शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

स्थानीय तह उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता (कार्यतालिकासहित)

बिहीबार, १० असोज २०८१, १३ : ४२
बिहीबार, १० असोज २०८१

काठमाडौँ।  मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। उक्त  कार्यक्रम अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए । 

उनका अनुसार सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। यसैगरी उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने सापकोटाले जानकारी दिए। सोही दिनको दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुका ५ बजेभित्र मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी नामावली प्रकाशन गरिने सापकोटाको भनाइ छ । 

यसैगरी मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । यसैगरी दिउँसो ३ बजेदेखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको उनले बताए।

 निर्वाचन कार्यक्रम अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान शुरु हुनुभन्दा अठचालिस घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजे पछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप