शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

सहुलियत पसल सञ्चालनमा आएपछि घट्यो चिनी र खाने तेलको बजार मूल्य

बिहीबार, १० असोज २०८१, १५ : ००
बिहीबार, १० असोज २०८१

काठमाडौँ । पछिल्लो समय दैनिक उपभोग्य सामग्रीहरूको बजार मूल्य घटेको छ । नीतिगत रूपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मूल्यका पसलहरू सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  

अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपैयाँ र खाने तेलमा प्रतिलिटर १० रुपैयाँ घटेको पाइएको छ । यसका साथै नुन, दाल, पिठो, मैदाको पनि मूल्य घटेको छ । 

सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड द्वारा सञ्चालित सुपथ मूल्यका पसलहरूबाट सस्तोमा गुणस्तरीय उपभोग्य बस्तुहरू उपलब्ध भइरहेका छन् । चाडपर्वको समयमा उपभोग्य बस्तुहरूको मूल्य घटेपछि उपभोक्तालाई सहज भएको छ । खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरूमा उपभोग्य सामग्री उपलब्ध रहेको छ । 

अहिले मन्त्री भण्डारीको निर्देशनमा तीव्र रूपमा बजार अनुगमन भइरहेको छ । ७ असोजमा ३५ रुपैयाँ पर्ने बोतलको पानी १सय रुपियाँमा बिक्री गरेको पाइएपछि काठमाडौँ स्थित जिम्बु रेष्टुरेण्टलाई कारबाही गरी ३ लाख रुपैयाँ जरिवाना असुल गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एम।आर।पी। भन्दा बढी मूल्यमा सामान बिक्री भएको पाइएमा तुरुन्त खबर गर्न सूचना जारी गरेको छ । 

मन्त्री भण्डारीले १०० दिनका लागि तयार गरेको कार्ययोजनामा ४हजार ३०० बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पुर्व सूचना बाहिरिने प्रवृत्ति हटाउने लगायतका कुराहरू उल्लेख गरेका छन् । 

नियमित रूपमा भइरहेको बजार अनुगमनका कारण म्याद गुज्रेका सामानहरू विक्री वितरणमा कमी आएको छ । मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटेलमा गुणस्तरहीन खानेकुरा विक्री हुने गरेकाले अनुगमन बढाउन निर्देशन दिएका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता मारमा पर्ने कुरामा सरकार गम्भीर ढङ्गले लाग्ने बताएका थिए । उनले व्यापारिक क्षेत्रको बदमासी र अनियमितता रोक्नुपर्ने बताएका थिए । सोही अनुरूप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने स्थिति हटाउन निगितग सुधार गर्दै आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप