बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

मह जोडीले गर्‍यो ‘महजात्रा’को घोषणा

बिहीबार, १० असोज २०८१, १४ : ५४
बिहीबार, १० असोज २०८१

काठमाडौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले दश वर्षपछि ‘महजात्रा’को घोषणा गरेको छ ।  मह जोडीले मिरा फउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ ‘महजात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने घोषणा गरेका हुन् ।

मनोरञ्जन क्षेत्रमा दर्शकलाई हास्य–व्यंग्यमार्फत हँसाउँदै आएको मह जोडीको प्रहसनमा नेपालका ख्याति प्राप्त वरिष्ठ हास्य व्यंग्य कलाकारहरू किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेतलगायतको प्रस्तुति रहनेछ ।

प्रहसनको मुख्य विशेषता हास्य–व्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको छ । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना तथा सांस्कृतिक कुरितीहरुलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने यो प्रस्तुति मह जोडीको अद्वितीय शैलीमा हुनेछ ।

दश वर्षको लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा आउने मह जोडीले आफ्नो पुरानो शैलीको हास्य–व्यंग्यलाई फेरि जीवन्त बनाउन र  दर्शकहरूलाई हँसाउँदै पहसनमा प्रस्तुत विषयवस्तुमा सोच्न बाध्य पार्ने उद्देश्य लिएको छ । यस प्रहसनमा हास्य र सन्देशको मिश्रण हुने भएकाले दर्शकहरूलाई हँसाउने मात्र नभई समाजप्रतिको धारणा परिवर्तन गर्ने प्रयास पनि गर्ने जनाइएको छ ।

mahajatra (2)

‘महजात्रा’ मह संचार र सुश्री मिडिया प्रा.ली.को सहकार्यमा कात्तिक २२ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ भने प्रहसनको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । ‘महजात्रा’ नेपाली हास्य व्यंग्य क्षेत्रमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।

mahajatra (1)mahajatra (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप