शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
सुरक्षा

प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरक्षा चुनौती बढ्दो

सडक बत्ती र सीसी क्यामेरा छैनन् पर्याप्त
बिहीबार, १० असोज २०८१, ०८ : ४४
बिहीबार, १० असोज २०८१

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सीसी क्यामेरा र सडक बत्ती छैन । सडक बत्ती प्रयोग गरे बापतको महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको ६ महिना बितिसक्यो ।

प्राधिकरणको सुर्खेत शाखाका सूचना अधिकारी बेनी नेपालीका अनुसार सडक बत्ती बालेबापत वीरेन्द्रनगर नगरपालिकाले ५ करोड ८३ लाख ६६ हजार रकम बुझाउनुपर्ने छ । तर अहिलेसम्म नगरपालिकाले प्राधिकरणलाई सो रकम बुझाएको छैन ।

वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेल अहिलेसम्म नगरपालिकाले सडक बत्तीको महसुल तिर्नु नपरेको बताउँछन् । यसअघि त्यस्तो महसुल केन्द्रबाटै सरकारले राजस्व मिलान गर्दै आएको तर अहिले रकम नतिरेपछि लाइन काट्नुका साथै बत्तीसमेत हटाइदिएको उनले बताए ।

राजधानीभित्र करिब एक हजारभन्दा बढी सडक बत्ती थिए । अहिले केही मुख्य चोकमा हाईमास्क लाइट छ भने केही ठाउँमा सोलार लाइट छ । नगरपालिकाको तथ्याङ्क अनुसार २४ वटा हाईमास्क र करिब दुई सयको हाराहारीमा सोलार लाइट छन् । सोलार लाइट विशेषगरी भित्री बजार तथा गल्लीमा राखिएको छ ।

यद्यपि बर्खायाममा पानी पर्ने र चार्ज हुन नपाउने हुँदा धेरैजसो सोलार लाइट बल्ने गरेका छैनन् । सडक बत्ती नहुँदा प्रदेश राजधानी रातको समयमा अन्धकारमय हुन्छ । सडक बत्ती नहुँदा रातको समयमा हुने आपराधिक गतिविधिको निगरानी, नियन्त्रण र न्यूनीकरणमा समस्या भइरहेको प्रहरी बताउँछ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्मा सडक बत्ती नहुँदा कुनै घटना घटे पनि अनुसन्धान गर्न र खोजतलास गर्न निकै समस्या हुने गरेको बताउँछन् ।

केही दिनअघि रातको समयमा मोटरसाइकलको ठक्करबाट एक व्यक्ति घाइते भए । दुर्घटनास्थलबाट मोटरसाइकलसहित चालक फरार भए भने उपचारकै क्रममा बिरामीको मृत्यु भयो । दुर्घटनामा संलग्न मोटरसाइकल खोज्न प्रहरीलाई निकै सकस परेको थियो ।

सडक बत्ती नहुँदा सीसी क्यामेराले समेत सवारी साधनको नम्बर ठम्याउन कठिन हुने प्रहरी बताउँछ । ‘सडक बत्ती नहुँदा प्रहरीलाई रातको समयमा निकै समस्या भइरहेको छ,’ प्रहरी नायब निरीक्षक विश्वकर्माले भने, ‘उज्यालो नहुँदा गल्ली भएको ठाउँमा चोरी हुनसक्ने सम्भावना बढ्नुको साथै झै–झगडा, लुटपाट भएको खण्डमा मान्छेको पहिचान गर्न गाह्रो हुन्छ ।’

बत्ती नभएकाले सीसी क्यामेराको ठाउँ–ठाउँको कनेक्सनमा समेत समस्या भएको उनले बताए । राजधानीमा पर्याप्त मात्रामा सीसी क्यामेरा पनि छैनन् । भएका पनि बिग्रिएको अवस्थामा छन् ।

प्रहरीका अनुसार वीरेन्द्रनगरमा जम्मा ९२ वटा सीसी क्यामेरा छन् । त्यसमा अधिकांश बिग्रेका छन् । प्रहरी प्रवक्ता विश्वकर्मा भन्छन्, ‘यो पर्याप्त होइन तर भएका पनि कतिपय नचल्ने अवस्थामा छन् ।’

मर्मतका लागि नगरपालिकासँग खासै बजेट छैन । अर्कोतर्फ विद्युत अभावमा अहिले क्यामेरा बन्द भएका छन् । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका सूचना अधिकारी नरेन्द्र शाहीले भने, ‘अहिले सबै काम प्रविधिबाटै गर्नुपर्छ । बत्ती नहुँदा सडक दुर्घटनाको समेत जोखिम बढ्छ । सडक बत्तीका लागि विभिन्न निकायसँग समन्वय गर्दा पनि काम अघि बढ्न सकेको छैन ।’

उनका अनुसार सडक बत्ती भएको खण्डमा धेरै ठाउँमा ट्राफिक पनि खटाइरहनु पर्दैन । तर अहिले बत्ती नहुँदा समस्या भएको छ । सुर्खेतमा जम्मा २३ जना ट्राफिकको दरबन्दी छ । यद्यपि ८५ जना कार्यरत छन् ।

surkhet

चाडपर्वको समयमा सडक बत्ती नहुने हो भने झन् समस्या हुने शाहीको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाको जिन्सी शाखाका प्रमुख खड्गबहादुर केसी सडक बत्ती जोड्नका लागि पहिला महसुल तिर्नुपर्ने बताउँछन् ।

‘महसुल नतिरे जोड्न नमिल्ले अवस्था छ, त्यो कार्यपालिकाले निर्णय गर्नुपर्ने भएकाले सडक बत्ती जोड्न समस्या छ,’ उनले भने ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले सडक बत्ती जोड्नका लागि टेण्डरको प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताए । ‘विशेषगरी मुख्य सडक धुलियाबिटदेखि बाङ्गेसिमलसम्मको सडकमा सडक बत्ती जोडिने छ,’ उनले भने, ‘यो मुख्य सडक भएकाले यसलाई प्राथमिकतामा राखेर काम गर्ने सोचिरहेका छौँ ।’

त्यसका लागि करिब ६० लाख बजेट छुट्याइएको जैसीले बताए । ‘अहिले पिपिरामा केही मात्रामा सडक बत्ती छ । मुख्य सडक उज्यालो होस् भन्ने उद्देश्यसहित काम अघि बढिरहेको छ,’ उनले भने, ‘मर्मतका लागि पनि पहल भइरहेको छ ।’

यदि लक्ष्य अनुसार काम अघि बढेको खण्डमा दसैँभन्दा पहिला नै सडक बत्ती जोड्ने तयारी नगरपालिकाको छ । तर बक्यौताको विषयमा निर्णय नहुँदा समस्या छ । यदि दसैँसम्म पनि सडक बत्ती नजोड्ने हो भने चाडपर्वको समयमा बजारमा सुरक्षा चुनौती थप बढ्ने प्रहरीको निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप