चितवन । सडक विभागले यही असोज १० गतेभित्र राजमार्गको सडकका खाल्डाखुल्डी पुर्ने दाबी गरेको थियो । तर, व्यवहारमा भने त्यो सम्भव भएन । काठमाडौँको नागढुंगादेखी चितवनको नारायणगढ सडक खण्डको यात्रा गर्ने क्रममा ठाउँ ठाउँमा कच्ची बाटो र प्रशस्त मात्रामा खाल्डाखुल्डी भेटिन्छन् ।
हालै नागढुंगादेखी नारायणगढसम्मको स्थलगत रिपोर्टिङ गर्ने क्रममा हामीले सडकको दुरावस्था भेट्यौँ । लाखौँ नागरिकहरू यही सडकको बाटो हुँदै पूर्व पश्चिमतर्फको यात्रा गर्छन् । अन्य समयमा भन्दा दसैँमा सवारीसाधनको चाप बढ्ने गर्छ । दसैँ नजिकिँदै जाँदा खराब सडकका कारण यात्रुहरू निकै सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।
नागढुंगादेखी नारायणगढ सडक खण्डको दुरी जम्मा १ सय ३३ दशमलव ५ किलोमिटर मात्र हो । यो दुरी पार गर्न सामान्यतया ३ घण्टा ४८ मिनेट समय लाग्छ । तर, कच्ची बाटो र खाल्डाखुल्डी भएकै कारण यो भन्दा दोब्बर बढी समय लागेको गुनासो यात्रुहरू गर्छन् ।
मुख्य गरी नागढुंगा सुरुङ मार्गदेखि नौबिसेसम्मको १२ किलोमिटर सडक खण्ड बिग्रिएको छ । । नौबिसेबाट गजुरीसम्मको कालोपत्रे भत्काइएपछि धूलोधूँवा उडेर यात्रा झन् कष्टकर बन्ने गरेको छ । नागढुंगा–मुग्लिङ सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझाले सडकको ८० प्रतिशत भागमा ग्राभेल राखेर गाडी कुदाउन सक्ने बनाइएको बताए पनि उनको दाबी सत्य साबित भएन । यहाँ दुई खण्डमा सडक निर्माण अगाडि बढाइएको छ । पूर्वी खण्ड नागढुंगा–मलेखुसम्म र दोस्रो खण्ड मलेखु–मुग्लिङसम्म निर्माण कार्य भइरहेको छ ।
सडक विस्तार जनताको सुख, सुविधा, छिटो छरितोका लागि हुनुपर्ने हो । तर, ठिक विपरीत भइरहेको छ । महादेववेसी गाउँपालिका ६ धादिङका स्थानीयबासीहरुले सडककै कारण कष्ट भोग्नु परेको दुखेसो राातोपाटीसित पोखे । दसैँ अगाडी नै पिच गर्ने भनेर ठेकेदारले महादेबबेसीका घर भत्काए, बाटो खने, यति बेला आँगनमाथि ढल बनाइएको छ । तर न त बाटो पिच भयो, न ठेकेदारले समयमै काम सम्पन्न गरे ।
‘पाँच वर्षमा तयार भई सक्नु पर्ने हो । तर काम नहुँदा सडकको अवस्था भद्रगोल छ ’ स्थानीय आंशिक सुनारले रातोपाटीलाई सुनाए, ‘ठेकेदार, नगरपालिका कतै गए पनि हाम्रो कुराको सुनुवाइ भएन ।’
नागढुंगा–नारायणगढ सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेका पुलहरू पनि बन्न सकेका छैन । एकातिर कच्ची बाटो अर्कोतिर जीर्ण अवस्थामा रहेका पुलका कारण सवारीसाधन दुईतर्फी चल्न सकेको देखिँदैन । एकतर्फी बाटोका कारण सवारीसाधनको जामले यात्रुहरूले हैरानी र सास्ती खेप्नु परेको छ ।
रातोपाटीले स्थलगत रिपोर्टिङ गर्ने क्रममा यो सडक खण्डमा सवारी गुडाइरहेका राम बहादुर विष्टसँग कुरा गरेको छ । उनले गाडी चलाउन थालेको १५ वर्ष भयो । पहिले–पहिले धनगढीदेखि काठमाडौँसम्म १२/१३ घण्टामा पुगिन्थ्यो । अहिले कम्तीमा २४ घण्टा लाग्ने गरेको उनी सुनाउँछन् । ‘कच्ची बाटो, त्यसमाथि ट्राफिकले एक सय ठाउँ चेकिङ गर्छन् । पैसा दिएन भने ट्राफिकले दुःख दिन्छन्’ लामो दुरीको बस चलाउँदा खेपेका हैरानी उनले सुनाए, ‘समयमै गन्तव्यमा नपुर्याउँदा यात्रुहरू हामीसँग रिसाउँछन् । गाडी बिस्तारै चलायो भनेर गुनासो गर्छन् । कच्ची बाटोकै कारण हामी पीडामा छौँ ।’ एक पटक गाडी सर्भिसिङ गरायो भने ८०/९० हजार रुपैयाँ खर्च लाग्छ । कच्ची सडककै कारण गाडीका पाट पुर्जा फेरिरहनु पर्ने बाध्यता रहेको धनगढी–काठमाडौँ रुटका सवारी चालक हरि रानाले बताए ।
गत असार २८ गते चितवन, भरतपुरको सिमलतालमा दुई वटा बस दुर्घटना भएपछि राजमार्गमा व्यापार गर्नेहरूलाई ठुलो धक्का लाग्यो । यही बस दुर्घटनाको समाचार सुनेर धादिङ, बेनीघाटस्थित त्रिशूली रिभर साइड रिसोर्टमा अग्रिम बुकिङ गरिसकेका झन्डै १३ सय जनाले बुकिङ क्यान्सिल गरे । जसको कारण रिपोर्टलाई १६ लाख रुपैयाँ बराबर घाटा लागेको रिसोर्टका म्यानेजर अजय सिल्वालले बताए । ‘हामी बैङ्कबाट ऋण लिएर रिसोर्ट चलाउँछौँ । त्यसमाथि व्यापार भएन भने ठुलो आर्थिक भार पर्छ ।’ सिल्वाल भन्छन्, ‘बाटोकै कारण धेरैले आउनै मान्दैनन् । एडभान्स दिइसकेका कति त जामका कारण आधा बाटो पुगेर फर्किन्छन् ।’
धादिङ, बेनीघाटदेखी काठमाडौँसम्म जम्मा दुई घण्टाको बाटो हो । रिपोर्टमा आइसकेका कतिपय ग्राहकहरू ४ घण्टा भन्दा बढी समय लागेको गुनासो पोख्छन् । कच्ची बाटोको यात्रा गर्दा घाइते भएर रिपोर्टसम्म आएका, कति घर फर्केका उदाहरणहरू प्रशस्त छन् ।
गल्छीदेखि कुरिनकारसम्म डेढ दर्जन रिसोर्टहरु छन् । ती सबैले त्रिशूली रिभर साइड रिसोर्ट जस्तै आर्थिक भार खेप्नु परेको छ । कारण हो, कच्ची बाटो र सडकमा खाल्डाखुल्डीको जोखिम । सडक नबनेका कारण बेनीघाट बजार र मलेखु बजारमा पहिला जस्तो चहलपहल छैन । कति व्यवसायीहरू यहाँबाट विस्थापित भइसकेका छन् । कच्ची बाटो, त्यसमाथि धूलो उड्ने भएकाले सार्वजनिक सवारीसाधनहरू यहाँ रोकिन मान्दैनन् ।
सडक नबनेकै कारण सानादेखि ठुला व्यापारीहरूले मार खेप्नु परेको छ । धुनीबेसी नगरपालिका ७ धादिङकी पार्वती उप्रेती, (६१) को कुरा सुनौँ न । उनले धुनीबेसीमा किराना पसल चलाउन थालेको ३५ वर्ष नाघ्यो । मूल सडकको किनारमै घर, घरमै पसल । उनको ८ जनाको परिवार यसै व्यवसायले धानेको थियो । अहिले एक वर्षदेखि उनको पसल बन्द छ । आम्दानीको माध्यम पनि ठप्प छ ।
पार्वती जस्तै चन्दिरा सुवेदी (५८) पनि निराश मुद्रामा भेटिइन् । ७ वर्षदेखि किराना पसल र तरकारी पसल सञ्चालन गर्दै आएकी धुनीबेसीकी सुवेदीको व्यवसाय अहिले शून्य जस्तै छ । पार्वती र चन्दिरा जस्तै निराश मुद्रामा भेटिने स्थानीयबासिहरु लामो लाइन छ । कारण हो, कच्ची बाटो, त्यही बाटोकै कारण निरन्तर उडिरहने धूलो ।
सडक विभागले दिनमा दुई चोटि पानी खन्याए पनि फेरी सुक्छ । र, धूलो उड्न थालिहाल्छ । ‘पहिला यहाँ राम्रो व्यापार हुन्थ्यो । अहिले हुन्न ।’ डोको र तरकारी बेच्दै आएका स्थानीय आत्माराम सुवेदी दुखेसो पोख्छन्, ‘हामी समग्र बजारवासीलाई समस्या छ ।’
धादिङकै नौबिसे चोकमा पुल बनाउन सुरु भएको तीन वर्ष नाघ्यो । कहिले बनिसक्ने हो त्यसको कुनै अत्तोपत्तो छैन । धुनीवेसीको बजार क्षेत्रमा आधा दर्जन भन्दा बढी राम्रा होटेल सञ्चालनमा थिए । पहिले पूर्व पश्चिम रुटमा चल्ने गाडीहरू यहाँ रोकिन्थे । यात्रुहरू खाना खान रोकिन्थे । अहिले ती सबै बन्द अवस्थामा छन् । कारण हो, बिग्रिएको, भत्किएको बाटो ।
सडक विभागले असोज १० गतेभित्र सडकका खाल्डाखुल्डी पुरिसक्ने लक्ष्य लिए पनि त्यो सम्भव भएन । काम द्रुत गतिमा भइरहेको छैन । न त पर्याप्त कामदार नै खटाइएको छ ।
कच्ची बाटो र सडकका खाल्डाखुल्डीबारे जिज्ञासा राख्दा सडक विभागका उपमहानिर्देशक तथा सडक सम्भार महाशाखाका प्रमुख अर्जुन प्रसाद अर्यालले सडक विस्तार तथा ठेक्का लागेर निर्माण भइरहेका ठाउँमा सम्बन्धित व्यवसायीले नै खाल्डाखुल्डी पुर्ने निर्णय भएको जानकारी दिए ।
काठमाडौँबाट नौबिसेसम्म पुरानो कालोपत्रे भत्काइएपछि वर्षातको समयमा गाडी कुदाउन समस्या थियो ।’ नागढुंगा–मुग्लिङ सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझा भन्छन्, ‘हाल ८० प्रतिशत सडकमा ग्राभेल राखेर कुदाउन मिल्ने बनाएका छौँ ।’ तस्बिर/भिडियो: रोशन पोखरेल/रातोपाटी
प्रतिक्रिया