक्न चाहने राष्ट्रहरू चीन भारत लगायतले यतिबेला सुनको भण्डारण बढाइरहेका छन् । रुसले पनि विदेशी मुद्राको सट्टा सुनमार्फत वैदेशिक कारोबार गर्दै आएको छ । यसले गर्दा सुनको मूल्य आकासिँदै गएको छ । 

पछिल्लो समय अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाइदिँदा मूल्यमा झनै दबाब परेको छ । त्यसैले पछिल्लो चार दिनदेखि मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । यसरी मूल्य बढ्दा सुन किन्न चाहनेले पनि किन्न छाडेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् । 

स्थानीय बजारमा सुनको माग घट्नुको तेस्रो मुख्य कारण भनेको पछिल्लो समय भारतले सुन आयातमा घटाएको भन्सार दर हो । भारतले चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दरलाई १४.३५ प्रतिशतबाट घटाएर ५.३५ प्रतिशतमा झारेको थियो । यसको प्रभावले सीमावर्ती भारतीय बजारमा सुन सस्तिएको छ । यसले नेपालमा तस्करी बढाएर सुनको माग घटाएको सीईओ शर्मा बताउँछन् । नेपालमा भने अहिले सुनको भन्सार दर २० प्रतिशत रहेको छ ।

नेपालका सुन व्यवसायीसँग कुल कति परिमाणमा सुनको स्टक छ भन्ने आधिकारिक र एकीकृत तथ्याङ्क उपलब्ध छैन । वाणिज्य बैंकहरुसँग भने अहिले एक सय किलोभन्दा बढी सुनको स्टक छ । बजारको दैनिक माग एक/दुई किलोमात्रै देखिएकोले अहिलेको मागको आधारमा बैंकहरुसँग भएको स्टकले महिनौँको माग धान्न सक्छ । 

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत शर्मा बजारले माग गरे मात्रै बैंकहरुले सुन आयात गरिदिने भन्दै बजारमा माग नै नभएर सुन आयात नगरेको बताउँछन् । बजारमा माग हुन थालेपछि बैंकहरुले पनि सुनको आयात गर्ने उनको भनाइ छ । 

कतिपय व्यवसायीहरू भने दसैँको मुखमा सुनको आयात रोकिँदा यसले तस्करीलाई झनै बढाएको आरोप लगाउँछन् । व्यवसायी नरेन्द्र कुमार गुप्ता सुनचाँदी बजारमा सिन्डिकेट गर्ने उद्देश्यले आयात रोकिएको बताउँछन् । ‘दसैँको मुखमा सुन आयातमा लगाइएको रोकले सुनमा तस्करीदेखि गलत क्रियाकलाप हुन सक्छ’, गुप्ता भन्छन्, ‘यसबारे सरोकारवाला निकाय गम्भीर हुनु जरुरी छ ।’ आफूले विगतदेखि नै सुनमा हुँदै आएको सिन्डिकेटबारे आवाज उठाए पनि अझै बेथिति कायमै रहेको उनको भनाइ छ ।

सुनका कारण आयात र राजश्वमा असर

सुन आयातमा आएको गिरावटका कारण यो वर्षको दुई महिनामा भएको सुनको आयातको कुल मूल्य १ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ । यसबाट जम्मा २० करोड ८ लाख रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको छ ।

अघिल्लो वर्ष मूल्य अघिल्लो वर्षको यही अवधिमा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सुन आयात हुँदा ४३ करोड ४३ लाख रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा हुने कुल आयात समेत न्यून मात्रामा मात्रै बढेको तथ्याङ्क छ । यसका पछाडि पेट्रोलियम पदार्थको मूल्य गिरावट प्रमुख कारणको रूपमा रहँदा सुन आयातमा भएको गिरावटले समेत महत्त्वपूर्ण हिस्सा ओगटेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप