सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
अर्थ

राष्ट्र बैंकको रिपोर्ट– मूल्यवृद्धि ह्वात्तै घट्यो

बिहीबार, १० असोज २०८१, १३ : ४६
बिहीबार, १० असोज २०८१

काठमाडौं । साउन महिनामा समग्र बजारमा मूल्यवृद्धि दर ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो एक महिनामा उपभोक्ता मुद्रास्फीति दर ४.१० प्रतिशतमा सीमित भएको हो । अघिल्लो वर्षको साउनसम्म यस्तो दर ७.५२ प्रतिशत रहेको थियो ।

यसरी मूल्यवृद्धिको स्तर घट्नुमा खाद्य र गैरखाद्य दुवै वस्तुको योगदान देखिएको छ । केन्द्रीय बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति दर क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशत रहेको थियो ।

समग्र मूल्यवृद्धि घटे पनि यो अवधिमा खाद्यान्न, गेडागुडी र तरकारीको मूल्य भने ह्वात्तै बढेको छ । खाद्यान्नको मूलय ९.१५ प्रतिशत, गेडागुडी १२.०९ प्रतिशत र तरकारीको मूल्य १९.०७ प्रतिशतले बढेको छ । मसलाजन्य वस्तुको मूल्य भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।

त्यस्तै, गैरखाद्य क्षेत्रतर्फ अल्कोहल बाहेक अरु सबै वस्तुको मूल्यवृद्धि संयमित देखिएको छ । सबैभन्दा धेरै हिस्सा भएका आवास, फर्निेचर एवं स्वास्थ्य र यातायात क्षेत्रको मूल्यस्तर संयमित रहँदा यो अवधिमा मूल्यवृद्धि चाप नदेखिएको देखिन्छ ।

राष्ट्र बैंकले देशभरका बजार केन्द्रबाट कुल ५ सय २५ वस्तु तथा सेवाको मूल्य सर्भेक्षणका आधारमा यो रिपोर्ट निकाल्ने गर्छ । यसलाई खाद्य र गैरखाद्य समेतमा गरी २२ वटा समूहमा विभाजन गरेर मूल्यस्तर मापन गर्ने गरेको छ । यसअघि २०७१–७२ को आधार वर्षका आधारमा मापन हुँदै आएको मूल्यस्तरलाई यो वर्षदेखि आव २०८०–८१ कायम गरिएको छ राष्ट्र बैंकले जनाएको छ । 

यद्यपि यसरी आधार वर्ष परिवर्तनको असर समायोजन गरिने भएकोले प्रस्तुत रिपोर्टमा आधार वर्ष परिवर्तनको कुनै असर नहुने नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप