शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक

बिहीबार, १० असोज २०८१, १४ : ११
बिहीबार, १० असोज २०८१

भर्जिनिया । अमेरिकामा बस्दै आएकी नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरण सुल्झिएको छैन । ममता बेपत्ता भएको झन्डै २ महिना हुन लागेको छ ।

हालै मात्र ममताको श्रीमान् नरेश भट्टले ममताको शवका टुक्राहरू आपसापका कयौँ स्थानमा फालेको सरकारी वकिलहरूले बताएका थिए । यसैबिच अधिकारीहरू ममताको सोधी खोजी गर्दै मनसास पार्कस्थित उनको घरमा गएको समयमा नरेशसँग भएको अन्तरक्रियाको भिडियो सार्वजनिक भएको छ ।

नरेशमाथि ममताको शव लुकाएको अभियोग लगाइएको छ । तर अहिलेसम्म प्रहरी र अभियोजनकर्ताहरूले ममताको शव फेला पार्न सकेका छैनन् । नरेशका वकिलले आगामी शुक्रवार अदालतमा हुने पेसीमा आफ्नो क्लाइन्टको नाममा जारी पक्राउ पुर्जी र उनलाई पक्राउ गर्ने क्रममा देखाइएको प्रमाणहरू खारेज गर्नुपर्ने तर्क पेस गर्नेवाला छन् । नरेशको नाममा पक्राउ पुर्जी जारी गराउन म्याजिष्ट्रेटलाई मनाउन गलत सूचना प्रयोग गरेको भनेर प्रतिवादीका वरिष्ठ सहायक वकिल शालेभ बेन–अभराहमले भनेका छन् ।

उनले अगस्ट २ मा मनसास पार्कका प्रहरी अधिकारीहरू भट्ट दम्पतीको घरमा आउँदाको क्यामरा भिडियो रेकर्डलाई पनि उद्धृत गरेका छन् । ममता काम गर्ने यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरले उनी काममा नआएको भन्दै चिन्ता गरेपछि अधिकारीहरू उनको घरमा पुगेका थिए ।

नरेशले श्रीमती हराएको भनेर उजुरी दिन नमानेपछि उनलाई समातिएको प्रतिवादी वकिलले अघिल्ला दुई सुनवाइमा तर्क दिएका थिए । १४ मिनेटको सो भिडियोमा अधिकारीहरूले ‘हामी ममता काफ्लेलाई खोजिरहेका छौँ’ भन्छन् ।

यसक्रममा नरेश आफ्ना नाबालिग छोरीलाई बोकिरहेका देखिन्छन् । ‘हो, मङ्गलवार, होइन बुधवार उनी गइन् । आफू न्यूयोर्क वा टेक्सस जान्छु भनेर भनेकी थिइन् । उनीसँग एउटा फोन पनि थियो । तर फोन फुटाइन् अनि गइन्’ नरेशले भनेको सुनिन्छ ।

त्यसपछि अधिकारीहरूले नरेशलाई उनी किन गइन् भनेर सोध्छन् । यसको जवाफमा नरेशले आफूहरू अलग्गिन थालेको अनि आफूले घर बेच्न खोजेकोले निरीक्षकहरू आउन लागेको बताउँछन् । ‘उनी यसरी हराएको यो पहिलो पटक होइन । उनी फर्केर आउँछिन्’ नरेश भन्छन् ।

निरीक्षणका क्रममा अधिकारीहरूले कयौँ पटक श्रीमती आएपछि आफूहरूलाई सम्पर्क गर्न भन्छन् । नरेशलाई समात्ने पक्राउ पुर्जी जारी गराइपाउन पेस  गरिएको अन्य प्रमाणमा अगस्ट ५ को फलो–अप टेक्स्ट म्यासेज थियो । यसमा उनले अधिकारीहरूलाई श्रीमती फर्किएर नआएको र उनीसँग सम्पर्क नभएको बताउँछन् ।

त्यसपछि अधिकारीले ‘ठिक छ सर, अपडेटका  लागि धन्यवाद, तपाईंले उनलाई खोज्न सम्भव भएसम्मका सबै उपायहरू प्रयोग गरिसक्नुभएको छ र उनी हराएकी हुन् भन्ने लाग्छ भने ९११ मा फोन गर्नुहोस्’ भन्ने जवाफ म्यासेजमा आउँछ ।

ममताले जुलाई २९ मा आफ्नी आमासँग भिडियोमा कुराकानी गरेकी थिइन् । त्यसको भोलिपल्ट बिहान नरेशले छोरीलाई बेबीसिटरको अपार्टमेन्टमा पुर्‍याइदिन्छन् । केही बेरपछि उनी प्लास्टिक र फोहोर राख्ने कयौँ झोलाका साथमा बेबीसिटरको अपार्टमेन्ट भवन बाहिर क्यामरामा देखिन्छन् । सोही साँझ उनले फोहोर राख्ने कालो ठुलो झोलाको प्याक किनेको बताइएको छ ।

जुलाई ३१ को बिहान १ः३० मा फल्स चर्चमा आफ्नो टेस्ला कारबाट नरेशले फोहोरको झोला झिकेर फोहोर फ्याँक्ने ठाउँमा फ्याकेको भिडियोले देखाएको छ । टेस्लाको रेकर्डले सो समय उनी त्यहाँ भएको देखाए पनि उनको फोन भने इन्याक्टिभ थियो । सायद उनले साथमा फोन लगेका थिएनन् कि ।

नरेशको घरमा बिहान प्रायः तीन देखि चार ग्यालन मात्रै पानी खपत हुने गरेको थियो । तर त्यही दिन बिहान नरेशको घरमा १५० ग्यालन भन्दा धेरै पानी खर्च भएको देखिएको सरकारी वकिलहरूको भनाइ छ । मंगलबारको पूर्वपक्षीय सुनुवाइमा अदालतमा न्यायाधीशको साथमा नरेश भट्ट र उनका वकिल मात्रै थिए ।

सुनवाइपछि नरेशका वकिलले भित्र के भयो अनि गोप्य सुनुवाइका लागि कसले अनुरोध गरेको हो भन्नेबारे केही पनि बताएनन् । सरकारी वकिल, प्रतिवादीका वकिल र नरेश शुक्रवार बिहान पुनः अदालतमा उपस्थित हुँदैछन् । यसमा नरेशका वकिलले उनीविरुद्ध जारी भएको पक्राउ पुर्जी रद्द गर्नुपर्ने तर्कहरू पेस गर्नेछन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप