आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

सय टेस्टको सँघारमा रहेका गिलक्रिस्टलाई सन्न्यास लिन बाध्य पार्ने एउटा सामान्य घटना !

बिहीबार, १० असोज २०८१, १४ : १६
बिहीबार, १० असोज २०८१

काठमाडौँ । आफ्नो समयका प्रभावशाली क्रिकेट खेलाडी हुन्, एडम गिलक्रिस्ट । उनी अस्ट्रेलियन टोलीका पूर्वविकेटकिपर ब्याट्सम्यान हुन् । कुनै समय यी चर्चित खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शनका कारण विश्वभर करोडौँ क्रिकेटप्रेमीको मन जितेका थिए ।

गिलक्रिस्टको खेलजीवनसँग जोडिएको एउटा रमाइलो प्रसङ्ग छ । सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि उनी पटक–पटक भन्थे, ‘म देशका लागि कम्तीमा एक सय टेस्ट खेल्छु ।’ तर, उनले आफ्नो त्यो प्रतिज्ञा पुरा गरेनन् ।

केवल ९६ टेस्ट खेलेर अचानक उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरे । एक सय टेस्टको सँघारमा पुगेर अप्रत्याशित रूपमा खेलजीवनबाट सन्न्यास लिनुको पछाडि एउटा रमाइलो कारण रहेको रहस्य उनले हालै खुलासा गरेका छन् ।

‘म देशका लागि कम्तीमा एक सय टेस्ट खेल्न चाहन्थेँ । तर, एउटा सामान्य घटनापछि मलाई लाग्यो अब खेलाडीको भूमिकाबाट बिदा लिनु नै उपयुक्त हुन्छ । मैले त्यसअघि सन्न्यासको बारेमा कुनै योजना बनाएको थिइन,’ सन्न्यास लिएको १६ वर्षपछि उनले हालै एक कार्यक्रममा भनेका छन् ।

 गिलक्रिस्टले आफ्नो जीवनको अन्तिम टेस्ट (९६औँ टेस्ट) भारतविरुद्ध खेलेका थिए । ‘एडिलेडमा भएको भारतसँगको टेस्टका क्रममा ब्रेट लीको बलमा मैले एउटा सजिलो क्याच छाडेको थिएँ । त्यो क्याच निकै सजिलो थियो । तर, म हेरेको हेरै भएँ । मनजिकै बल भुईँमा खस्यो । त्यसपछि मलाई लाग्यो, अब मसँग खेलाडीमा हुनु पर्ने जोस बाँकी रहेन, ’ उनले भनेका छन् ।

आखिर गिलक्रिस्टले कुन भारतीय खेलाडीको क्याच छाडेका थिए त ? हाल ५३औँ वर्ष प्रवेशको सँघारमा रहेका गिलक्रिस्ट त्यो क्षण सम्झन्छन्, ‘खासमा मैले भारतीय ब्याट्सम्यान भीभीएस लक्ष्मणको सजिलो क्याच छाडेको थिएँ । त्यही क्याच छाडेपछि मलाई सन्न्यास लिने समय आएछ भन्ने लाग्यो । त्यसलगत्तै मैले म्याथ्यू ह्याडेनलाई आफूले सन्न्यास घोषणा गर्ने योजना बनाएको कुरा बताएँ ।’

भारतविरुद्धको शृङ्खला सकिएलगत्तै अस्ट्रेलियन टोली टेस्ट खेल्न वेस्ट इन्डिज भ्रमणमा निस्कने कार्यक्रम थियो । गिलक्रिस्टले अप्रत्याशित रूपमा सन्न्यास नलिएको भए वेस्ट इन्डिजमा उनले थप तीन टेस्ट खेल्ने थिए । त्यसपछि उनको टेस्ट सङ्ख्या ९९ पुग्ने थियो ।

त्यसपछि अस्ट्रेलियन टोली टेस्ट खेल्न पुनः भारत भ्रमणमा जाने कार्यक्रम थियो र भारतविरुद्ध नै गिलक्रिस्टले आफ्नो एक सयौँ टेस्ट पनि खेल्ने थिए । ‘तर, त्यो क्याच छाडेपछि मलाई मैदानमा सक्रिय हुन मन लागेन । मेरो मनले नै मलाई सन्न्यास लिन बाध्य बनायो । वास्तवमै त्यो सजिलो क्याच हुनसक्थ्यो । मैले क्याच छाडेको घटना टेलिभिजनको ठुलो पर्दामा ३२ पटकसम्म रिप्ले गरेर देखाइएको थियो,’ विश्व क्रिकेटकै यी महान् विकेटकिपरले आफ्नो विगत सम्झँदै भनेका छन् ।

म्याथ्यू ह्याडेनले आवेशमा आएर सन्न्यासको निर्णय नलिन आफूलाई पटक–पटक सुझाव दिएको पनि उनले बताएका छन् । ‘अप्रत्याशित रूपमा सन्न्यासको निर्णय सुनाउँदा ह्याडेन छक्क परेका थिए । उनले सुरुमा अविश्वास गरेझैँ मलाई घुरेर हेरे । त्यसपछि उनले मलाई सम्झाउने सक्दो प्रयास पनि गरे । तर, म आफ्नो निर्णयबाट पछि हटिन,’ गिलक्रिस्टले भनेका छन् ।

ह्याडेनमात्र होइन, टोलीका अन्य साथीहरु पनि सन्न्यासको विरुद्धमा रहेको उनले बताएका छन् । ‘तिमीले छाडेको यो पहिलो क्याच होइन, न त अन्तिम क्याच नै हो । खेलमा यस्तो घटना भइरहन्छ । तिमी एक सय टेस्टको कोशेढुंगा नजिक छौँ । आवेशमा आएर कुनै पनि निर्णय नगर,’ त्यतिबेला ह्याडेनले आफूलाई भनेको कुरा पनि गिलक्रिस्टले स्मरण गरेका छन् ।

आफ्नो समयका यी उत्कृष्ट खेलाडीले अस्ट्रेलियाका लागि ९६ टेस्टमा कुल पाँच हजार पाँच सय ७० रन बनाएका छन् । यस क्रममा उनले १७ शतक र २६ अर्धसतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटको एकै पालीमा उनले अविजित दुई सय चार रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले तीन सय ७९ वटा क्याच लिएका छन् भने विकेटकिपरको भूमिकामा ३७ ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् ।

यसैगरी, उनले देशका लागि दुई सय ८७ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै कुल नौ हजार ६ सय १९ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले १६ शतक र ५५ वटा अर्धसतक पनि बनाएका छन् । एक दिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय ७२ रन हो । यो ढाँचाको क्रिकेटमा उनले चार सय १७ क्याच लिएका छन् भने ५५ वटा स्टम्पिङ गरेका छन् ।

यसका अतिरिक्त उनले अस्ट्रेलियाका लागि १३ वटा टी–२० अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् । यो ढाँचाको क्रिकेटमा उनले कुल दुई सय ७२ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ४८ रन हो । टी–२० अन्तर्राष्ट्रियमा उनले १७ वटा क्याच पनि लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप