शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
ड्राइभरका दु:ख

लामो दुरीका बसका चालकले झेलेका तीन झमेला

बिहीबार, १० असोज २०८१, १५ : ३०
बिहीबार, १० असोज २०८१

काठमाडौँ । राजमार्गको यातायातबारे यात्रु, प्रहरी वा अन्य मानिसका आ–आफ्नै गुनासा छन् । चालकको पनि गुनासो नहुने कुरै भएन । सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न गन्तव्यका लागि लामो दूरीका बस चालकहरूले झेलिरहेको समस्या सडकको दुरावस्था, यात्रु कमी र ट्राफिक प्रहरीले दिने दुःख नै हो ।

रातोपाटीले गरेको स्थलगत रिर्पोटिङका क्रममा उनीहरूले आफ्ना विभिन्न समस्याहरू सुनाए । काठमाडौँदेखि झापा, धनगढी, महेन्द्रनगर लगायतका रुटमा चल्ने सार्वजनिक यातायातका चालकहरूले आफूहरूले भोगिरहेका कठिनाइका लामा कथा सुनाएका छन् । उनीहरूको बोली जस्ताको त्यस्तै उतारिएको छ, यहाँ ।

  • आशिष रिजाल, कोहलपुर नगरपालिका, वडा नम्बर ३

म २५ वर्षदेखि गाडी चलाउँदै आएको छु । महेन्द्रनगर– काठमाडौँ गाडी चलाउँछु । यो रुटमा हिँडेको २२ वर्ष भयो । काठमाडौँ–महेन्द्रनगर यात्रा गर्न ३२ घण्टादेखि ४० घण्टा लागिरहेको छ । बाटोको अवस्था नाजुक छ । बाढी पहिरो खाल्डाखुल्टीले बाटो बिगारेको छ । पहिले १८ घण्टामा पनि पुगिन्थ्यो, अहिले दोब्बर समय लाग्ने गरेको छ । 

सरकारले लापरबाही गरेको छ । नाग ढुङ्गादेखि नारायण घाटसम्मको बाटो त्यस्तै छ । ठाउँ ठाउँमा खनेको छ, पहिरो आएको छ । अहिले बुटवलदेखि नारायणघाटको बाटोको अवस्था त्यस्तै छ । चनौटादेखि भालुवाङसम्मको सडकको अवस्था त्यस्तै छ । सबै ठाउँमा भत्किएको बाटो त्यस्तै छ । पुलहरूको अवस्था पनि नाजुकै छ, नयाँ पुल पनि बनेको छैन । 

ट्राफिकले ठाउँ ठाउँमा गाडी रोक्छ, लाइसेन्स माग्छ, दुःख दिएको छ । बाटोघाटो चाँडो मर्मत गरेर यात्रुलाई पनि सजिलो हुने थियो, चालकलाई पनि ।

  • शङ्कर महरा, भीमदत्त नपा, कञ्चनपुर

मैले गाडी चलाउन थालेको २६ वर्ष भयो । महेन्द्रनगर काठमाडौँ रुटमा चलाउँछु । सुरुमा दिउँसोको गाडी चलाउँदा १२–१३ घण्टामा यात्रा पुरा हुन्थ्यो, गाडीको चाप पनि कम थियो । अहिले बाटोको अवस्था बिग्रिएको छ । तसर्थ यात्रा तय गर्न कम्तीमा २५ घण्टा लाग्छ । 

गाडीको सङ्ख्या बढेर सडकको क्षमता भन्दा ओभरलोडेड भयो । काठमाडौँबाट मुग्निसम्म, नाराणघाटदेखि बुटवलसम्मको बाटोको अवस्था नाजुक छ । दाङको भालुवाङ सडक खण्ड पनि बिग्रिएको छ । पुलको अवस्था पनि त्यस्तै छ । मर्मत गरिएको छैन । 

नयाँ गाडी मर्मतमा त्यति खर्च लाग्दैन, पुरानो गाडीमा सस्पेन्सनहरु बिग्रन्छ, १० देखि २० हजार मर्मत खर्च धेरै आउँछ । बाटोमा चेकपोइन्टहरु धेरै छन् । ट्राफिकले कहिले कागज माग्ने, मान्छे कति हालेको छ, सामान के छ भनेर हेर्ने, पैसा मागेर दुःख दिने गरेका छन् । बुटवलको चनौटालगायतका चेक पोइन्टमा दुःख दिने गर्छन् । लाइसेन्स देखाउँदा पनि अनावश्यक दुःख दिन्छन्  । आरामदायी यात्राका लागि बाटो मर्मत गर्न आवश्यक छ । एक ठाउँमा चेक गरेपछि सबैतिर दुःख नदिने गरे राम्रो हुन्थ्यो । 

  • निरज सिलवाल, शनिश्चरे, मोरङ

गाडी लाइनमा लागेको १५ वर्ष भयो, निरन्तर काठमाडौँ–झापा रुटमा गाडी चलाइरहेको छु ।  कहिले त पोखरा, लुम्बिनी पनि गएँ । अहिलेको बाटोको अवस्थाका कारण काठमाडौँ झापा यात्राको समय १६ घण्टा छ । पहिले १२ घण्टा मात्रै लाग्थ्यो । अहिले सडकमा सवारी चाप धेरै छ । सडकमा बाख्रा, कुखुरा, गाई छोडिएको हुन्छ । 

बाटो कहाँ चाहिँ ठिक छ भन्नु, ढुङ्गा खसेर ड्राइभर मरिरहेका छन् । सबैतिर जोखिम नै छ । सडक पिच भएर मात्र भएन, कहीँ ढुङ्गा झरिरहेको छ । सिमलतालमा खसेका २ वटा गाडी अझै भेटिएको छैन । पुलहरू कतै भत्किएका छन्, कतै मर्मत पनि भएको छ । पथलैजादेखि ढल्केसम्म सिङ्गल पुलहरू मात्र छन् । ढल्केदेखि उता लागेपछि कहीँ बाटो बनाएको छ, कहीँ अलपत्र छ । नौबिसेदेखि नागढुङ्गाको बिचको बाटो नराम्ररी बिग्रिएको छ । ढल्केदेखि कञ्चनपुरसम्म ठाउँ ठाउँमा बनेको छ, ठाउँ ठाउँमा बिग्रिएको छ । एक पटक मर्मत गर्नुपर्‍यो भने ६० देखि ६५ हजार खर्च हुने गरेको रहेछ । अहिले यात्रुको चाप पनि छैन । मेरो बस ४० सिट क्षमताको हो, तर अहिले १५ सिट मात्र भरिएको छ । खाली खाली गाडी गुडाउनु पर्ने अवस्था छ, सवारी व्यवसाय पनि घाटामा छ । त्रिसुलीको तिरै तिर हिँड्ने हाम्रो कुनै सुरक्षा छैन । म आफ्नो पेसाप्रति खासै सन्तुष्ट छैन । 

बाटोमा ट्राफिकले दिने दुःखको त कुरै नगरौँ । सबै कागजात हुँदा पनि वाइपर भएन वा के भएन भनेर दुःख दिन्छन् । सबै चीज ठिक हुँदा पनि एउटा न एउटा कमजोरी देखाउँछन् । काठमाडौँदेखि झापासम्म ४ ठाउँमा ट्राफिकले नियमित पैसा उठाउने गरेको छ । सडक विभागले बाटो मर्मत गरोस् । ट्राफिक प्रहरी देख्दा हामीलाई सुरक्षाको महसुस होस् । कागजात हुँदा पनि ट्राफिकले कति पैसा उठाउने हो, चिट नै पो काट्ने हो कि  भनेर हामी त्रासमा रहनुपर्ने रहनु नपरोस् ।

  • चन्द्रबहादुर ऐर, कैलाली, अत्तरिया

म अहिले धनगढी काठमाडौँ रुटमा एसी बस चलाइरहेको छु । ७ वर्षदेखि गाडी चलाइरहेको छु । बाटोको अवस्था हेर्दा सवारी साधन चलाउन मन लाग्दैन । पहिले म धनगढी अछाम रुटमा चलाउँथेँ । ५ वर्षदेखि धनगढी काठमाडौँ रुटमा चलाइरहेको छु । पहिले १६ घण्टाभित्र काठमाडौँ–धनगढी गर्न सकिन्थ्यो भने अहिले ३० घण्टासम्म पनि लाग्छ । तसर्थ यो रुटको यात्रा एकदमै दुःखदायी छ । दाउन्नेमा कहिले पहिरो जान्छ । नारायणघाट–बुटवल सडक खण्ड नाजुक छ । गैँडाकोट, कावासोती आदि उस्तै । सबैभन्दा धेरै दुःख चोरमारादेखि दाउन्ने झर्ने बर्दघाटसम्मको बाटोमा पाइन्छ ।

दसैंं लागिसक्यो मान्छे छैन, सबै विदेशतिर गएको छ । चहलपहल केही छैन । पूरै गाडी खाली छ । पहिलाका दिनमा दसैँ आउँदा हामी चुप लागेर बसे पनि हुन्थ्यो, अहिले त यात्री खोज्न हिँड्नुपर्ने अवस्था छ । बाटो त्यस्तै छ, ट्राफिकले त्यस्तै दुःख दिने गरेको छ । अहिले धनगढी काठमाडौँ भाडा २७४५ रुपैयाँ छ । कहिले ट्राफिकले गाडीमा मान्छे धेरै भयो भनेर दुःख दिन्छ । 

काठमाडौँबाट धनगढी यात्रा पुरा गरेपछि गाडी मर्मतका लागि ग्यारेजमा हाल्नै पर्ने अवस्था हुन्छ । धनगढीबाट काठमाडौँ यात्रापछि पनि त्यही गर्नुपर्छ । एक पटक गाडी मर्मत गर्दा १५ हजार रुपैयाँ भन्दा बढी खर्च हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप