शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
सडकको अवस्था

बुटवल–नारायणगढ सडकः विस्तार ढिलो हुँदा राजनीतिक मसला, यात्रा भने कष्टकर

बिहीबार, १० असोज २०८१, १६ : ००
बिहीबार, १० असोज २०८१

बुटवल । देवदह खैरेनीकी रीता थापामगरलाई गत साता काठमाडौँबाट बुटवल आउन १३ घण्टा लाग्यो । सडकमा खाल्टाखुल्टीका कारण यात्रा निकै कष्टकर भएको उनको अनुभव छ ।

‘अझ दाउन्नेको उकालोमा गाह्रो छ,’ गत साता बुटवलमा भेटिएकी रीताले भनिन्, ‘गाडीमा झ्याक्कझुक्क हुँदा शरीर दुखाउँछ । धुलो उस्तै, गाडीभित्र पनि मास्क लगाएर बस्नुपर्छ ।’ 

लु१ख ७३८३ नम्बरको बसका चालक रमेश थापा मगरलाई ६ वर्षपहिले बुटवलबाट बर्दघाट पुग्न ४५ मिनेट लाग्थ्यो, अहिले दुई घण्टा लाग्छ ।

butwal road (1)

यस्तै, ६ वर्षअघिसम्म बसचालक हरेराम चौधरीलाई बुटवल–नारायणगढ छिचोल्न करिब तीन घण्टा लाग्थ्यो, अहिले ५ देखि ८ घण्टासम्म लाग्छ । 

पछिल्लो ६ वर्षदेखि बुटवल–नारायणगढ सडक विस्तारको काम चलेकाले सवारी तथा ढुवानीका साधनलाई यहाँ असहज भइरहेको छ । यहाँ खाल्टाखुल्टीका समस्या त छँदै छन्, त्यसमाथि पानी पर्दा हिलाम्मे र सुक्खामा धुलोको हैरानी खेप्नुपर्छ । 

बसचालक चौधरी भन्छन्, ‘कतै खाल्टाखुल्टी, कतै साँघुरो, कतै उकालो हुँदा बस बिस्तारै चलाउनुपरेको छ ।’

‘अझ दाउन्नेको उकालोमा गाह्रो छ,’ गत साता बुटवलमा भेटिएकी रीताले भनिन्, ‘गाडीमा झ्याक्कझुक्क हुँदा शरीर दुखाउँछ । धुलो उस्तै, गाडीभित्र पनि मास्क लगाएर बस्नुपर्छ ।’ 

२०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको शिलान्यास गरेका थिए । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर सडक २०७९ साउनमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो, तर अझै पूरा भएको छैन । 

butwal road (1)

सम्झौताका क्रममा ठेकदार कम्पनीले तेस्रोपटक म्याद गरिसकेको छ । पछिल्लो म्याद अनुसार, २०८२ साउन ६ गतेसम्म आयोजना सम्पन्न गर्नुपर्ने छ । यद्यपि यसपालि असारदेखि काम रोकिएको छ ।

बर्खाको समय र रकम अभाव देखाउँदै निर्माण कम्पनीले काम रोकेको बुटवल–नारायणगढ चार लेन सडक आयोजनाको पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी इन्जिनियर शरद श्रेष्ठले रातोपाटीलाई बताए । यस आयोजनाको अहिलेसम्म जम्मा ५२.५ प्रतिशत मात्र काम भएको छ । 

कम्पनीले बुटवलको शिलान्यास गरेको ठाउँदेखि देवदह, सुनवल, दाउन्ने, चोरमारा लगायत विभिन्न ठाउँमा भत्काउने काम गरेको थियो । यस खण्डको सडक छेउछाउमा निर्माण सामग्री राखिएकाले समेत यात्रा कठिन हुने गरेको छ । सडकबाट धुलो उड्ने हुँदा यात्रुदेखि स्थानीयलाई रुघा लाग्ने, आँखा पाक्नेजस्ता समस्या देखिएका छन् । 

बर्दघाटमा सडक छेउमै घर भएका २५ वर्षीय उमेश बोहरा धुलोका कारण बेलाबेला बिरामी पर्ने गरेका छन् । ‘धुलोले गर्दा घरका झ्याल ढोका थुनेर बस्नुपर्छ । बाहिर बेन्च राखेर पनि बस्न मिल्दैन,’ उनी भन्छन्, ‘जताजतै धुलो छ, धुलोले मलाई धेरैपटक रुघा–खोकी लागेको छ । यसमाथि कपडा फोहोर हुने त कुरै छाडौँ ।’ 

butwal road (13)

  • होटल चल्नै छाडे 

रूपन्देहीको देवदह भलुहीमा १० वर्षअगाडि खुलेको राप्ती–प्युठान होटलमा दाङ तथा नेपालगन्जबाट आउने–जाने बसहरू रोकेर यात्रुले खाना तथा खाजा खाने गर्थे । एकैपटक तीन–चारवटा बस रोकेर खाना खाने यस होटलअगाडि अहिले बस रोक्नै समस्या छ । लथालिङ्ग सडक र धुलोका कारण यहाँ अचेल खाना तथा खाजाका लागि बस रोकिँदैनन् । 

६ वर्षअघिसम्म यस सडकखण्डमा होटल व्यवसाय राम्रै फस्टाएका थिए, सडक विस्तार कार्य सुरु भएसँगै यहाँको होटलहरू प्रभावित भएका छन् । 

कैपटक तीन–चारवटा बस रोकेर खाना खाने यस होटलअगाडि अहिले बस रोक्नै समस्या छ । लथालिङ्ग सडक र धुलोका कारण यहाँ अचेल खाना तथा खाजाका लागि बस रोकिँदैनन् । 

कुनै समय नवलपरासीको चिसापानी खाना र नास्ताका लागि चर्चित थियो । त्यहाँ रहेका होटल पनि अहिले चल्न छाडेका छन् । यहाँ रहेको ‘रोयल कजेट’का सञ्चालक शङ्कर भण्डारीका अनुसार, सडकको अवस्थाकै कारण यहाँ यात्रुले खाना खान चाहन्नन् । उनीहरू धुलो नभएको र सहज ठाउँ खोज्दै जान्छन् । 

butwal road (15)

बर्दघाटस्थित वर्षा होटलकी सञ्चाल रूपा न्यौपानेले पछिल्लो समय होटल नचल्दा भाडा समयमा दिन अप्ठेरो परेको बताइन् । वर्षौंदेखि चलेको होटल अहिले सडकका कारणले चल्न छाडेको उनको भनाइ छ । 

दाउन्नेमा होटलहरूको पनि व्यापार उस्तै गरी घटेको छ । अझै धेरै लगानी गरेर खोलिएको ठुला होटलहरू बैंकले लिलाम गर्नेसम्म अवस्था पुगेको चिसापानीका होटल व्यवसायी बलराम भण्डारीले बताए । सडक विस्तार यतिखेर होटल तथा व्यापारीका लागि अभिशापजस्तै बनेको उनको भनाइ छ ।

  • सवारी बिग्रनेदेखि दुर्घटनाको जोखिम 

पश्चिम नेपाल बस प्रालिका २४ सय बसमध्ये दैनिक दुई सय बसले निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड प्रयोग गर्छन् । 

प्रालिका कार्यकारी निर्देशक रामचन्द्र भुसालका अनुसार, यस सडकखण्डमा यात्राको समय लम्बिँदा बसमा धेरै तेल खर्च हुने गरेको छ । यस्तै सडकको खराबीका कारण टुटफुट हुने र टायर पन्चर हुने घटना बढेका छन् । बुटवलदेखि एकपटक काठमाडौँ, पोखरा, बाग्लुङ पुगेर फर्कंदा बसको मर्मत गर्नुपर्ने हुन्छ । प्रत्येकपटक एउटा बसको मर्मत गर्न १० हजार रुपैयाँ लाग्ने उनको भनाइ छ ।

butwal road (17)

यस सडकखण्डमा खाल्टाखुल्टी हुँदा र निर्माण सामग्री राखिँदा समेत असहज भई कतिपय सवारी साधन पल्टिने गरेका छन् । अझै खाल्टामा पानी जमेर चालकहरू झुक्किँदा नवलपरासीको ज्यामिरे र सुनवलमा असारमा मात्रै दुईवटा बस प्रालिका कार्यकारी निर्देशक भुसालले बताए । 

‘सडकको खराबीका कारण असार र साउनमा मात्रै प्रालिका पाँचवटा बस दुर्घटनामा परे,’ उनले भने ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख एसपी श्याम खत्री दाउन्नेमा सडक निर्माणका क्रममा धेरै पहिरो जाने र पटकपटक जाम हुने समस्या रहेको बताउँछन् । निर्माणका क्रममा सडकको दायाँ–बायाँ अग्लो हुने भएकाले पनि सवारीहरू पल्टने गरेको उनको भनाइ छ । ‘केही मोटरसाइकल पनि सडकबाट खसेका छन् । केही समयअगाडि सोही क्षेत्रमा बन्दै गरेको पुलबाट मोटरसाइकल खसेर एक जनाको मृत्यु भएको थियो,’ उनले भने । 

  • नेताको चासो 

निर्माणाधीन सडककै कारण दैनिक जीवन कष्टकर भएपछि छिटो काम सम्पन्न गर्नुपर्ने माग स्थानीयले मात्रै होइन, बेला बेला नेताले समेत गर्दै आएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गत वर्षको पुसमा निर्माण छिटो सम्पन्न गराउनका लागि दबाबस्वरूप नारायणगढ–बुटवलको पैदलयात्रा गरेका थिए । 

butwal road (3)

यस्तै, नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले केही समयअगाडि बुटवलमा पत्रकारसँगको भेटघाटमा बुटवल–नारायणगढ सडक विस्तार कार्य छिटो गर्नुपर्ने बताएका थिए । ‘नेताहरू जहाजमा हिँड्छन् । यहाँ बाटो कति दुःख छ भन्ने उनीहरू थाहै छैन,’ उनले भनेका थिए । 

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि गत साता रुपन्देहीको एक कार्यक्रमका यो सडक समयमा सम्पन्न नगर्दा धेरैलाई दुःख भएको बताएका थिए । 

योसँगै यस सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्न सम्बन्धित मन्त्रीहरूको निर्देशन बेला–बेला आउने गरेकै छ । 

नवलपरासीको चिसापानीका व्यवसायी बलराम भण्डारी नेताहरू थप चर्चा कमाउनका लागि यस्ता विषयमा बोल्ने गरेको बताउँछन् । ‘उनीहरू बोलेर के भयो ? हामीलाई यहाँ समस्या जस्ताको तस्तै छ, ठेकदार कम्पनीले कसैलाई सुन्दैनन्,’ उनले भने । 

सूचना अधिकारी इन्जिनियर शरद श्रेष्ठले दसैँका बेला हुने ओहोरदोहोरलाई मध्यनजर गरी जथाभाबी नभत्काउन र भत्काएको ठाउँमा बेला–बेला पानी हाल्नका लागि निर्माण पक्षलाई निर्देशन दिइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप