बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय
सडक सुरक्षा

‘सडकमा ज्यानकै जोखिम हुन्छ, ट्राफिक जनचेतना आवश्यक’

‘मोटरसाइकललाई सडकको साँढे नै भन्छु म : सीताराम हाछेथु
बिहीबार, १० असोज २०८१

ललितपुर महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथु, जो अवकाशप्राप्त प्रहरी निरीक्षक समेत हुन् । सेवामा रहँदा झन्डै तीन दशक ट्राफिक व्यवस्थापनमा बिताएका हाछेथुसँग हामीले दुर्घटना न्यूनीकरण सम्बन्धमा संवाद गरेका छौँ । 

दसैँका बेला यात्रुले निजी वा सार्वजनिक यातायातका साधनमा बढी ओहोरदोहोर गर्छन् । सुरक्षित यात्राका लागि क–कसले के के कुरामा ध्यान दिनुपर्र्छ भन्ने सम्बन्धमा प्रमुख हाछेथुले आफ्ना अनुभव हामीसँग साझा गरेका छन् । 

  • ‘ट्राफिक लिटरेसी’ (ट्राफिक चेतना) भनेको के हो ? हामीकहाँ यसको अवस्था कस्तो छ ? 

हामीकहाँ सडक दुर्घटनाको डर असाध्यै छ । म आफू पूर्वट्राफिक प्रहरी हुँ, तर बाटो काट्दा डराइडराई काट्नुपरेको छ । हामीले सडकलाई सुरक्षित मानिरहेका छैनौँ । त्यसैले सरकार र सम्बन्धित निकायले ट्राफिक जनचेतना फैलाउन अत्यन्तै आवश्यक छ । 

पैदल यात्रु र सवारी चालक सबैलाई ट्राफिक जनचेतना हुनुपर्छ । पैदलयात्रुलाई बाटो कसरी काट्ने, कुन ठाउँबाट काट्ने, बालबालिकालाई लिएर सडक छेउछाउ भएर हिँडेको मान्छे कुन साइडबाट कसरी हिँड्ने, बाटो काट्दा ट्राफिक बत्तीको प्रयोग कसरी गर्ने, सार्वजनिक सवारीमा कसरी चढ्ने, सडकमा सवारी चलाउँदा के कस्ता नियम पालना गर्ने भन्ने ज्ञान नै ट्राफिक जनचेतना हो । 

मैले ट्राफिक पुलिसमा २९ वर्ष काम गरेँ । त्यतिबेला मैले देख्थेँ— सवारी चाकलले ट्राफिक पुलिसका अगाडि मात्रै ट्राफिक नियमको पालना गर्थे । ट्राफिकले लाइसेन्स नखोसोस्, जरिवाना नगरोस् भन्ने मात्रै डर सवारी चालकमा देखिन्थ्यो, अवस्था अझै पनि त्यस्तै छ । 

सार्वजनिक सवारी चलाउने व्यक्तिले आफ्नो सुरक्षासँगै पैदलयात्रीको सुरक्षाको समेत जिम्मेवारी लिएर हिँडेको बोध गर्नुपर्छ । यस्तै जुनसकै सवारी चालकको दायित्व हुन्छ, आफू जोगिएर सडकमा गुडिरहेका वा हिँडिरहेका अरुलाई पनि जोगाउने ।

हामीकहाँ दुर्घटना भइसकेपछि, ट्राफिक नियम पालना नगरेपछि वा मापसे गरेर सवारी चलाएको पाइएपछि ट्राफिक शिक्षाको कक्षा लिनुपर्छ । वास्तवमा नागरिकलाई सरकारले ट्राफिक जनचेतनाको कक्षा सानैमा वा सवारीसाधन चलाउनुअघि नै दिनुपर्ने हो । 

लाइसेन्स लिनुअघि परीक्षा त लिइन्छ, जसमा २० वटा प्रश्नमा चिह्न लगाउनुपर्छ, १०–१५ वटा मिलाएपछि पास भइन्छ । आफ्नो र अरुको जिउज्यानको सवालसँग सम्बन्धित विषय हो, लाइसेन्स । सडकमा एउटाले मात्रै राम्रोसँग सवारी चलाएर हुँदैन, अर्कोले राम्रोसँग चलाएन भने पनि दुर्घटना हुन सक्छ । त्यसैले सवारीचालक अनुमतिपत्रलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ । 

