शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

पश्चिमी देशलाई पुटिनले दिए परमाणु हमलाको चेतावनी

बिहीबार, १० असोज २०८१, १९ : २७
बिहीबार, १० असोज २०८१

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक पटक फेरि पश्चिमी देशहरूलाई आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् । बीबीसी रिपोर्टका अनुसार पुटिनले बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

 यसमा उनले सरकारले आणविक हतियारको प्रयोगसँग सम्बन्धित नियम र सर्त परिवर्तन गर्न लागेको बताएका छन् । देशको आणविक नियममा धेरै नयाँ कुरा थपिने पुटिनले बताएका छन् । यसमा रुस विरुद्ध मिसाइल वा ड्रोन हमलाहरू विरुद्ध परमाणु हतियारको प्रयोग पनि समावेश छ । यदि रुसी क्षेत्रमा ठुलो मात्रामा मिसाइल वा ड्रोन आक्रमण भयो भने यसले देशको सार्वभौमसत्तालाई गम्भीर रूपमा खतरामा पार्न सक्छ । त्यस्तोमा रुसले पनि आणविक हतियारहरू प्रयोग गर्न सक्ने भनिएको छ ।

आणविक हतियार नभएको मुलुकले रुसमाथि परमाणु हतियार भएको देशको सहयोगमा आक्रमण गरेमा त्यसलाई दुवै देशले आक्रमण गरेको मानिने पनि रुसी राष्ट्रपतिले बताए । रुसको आणविक हतियार देश र नागरिकको सुरक्षाको सबैभन्दा ठुलो ग्यारेन्टी भएको पनि उनले बताए । ‘आणविक नीतिमा परिवर्तन समयको आवश्यकता हो,’ युक्रेनले रुसमा लामो दूरीमा आक्रमण गर्ने क्षेप्यास्त्र प्रयोग गर्न पश्चिमी देशहरूसँग अनुमति मागेको बेला पुटिनको यो भनाइ आएको हो । आणविक हतियारको प्रयोगका लागि परिस्थिति परिवर्तन गर्न आवश्यक भएको भन्दै पुटिनले विश्व तीव्र गतिमा परिवर्तन भइरहेको बताए ।

बेलायतले युक्रेनलाई स्ट्रम स्याडो मिसाइल दिएको छ भने अमेरिकाले आर्मी ट्याक्टिकल मिसाइल सिष्टम दिएको छ । यी दुबै लामो दूरीका घातक क्षेप्यास्त्र हुन् । यसले करिब ३०० किलोमिटरसम्मको लक्ष्यमा सही निशाना लगाउन सक्छ । युक्रेनले यी क्षेप्यास्त्रहरू रुसमा नभई आफ्नो सीमामा मात्र प्रयोग गर्न सक्छ । रुसभित्र लामो दूरीका हतियारहरू प्रयोग गर्न सकियोस् भन्दै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यी प्रतिबन्धहरू हटाउने अनुरोध गरिरहेका छन् । जेलेन्स्की यतिबेला अमेरिका भ्रमणमा छन् । बिहीबार उनी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्दैछन् । यस क्रममा उनले रुसविरुद्ध लामो दूरीको मिसाइलहरू प्रयोग गर्न अनुमति माग्ने अनुमान गरिएको छ ।

पुटिनले पश्चिमी देशहरूलाई आणविक युद्धको धम्की दिएको यो पहिलो पटक भने होइन । पश्चिमी देशहरूले युक्रेनलाई क्रुज मिसाइल प्रयोग गर्न अनुमति दिएमा यसको अर्थ नाटो रुसविरुद्धको युद्धमा छिरेको रुपमा अर्थ्याइने सेप्टेम्बर १२ मा पनि पुटिनले भनेका थिए । यस्तो भयो भने रुसले अवश्य जवाफ दिने उनको भनाई थियो । अमेरिका र पश्चिमी देशको सहयोगमा युक्रेन साढे दुई वर्षदेखि रुसविरुद्ध युद्ध लडिरहेको छ । युक्रेनले अगस्टमा रुसमा प्रवेश गरी धेरै क्षेत्र आफ्नो कब्जामा लिएको थियो । रुसले आफ्नो क्षेत्र मुक्त गर्न खोजिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप