हजार रुपैयाँ लिएर काठमाडौँ छिरेका कस्तुप पन्त सङ्गीतबाटै बने करोडपति
काठमाडौँ । लैजाउ मलाई मायाको तालसम्मै
सँगै यात्रा अनन्त कालसम्मै
मगमग वासना, आऊ न गर दिलमा शासन
माथिका शब्द लोकप्रिय सर्जक, सङ्गीतकार तथा गायक कस्तुप पन्तको नयाँ लोकदोहोरी गीत ‘मगमग वासना’को हो । पन्तकै शब्द, सङ्गीत रहेको गीतमा गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर छ ।
केही दिन अगाडि सार्वजनिक यो गीतको चर्चा चुलिँदो छ । दर्शकस्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गीतले लोकदोहोरीमा देखिएको मौलिकताको खडेरी टारेको सङ्गीतकर्मी बताउँछन् ।
सर्जक कस्तुप पन्त भने सबै वर्गका मानिसको रुचि ध्यानमा राखेर आफूले गीत निर्माण गरेको बताउँछन् । पछिल्लो २/३ वर्ष यता सेलाएका पन्त अचेल ‘ब्याक टु ब्याक’ गीतसङ्गीत दिइरहेका छन् ।
केही अघि तिजमा गायिका सुनिता बुढाक्षेत्रीको स्वरमा सबैलाई नचाउने ‘बिजुली चमक्क’ आइटम गीत ल्याएका पन्तले त्यसपछि सुगमसङ्गीतमा गायक प्रमाद खरेलको स्वरमा ‘धेरै माया’ ल्याए । त्यस लगत्तै उनले ‘मगमग वासना’ ल्याएका छन् ।
आमा बिरामी, निधन लगायतका कारणले केही समय चाहेर पनि सङ्गीतमा समय दिन नसकेको पन्तले बताए । ‘अब फेरि लयमा फर्किने क्रममा छु’, उनले भने, ‘एक लोकदोहोरी र एक आधुनिक गीत छिट्टै आउँछ ।’
उनले लोकदोहोरी राजु परियार र सुनिता बुढाको स्वरमा ल्याउँदै छन् । आधुनिक गीत भने हिमाल सागरको स्वरमा रेकर्ड गराइसकेको उनले बताए ।
एक समय ‘फुलको थुङ्गामा’, ‘मधु वनैमा’, ‘अंगुर अमिलो, धोका दिनेलाई के भनौँ र खै’, ‘बिर्सियौ कि कुन्नि’, ‘गंगाजीको पानी’, ‘देउरालीमा धजा’ जस्ता एकसे एक हिट गीत दिएका पन्त पछिल्ला समय भने लोकगायन भन्दा सर्जकका रूपमा बढी क्रियाशील छन् । उनको शब्द सङ्गीतमा सबै प्रकारका गरेर सात सय हाराहारी गीत सार्वजनिक भइसकेका छन् ।
२०५८ सालमा पन्त सङ्गीतमा होमिएका हुन् । त्यसअगाडि उनी नेपाल प्रहरीमा प्राविधिकतर्फ जागिरे थिए । घर व्यवहार चलाउन मुस्किल परेपछि उनले जागिर छाडे ।
कस्तुप पछिल्लो समय गायक कम र सर्जक बढी भएका छन् । ‘आफूले गाउँदा नसुहाउने गीत पनि सर्जकको रूपमा बनाउन सकिँदोरहेछ,’ उनले सर्जकतिर बढी केन्द्रित हुनको कारण खोले ।
‘म गायक बन्न गाउँबाट आएको थिएँ । पहिले त्यो भएँ, अहिले गायक, सर्जक र सङ्गीतकार छु’, उनले भने ।
- अनि बने गायक
२०५८ सालमा पन्त सङ्गीतमा होमिएका हुन् । त्यसअगाडि उनी नेपाल प्रहरीमा प्राविधिकतर्फ जागिरे थिए । घर व्यवहार चलाउन मुस्किल परेपछि उनले जागिर छाडे ।
प्रहरीको जागिर छोडेर दुबई पुलिस फोर्समा जान उनले तयारी गरे । भिसा आइसकेको अवस्थामा उड्नु अगाडि मेडिकल गर्न जाँदा उनलाई जन्डिस देखियो ।
त्यो समय अनामनगरको म्युजिक नेपाल नजिक उनकी एक फुपू बस्थिन् । उनी त्यहीँ शरण लिन पुगे । त्यही क्रममा चिनेजानेका एक भाइले उनलाई फुर्सदमा गीत गाउन सुझाए । फुपूका छोराले पनि सानोमा एकदमै गाउने गरेको स्मरण गराउँदै उनलाई हौसला थपे । अनि उनले गीत बनाए ‘बागलुङ कालिमाई’ ।
‘राम्रो हुनका लागि नराम्रो पनि हुनेरहेछ’, पन्तले भने, ‘त्यो घटनाबाट मेरो जीवनले नयाँ मोड लियो ।’ सानैदेखि लोकगीत सुन्दै र गाउँदै हुर्किएका उनी स्कुल, गाउँघरका प्रतियोगिता समेत जित्थे ।
‘बागलुङ कालिमाई’ गीत उनले ‘सिला क्यासेट सेन्टर’का इन्द्र जीसीसँगको सहकार्यमा ल्याए । राम्रो मानिसको साथ फलदायी हुन्छ भने झैँ इन्द्र जीसीको सल्लाहमा राजु परियार, शर्मिला गुरुङसहित टिममा ‘बागलुङ कालिमाई’ अडियो क्यासेटमा बन्यो ।
‘मधु बनैमा’को चर्चापछि इन्द्र जीसीले आफूलाई विदेश नजान सुझाव दिएको पन्त बताउँछन् । ‘त्यसपछि विदेश गइनँ,’ उनले भने ।
गीत रेकर्डपछि एल्बम बजार जाँदैगर्दा उनले सङ्गीत सिक्नुपर्दाे रहेछ भन्ने बुझेँ । पुतली सडकमा रहेको भीम चापागाईको ‘डलफिन सङ्गीत पाठशाला’मा उनले सङ्गीत सिक्न सुरु गरे । सङ्गीत सिक्दै गर्दा पहिलो गीत ‘बागलुङ कालिमाई’ले चर्चा दिलायो । त्यसपछि उनलाई सङ्गीतको चस्का पस्यो ।
पन्तले त्यसलगत्तै ‘फूलको थुङ्गामा’ गीत बनाए । गीतमा राजु परियार, लक्ष्मी न्यौपाने, विष्णु खत्रीको साथमा आफ्नै स्वर राखे । यो गीतपछि उनले जीवनमा कहिल्यै पछाडि फर्किएर हेर्नु परेको छैन ।
‘फूलको थुङ्गा’बाट पन्तले सङ्गीतको बजार, गीतका लागि टिमको महत्त्व लगायत धेरैको ज्ञान हासिल गरे । तुरुन्तै बनाए अर्काे गीत– ‘मधु वनैमा’ । यो गीतले उनलाई गायकको रूपमा स्थापित गर्यो ।
‘मधु बनैमा’को चर्चापछि इन्द्र जीसीले आफूलाई विदेश नजान सुझाव दिएको पन्त बताउँछन् । ‘त्यसपछि विदेश गइनँ,’ उनले भने ।
‘मधु वनैमा’पछि उनले विभिन्न म्युजिक कम्पनीसँग मिलेर ‘अंगुर अमिलो’, ‘पानको चुनाले’ लगायत थुप्रै हिट गीत आफ्नो स्वर, शब्द र सङ्गीतमा ल्याए । जसले उनलाई गायनमा नाम, दाम र चर्चा दिइरह्यो । रेडियो नेपालमा स्वर परीक्षा पाससमेत गरेका उनको स्वरमा एक सयभन्दा बढी लोकदोहोरी गीत सार्वजनिक छन् ।
अहिलेका पुस्ता उनलाई सर्जकको रूपमा छिन्छन्, तर अघिल्लो पुस्ता भने उनलाई लोकदोहोरी गायककै रूपमा हेर्छन् ।
अहिले, उनलाई लोकदोहारी गाउने रहर जागेको छ रे । ‘सर्जकको रूपमा जति नै काम गरे पनि मौरीको भन्दा रानोको महत्त्व धेरै हुँदोरहेछ,’ उनले भने । सर्जकलाई मौरी र प्रस्तोता (गायक गायिका) रानोको भएको उनको बुझाइ हो ।
- सुगम सङ्गीतको किस्सा यस्तो
यतिबेला कस्तुप पन्त लोकगायक भन्दा पनि सर्जक र सङ्गीतकारको रूपमा चिनिन्छन् । सुगम सङ्गीतमा उनको अलग्गै उचाइ छ । सुगम सङ्गीतमा ‘मेरो मनको ढुकढुकीमा’, ‘माया गर्छु तिमीलाई’, ‘मेरो मनको मान्छे तिमी’, ‘बिर्सिएको त छैन मैले तिमी जहाँ भए पनि’, ‘तिमी बस्ने यो मुटुमा’, ‘धोका दिने तिमी’, ‘तिमी हाँसे पुग्छ मलाई’, झुटो रहेछ यो संसार’ लगायतका गीत उनले ल्याएका छन् ।
श्यामकै फिल्मका लागि ‘मेरो मनको ढुकढुकीमा मायालुको बास भयो’ बोलको गीतमार्फत पन्त सुगम सङ्गीतमा होमिए ।
पछिल्लो समय सुगम सङ्गीतमा उनले ‘धेरै माया’ बोलको गीत ल्याएका छन् । प्रमोद खरेलको स्वर रहेको यो गीत अघिल्लो साता सार्वजनिक भएको हो ।
पन्तको लोकदोहोरीबाट सुगमसङ्गीत यात्रा पनि रोचक छ । २०६५ मा उनी लोकदोहोरीमै रमाइरहेका थिए । मिडियाकर्मी श्याम अर्यालसँग उठबस बढी थियो । श्याम ‘मै छोरी सुन्दरी’ फिल्म निर्माणको तयारी गर्दै थिए ।
‘लोकदोहोरीमा धेरै चल्नुभयो । अब सुगमसङ्गीत पनि गर्नुपर्यो । म फिल्म बनाउँदैछु । त्यसका लागि गीत गर्नुपर्यो’, श्यामले भनेको शब्द पन्तले दोहोर्याए । श्यामकै फिल्मका लागि ‘मेरो मनको ढुकढुकीमा मायालुको बास भयो’ बोलको गीतमार्फत पन्त सुगम सङ्गीतमा होमिए । फिल्म बन्न ढिलो भयो । तर पनि सीआरबीटीमा गीत निकै चर्चित भएको पन्तले बताए ।
सुगमसङ्गीतको व्यवसाय र चर्चा राम्रो भएको बुझेपछि उनले ‘सारथि’ एल्बम ल्याए । जसमा स्वरूपराज आचार्य, दीपक लिम्बु लगायतको स्वर थियो । त्यो समय कुनै पनि एल्बम सफल भएमा ‘पार्ट २’ निकाल्ने चलन थियो । एल्बम चल्दै गयो ‘सारथि’ एक, दुई गर्दै ५ भागसम्म आयो ।
‘लोकदोहोरीमा रमाइरहेको मलाई श्यामजीले नै सुगममा ल्याउनुभयो’, उनले भने, ‘त्यसपछि सुगममा जति काम गरेँ, सबै हिट भयो ।’ सुगममा उनका धेरै गीत प्रमोद खरेल, अञ्जु पन्त र संजीवनीको स्वरमा छ ।
सुगमसङ्गीत आफू हिट भए पनि लोकदोहोरी र सुगमलाई उनले एकसाथ अगाडि बढाए । सङ्गीतका सफल मानिस हुन् उनी । आफ्नो सफलताको पहिलो सूचक आमदर्शक श्रोताको रोजाइ र भावना मान्छन् उनी ।
‘सर्जकले कुनै सिर्जना ल्याउनु पहिले श्रोताको रुचि, भावना र बजार बुझ्न जरुरी छ’, पन्तले भने, ‘गीतमा मौलिकता पनि भयो भने निराश हुनुपर्दैन ।’
जब डिजिटल बजार भित्रियो । उनले अडियो क्यासेटमा लगानी गरेको १७/१८ लाख रुपैयाँ फस्यो । त्यसले उनलाई ठुलै धक्का दियो ।
- अनि जन्मियो ‘सारथि म्युजिक’
कस्तुप पन्तको अहिले गीतसङ्गीतमा आफ्नै कम्पनी छ ‘सारथि म्युजिक । २०६४ मा स्थापित यसबाट थुप्रै लोकदोहोरी र सुगम सङ्गीतका गीत आएका छन् । जतिबेला उनका सिर्जनाबाट थुप्रै कम्पनीले लाखौँ कमाए । त्यो समय आफ्नो सिर्जना अब आफ्नै कम्पनीबाट व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो । सङ्गीतमा जति कमाई हुन्छ, उनले यसैमा लगाए ।
हिट लोकदोहोरी गीत ‘बिर्स्यौ कि कुन्नि’ उनले आफ्नो कम्पनीबाट निकालेको पहिलो गीत थियो । गीत बम्पर हिट भयो । गीत चलेपछि व्यवसाय सजिलो रहेछ भन्ने उनले बुझे । त्यसपछि ‘गंगाजीको पानी’, ‘मायाले मन छुन्छ कि’ लगायत धेरै गीत आफ्नै कम्पनीबाट ल्याए । त्यो समय अडियो क्यासेटको जमाना थियो ।
जब डिजिटल बजार भित्रियो । उनले अडियो क्यासेटमा लगानी गरेको १७/१८ लाख रुपैयाँ फस्यो । त्यसले उनलाई ठुलै धक्का दियो । यो समय उनी अब विदेश जानुपर्यो भनेर फेरि सोच्न बाध्य भए ।
‘त्यो बेला म झण्डै विदेश गएको थिएँ’, पन्तले भने, ‘म नयाँ सिर्जनामा तल्लीन भएँ । बजारमा डिजिटल भित्रिएको बुझ्न सकिनँ ।’
डिजिटल बुझ्न ढिलो भए पनि सङ्गीतमा पैसा छ भन्ने उनले बुझिसकेका थिए । त्यसैले डिजिटल प्लेटफर्ममै काम गर्न थाले । यो उनलाई धेरै सजिलो लाग्यो ।
‘पहिले डिलर हुँदै पैसा आउँथ्यो । समय लाग्थ्यो । डिजिटलमा आफ्नै एकाउन्टमा पैसा आयो’, उनले खुसी सुनाए, ‘फेरि मेरो राम्रो दिन फर्कियो ।’
डिजिटलमा अहिले उनी अडियो प्लेटफर्म, युट्युब, सीआरबीटी, पीआरबीटी लगायतमा धेरै प्लेटर्फममा काम गरिरहेका छन् । केही भएन भने पनि महिनामा ४/५ लाख सजिलै आम्दानी छ उनको ।
गीतसङ्गीतको डिजिटल कारोबारमा कस्तुप नेपालमा अग्रणी सर्जक भएको डिजिटल कन्टेन्ट म्यानेजर राजेन्द्र अर्याल बताउँछन् । कतिलाई युट्युबमा भिडियो अपलोड गर्ने बाहेक अन्य थाहा छैन । पन्तले भने अडियो प्लेटफर्मदेखि टिकटक, युट्युब लगायत धेरै प्लेटर्फमबाट रेभिन्यु लिँदै आएको अर्यालको भनाइ छ ।
- सङ्गीतमा पैसैपैसा
सङ्गीतमा पाइलैपिच्छे पैसा रहेको पन्त बताउँछन् । म को हुँ भनेर चिन्ने र सङ्गीतलाई साधना बनाउने हो भने कसैले कहिल्यै रित्तै घर फर्किनु नपर्ने उनको तर्क छ ।
सङ्गीतमा आफूले धेरै गर्न नसके पनि थोरै गर्दा धेरै पाएको बताउँछन् उनी । सङ्गीतबाटै उनले काठमाडौँमा घर, गाडी, जग्गा–जमिन जोड्दै छोराछोरीलाई अमेरिकामा राखेर पढाइरहेका छन् ।
‘गाउँबाट हजार लिएर काठमाडौँ छिरेको हामीजस्ता धेरै अहिले करोडपति भयौँ’, पन्तले खुसी साटे, ‘यो सबै सङ्गीतकै देन त हो नि ।’
कस्तुप पन्तलाई सङ्गीत क्षेत्रको एक सफल व्यक्तित्वको रूपमा आफूले हेरेको कृष्ण फिल्मसका प्रमुख बाबुराजा केसी बताउँछन् ।
‘मैले २०५९ देखि उनलाई चिनेको हो । सुरुसुरुमा चिन्दा सानोसानो मानिस प्रचुर सम्भावना भएको जस्तो लाग्थ्यो । अहिलेसम्म आउँदा त्यो प्रमाणित पनि भयो ।’
कस्तुप पन्त असल र राम्रो सर्जकको रूपमा आफूले लिएको वरिष्ठ लोकगायक, सर्जक नारायण रायमाझी बताउँछन् । ‘म पहिलेदेखि नै चिन्छु । उनी क्रिएटिभ, राम्रो मानिस हुन्’, रायमाझीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना
-
यी हुन् सबैभन्दा बढी आयात भएका १० वस्तु
-
झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, काङ्ग्रेस पछिपछि