दुर्घटनाका घटनामा सरकारको पनि विभिन्न खर्च हुन्छन् । त्यसैले राज्यले नागरिकलाई निःशुल्क कक्षा दिन हिच्किचाउनु हुँदैन । ट्राफिक जनचेतनाले दुर्घटना कम गर्न सघाउँछ । 

वास्तवमा ट्राफिक व्यवस्थामा स्थानीय सरकारले बढी ध्यान दिनुपर्छ, किनभने उसलाई आफ्ना सडकको अवस्था थाहा हुन्छ ।

सवारी–साधन हेरी लाइसेन्स लिनुअघि एक–दुई महिनाको कक्षा दिन समस्या हुँदैन । ट्राफिक चिह्नका बारेमा जान्न पनि केही सैद्धान्तिक पक्ष बुझ्नुपर्ने हुन्छ । कतिपय दुर्घटना ट्राफिक चिह्न नबुझेका कारण भएका छन् । 

हामीकहाँ हरेक सवारीचालकले छिटो पुग्न हतार गर्छन् । मन्दिरमा जाँदा वा अन्य कामका लागि कुनै निकायमा जाँदा मानिस ल दुई–तीन घन्टै लाइनमा बस्छन् तर सडकमा एकछिन पर्खन हतार हुन्छ । जब कि सडकमा ज्यानकै जोखिम हुन्छ । 

हामीले स्कुल–क्याम्पसमा ट्राफिक शिक्षा दिन सकिरहेका छैनौँ । कम्तीमा लाइसेन्स लिने बेला ट्राफिक शिक्षा दिइयो भने राम्रो सुरुवात हुन्थ्यो । 

हामीकहाँ स्थानीय सरकारले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणजस्ता विषयमा हातै हालेको छैन । हाम्रो मेयरसाब (चिरिबाबु महर्जन)ले भने ट्राफिक व्यवस्थापनमा धेरै नै ध्यान दिनुभएको छ । वान–वे गर्ने, ट्राफिक चिह्न राख्ने, सडक बत्ती राख्ने जस्ता कार्य हामीले गरेका छौँ । तर, अन्यत्र यस्तो देखिँदैन । वास्तवमा ट्राफिक व्यवस्थामा स्थानीय सरकारले बढी ध्यान दिनुपर्छ, किनभने उसलाई आफ्ना सडकको अवस्था थाहा हुन्छ । 

ट्राफिक प्रहरीलाई अधिकार नदिने तर ट्राफिक व्यवस्थापन गर भनेर मात्रै हुँदैन । उसले त गल्ती गर्नेलाई चिट काट्ने मात्रै हो । उसलाई रोड प्रमिसन दिने वा नदिने भन्ने र कुनै ट्राफिक चिह्न राख्ने अधिकार (बजेट पनि) छैन । 

  • दुर्घटनाको प्रकृति हेर्दा हामीकहाँ दुर्घटना के कारणले भइरहेका छन् ? सडककै खराबीका कारण, वा नियमहरू नजानेर वा नमानेर, वा सवारीसाधनको कमजोरीका कारण, अथवा हाम्रो कानुनी पक्षका कारण !

ट्राफिक नियम पालन नगरेकै कारण सडक दुर्घटना बढी हुने हुन् । बिस्तारै चलाउनु भनेको ठाउँमा तीव्र गतिमा चलाउने, ठाउँठाउँमा गति तोकिएको छ तर सोभन्दा बढी गतिमा सवारी चलाउने, गलत साइडबाट र ट्राफिक चिह्न मिचेर ओभर टेक गर्ने, बढी वजन बोकेर चलाउने, जथाभावी बाटो काट्ने आदि कारण दुर्घटना हुन्छन् । 

हामीसँग ट्राफिक नियम त छ तर त्यसलाई कार्यान्वयन गराउने पक्ष कमजोर छ । काठमाडौँ उपत्यकामा प्रशस्त ट्राफिक प्रहरी छन्, बाहिर त्यस्तो छैन । 

यात्रुलाई आफू जाने सडक र आफू चढ्ने सवारीको अवस्थासँगै सवारीचालकको अनुभवबारे पनि जानकारी दिइनुपर्छ । टिकटमै वा गाडीमा, अथवा कतै अनलाइनमा यसबारे खुलाउनुपर्छ ।

दुर्घटना हुनुका पछाडि बाटोको अवस्था, सवारीसाधनको अवस्था आदि पनि जिम्मेवार छन् । यसबाहेक पहिरो वा ढुंगा खसेर, रुख ढलेर आदि कारण हुने दुर्घटनालाई हामी विपत् भन्छौँ । 

मोटरसाइकलका कारण समेत सडक दुर्घटना भइरहेका छन् । मोटरसाइकलका हकमा छुट्टै कानुन ल्याउनुपर्ने मैले देखेको छु । मोटरसाइकललाई सडकको साँढे नै भन्छु म । 

हामीकहाँ भाष्य नै यस्तो छ— मोटरसाइकल ठोकिन गएर दुर्घटना भएको भनिँदैन, ट्रक वा ठुलो सवारीसाधनले हानेको भनिन्छ । बाटोमा हेर्नुस्, मोटरसाइकल सिधा चलाएको देखिँदैन, दायाँ र बायाँ त्यसमाथि तीव्र गतिमा चलाएको देखिन्छ । 

भक्तपुरदेखि कोटेश्वरसम्म नौ, साढे नौ किलोमिटर छ, यहाँ ६० को स्पिडमा ९ मिनेट लाग्छ भने ४० को स्पिडमा ११ मिनेट लाग्छ । दुई मिनेट ढिला गर्दा के फरक पर्छ ? तैपनि बढी स्पिडमा चलाएका हुन्छन् । त्यसैले हामीकहाँ मोटरसाइकल पनि दुर्घटनाको कारण बनेको छ । ५० स्पिड हाँक्ने ठाउँमा ८० हाँकेर दुर्घटना हुन्छ, मापसे गरेर चलाउँदा दुर्घटना हुन्छ भने त्यसलाई म जानजान भएको दुर्घटना भन्छु । 

कति ठाउँमा बत्ती नभएका कारण पनि दुर्घटना भइरहेका छन् । मोटरसाइकलको हेडलाइट टर्च लाइट जस्तो छ, अँध्यारोमा परसम्मको अवस्था देखिन्न । कसले वा केले बाटो काट्दै छ, कताबाट के आउँदै छ, आदि थाहा भयो भने दुर्घटनामा कमी हुन्छ । बाटोमा झलमल उज्यालो भयो भने रातमा दुर्घटनाको सम्भावना कम हुन्छ । अँध्यारोमा राँगो, गाईवस्तु आदिका कारण पनि दुर्घटनाको सम्भावना हुन्छ । हिलो वा खाल्डो देखेर पनि दुर्घटनाको सम्भावना हुन्छ । त्यसैले हामीले ललितपुरका सडकमा ठाउँठाउँमा बत्ती राखेका छौँ । त्यसैले सरकारले सडक बत्ती राख्न विशेष ध्यान दिनुपर्छ ।

  • अहिले हामी दशैँको मुखमा छौँ । यतिबेला मानिसको ओहोरदोहोर बढी हुन्छ र दुर्घटनाका जोखिम पनि रहन्छ । यस्तो बेला सतर्कता कसरी अपनाउने ? 

दसैँ आउन थाल्यो, माानिसलाई अब टिकटकै चिन्ता हुन्छ । अघिल्लो वर्ष काठमाडौँ उपत्यकाबाट २० लाख मानिस बाहिरिएको तथ्यांक थियो । 

गाडीमा कति सामान राख्ने भनेर पनि तोकिनुपर्छ । दसैँमा मानिसहरूले यात्रा गर्दा धेरै सामान साथमा लिएका हुुन्छन् । तीसजना अट्ने गाडीमा मानिसबाहेक कति तौल गाडीले बोक्न सक्छ भन्ने महत्त्वपूर्ण हुन्छ ।

चाडबाड मान्न धेरैलाई घर जानैपर्‍यो । भीडभाड हुने हुँदा जस्ता पनि सवारीसाधन चलेका हुन्छन् । यस्तो बेला यात्रुलाई आफू जाने सडक र आफू चढ्ने सवारीको अवस्थासँगै सवारीचालकको अनुभवबारे पनि जानकारी दिइनुपर्छ । टिकटमै वा गाडीमा, अथवा कतै अनलाइनमा यसबारे खुलाउनुपर्छ । 

सडकको अवस्था हेरी अनुभवी सवारीचालक राखिनुपर्छ । खासखास सडकमा सवारी चलाउने अनुमति दिनका लागि त्यस रुटमा सवारी चलाएको वा सहचालक बनेको अनुभवलाई आधार मानिनुपर्छ । यस्ता सबै जानकारी यात्रुलाई दिइयो भने उनीहरूले सवारीसाधन र चालकको अवस्था हेरेर टिकट लिन्छन् । 

अर्कोतिर गाडीमा कति सामान राख्ने भनेर पनि तोकिनुपर्छ । दसैँमा मानिसहरूले यात्रा गर्दा धेरै सामान साथमा लिएका हुुन्छन् । तीसजना अट्ने गाडीमा मानिसबाहेक कति तौल गाडीले बोक्न सक्छ भन्ने महत्त्वपूर्ण हुन्छ । हामीले धेरै मान्छे नचढाऊ भन्छौँ तर अरु सामान कति छ भन्ने हेर्दैनौँ । सामान त सिटमुनिदेखि छतसम्म राखिएको हुन्छ । तोकिएको सिटभन्दा बढी यात्रु हुँदा मात्रै होइन, सामान बढी हुँदा पनि दुर्घटना हुन सक्छ । गाडीमा तौल बढी हुँदा उकालो चढ्न नसक्ने र ब्रेक नलाग्ने समस्या हुन सक्छ । 

त्यसैले दुर्घटनाबाट जोगिनका लागि सवारी साधनमै वा टिकटमै लेखिएको हुनुपर्छ— यो गाडीमा यतिजना यात्रु र यति किलोसम्म सामान राख्न सकिन्छ ।

यातायात व्यवसायीले दसैँमा पैसा कमाउनेतिर मात्रै ध्यान दिन हुँदैन, यात्रुलाई गन्तव्यमा सुरक्षित पुर्‍याउन ख्याल गर्नुपर्छ । उनीहरूले आफ्ना सवारीसाधनको अवस्था हेरेर प्रयोगमा ल्याउनुपर्छ भने चालकको पनि उमेर र अवस्था हेर्नुपर्छ । 

दसैँका बेला एउटा गाडीलाई एउटै सवारीचालकले दिनरात नसुती वा आराम नगरी ओहोरदोहोर गराएको हुन्छ । यसले पनि दुर्घटनाको सम्भावना हुन्छ । 

दसैँका बेला गाडी बढी चाहिन्छ । त्यसो हुँदा गाडी रिजर्भ गरेर जाने पनि हुन्छन् । कति सवारी चालकले नयाँ–नयाँ ठाउँमा गाडी लिएर जान्छन् । बाटोको बारेमा राम्रो ज्ञान नभएको चालक हुँदा दुर्घटनाको सम्भावना रहन्छ । त्यसैले जुन सडक भएर जाने हो, त्यहाँ सवारी चलाइरहेको चालक हुनुपर्छ । उसलाई अनुभव हुन्छ । उसले खाल्डो, उकालो, घुम्ती, साँगुरो आदि ख्याल गरेर चलाउँछ । अस्ति भारतीय गाडी दुर्घटना हुनुको कारण यो पनि हो । ती चालकलाई यहाँको बाटोको अवस्था जानकारी थिएन । त्यतिबेला घुम्तीमा दुर्घटना भएको थियो । स्पिडमा आएको गाडीलाई एकैचोटि घुमाउन सहज हुन्न । 

दसैँका बेला कतिपयले कार र मोटरसाइकल लिएर सहरबाट गाउँ जान्छन् । उनीहरू एक, डेढ वर्ष गाउँ गएका हुँदैनन् र उनीहरूलाई बाटोको अवस्थाको ज्ञान हुँदैन । त्यसैले यस्ता सवारी चालकले बाटोका बारेमा पहिले नै बुझ्नुपर्छ र ध्यान दिएर चलाउनुपर्छ । 

मोटरसाइकलका कारण समेत सडक दुर्घटना भइरहेका छन् । मोटरसाइकलका हकमा छुट्टै कानुन ल्याउनुपर्ने मैले देखेको छु । मोटरसाइकललाई सडकको साँढे नै भन्छु म । 

दसैँका बेला सम्बन्धित निकायले सडकको अवस्था हेरेर रुट परमिट दिनुपर्छ । बस जान सक्ने, मिनिबस वा साना सवारी साधन मात्रै जान सक्ने आदि हेरिनुपर्छ । यस्ता कुरा यात्रुले टिकट किन्दा नै थाहा पाउनुपर्छ । हामीकहाँ त बाटो बन्द भएको कुरा उहीँ पुगेपछि मात्रै थाहा हुन्छ । 

पछिल्लो समय स्थानीय जनताकै जोडबलमा गाउँगाउँमा डोजर हालेर बाटो बनाइएको छ । कति ठाउँमा इन्जिनियरिङ पनि हेरिएको हुँदैन । कति ठाउँमा गाडी घुमाउने मोड नै पुगेको हुँदैन । त्यसैले यस्ता सडकको अवस्था सडक विभागले चेकजाँच गरेर मात्रै अनुमति दिइनुपर्छ । 

दसैँका बेला एउटा मोटरसाइकलमा तीन–चारजना चढेर टिका लगाउन हिँडेका हुन्छन् । त्यसमाथि पोको–पन्तुरो पनि हुन्छ । मोटरसाइकलमा कति जना चढ्ने, कत्रो झोलासम्म बोक्ने आदिमा ध्यान दिनुपर्छ ।

कम्तीमा दसैँका बेला ठाउँठाउँमा गाडी बनाउने ठाउँको व्यवस्था गरिनुपर्छ । यस्तै सम्भावित दुर्घटनालाई ख्याल गरेर ठाउँठाउँमा एम्बुलेन्सको पनि व्यवस्था गरिनुपर्छ । दसैँका बेला अस्पतालका कर्र्मचारी पनि बिदामा हुन्छन् । 

हामीकहाँ ट्राफिक चेतनाबारे प्र्रचार–प्रसारको कमी छ । हाम्रा सञ्चारमाध्यमबाट गाडी खसेको समाचार त आउँछ तर ट्राफिक चेतनासम्बन्धी सन्देशमूलक सामग्री आउँदैनन् । 

राज्यले नै बाटोको अवस्था स्पष्ट गरेर सोही अनुसार प्रचारप्रसार गर्नुपर्छ । खराब बाटोको बारेमा पनि जानकारी दिइरहनुपर्छ । हामी त सूचनाबिनै यात्रा गरिरहेका छौँ । सूचना दिन दायित्व सरकारको हो । त्यसैले कम्तीमा दसैँताका समाचारकै रूपमा सडकको अवस्थाबारे जानकारी दिइनुपर्छ । 

सानो खाल्डो छ भने समाचार भन्नुभन्दा पुर्नतिर लाग्नुपर्ने हुन्छ । तर हामीकहाँ एउटा खाल्डो पुर्नै समस्या हुन्छ । पाँच–सातवटा खाल्डो भएपछि मात्रै टेन्डर हालेर पुर्ने काम गरिन्छ । दुर्घटना भएर मानिसको ज्यान जानेजस्तो विषयमा राज्यले ध्यान दिनुपर्छ र तुरुन्त मर्मत गर्ने संयन्त्र बनाउनुपर्छ, यसका लागि विभिन्न निकायले समन्वयन गर्न सक्छन् । 

हामीकहाँ दुर्घटनाको जिम्मेवारी कसैले लिँदैन । सवारी चालक, सवारी धनी, ट्राफिक पुलिस, सडकविभाग, सडक यात्रु वा अन्य कोहीका कारण दुर्घटना भएको हुन्छ तर दुर्घटनाको जिम्मेवारी लिने कोही हुँदैन । न यातायात मन्त्रीले जिम्मेवार लिन्छन्, न सडक विभागका हाकिमले, न ट्राफिक पुलिस । चालकलाई नियम अनुसार कारबाही होला तर जिम्मेवार पक्षले जिम्मेवारी बोध गरेको पाइँदैन । 

०५४ सालको कुरा हो, त्यतिबेला म कालीमाटीमा ट्राफिक इन्चार्ज थिएँ । बल्खुमा एउटा मोटरसाइकल दुर्घटनामा पर्‍यो । चालक सामान्य घाइते भएका रहेछन्, उनको पाइन्ट च्यातिएको रहेछ । ती चालक आएर मलाई भने— मलाई क्षतिपूर्ति चाहियो । कसैले बाटोमा मोबिल पोखेको रहेछ, सोही कारण म दुर्घटनामा परेँ । मोबिल पोख्नेबाट मलाई क्षतिपूर्ति भराउनुपर्‍यो ।

उसको कुरा ठिकै हो तर त्यस्तो खालको क्षतिपूर्ति कसैले मागेको थिएन । तैपनि म अवस्था बुझ्न गएँ । मोबिल पोखिएको पछ्याउँदै जाँदा सीताराम दुधको फ्याक्ट्रीसम्म पुग्यो । त्यहाँ गएर चालकसँग कुरा गरेर क्षतिपूर्र्ति भराएँ । त्यतिबेला ती चालकले तीन हजार ८०० रुपैयाँ क्षतिपूर्ति पाए । त्यसैले कसको कारण दुर्घटना भयो भन्नेतर्फ पनि जानुपर्ने हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया