शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
अनेरास्ववियु(क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन

अखिल क्रान्तिकारीको नेतृत्व छनोट : प्राथमिकतामा सहमति, विकल्पमा निर्वाचन

बिहीबार, १० असोज २०८१, ०६ : २०
बिहीबार, १० असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु(क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । आज दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुने सम्मेलन उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको केन्द्रीय कार्यालय प्रमुख तथा उपाध्यक्ष केशव रावलले जानकारी दिए ।

रावलका अनुसार असोज ११ गते बन्दसत्रमा पेस भएको विधान तथा प्रतिवेदन संशोधनसहित पारित भएपछि नयाँ नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

नेतृत्वको छनोट सकेसम्म सर्वसम्म नभए खुला निर्वाचन प्रतिस्पर्धाबाट नेतृत्व छनोट हुने सङ्गठनका इन्चार्ज हिमाल शर्माले जानकारी दिए । क्रान्तिकारीले पहिलो पटक पदाधिकारीसहित सबै सदस्यहरू खुला निर्वाचन प्रक्रियाबाट छनोट गर्ने विधि अपनाएको शर्माले बताए ।

‘हामी सकेसम्म सहमतिका आधारमा नेतृत्व छनोट गर्छौँ । सहमति भएन भने खुला निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट हुनेछ’, शर्माले भने ।

सकेसम्म सहमतिमै नेतृत्व छनोटका लागि पार्टी नेतृत्वले पहल थालेका छन् । त्यसका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत लगायतका नेताहरू दौडधुपमा छन् । शीर्ष नेताहरूले विद्यार्थी नेताहरूसँग एक्लाएक्लै र सामूहिक छलफल गरेका छन् ।

वर्तमान अध्यक्ष पञ्चा सिंह आफ्नो कार्यकाल पूरा गरी बिदा हुँदै छिन् । भावी नेतृत्वलाई लिएर अहिलेसम्म उपाध्यक्ष र महासचिव गरी १९ जनाले दाबी गरेका छन् । जसमा रावलसहित पवन कार्की, मदन भुल, नेरश रेग्मी, दीपेश पुनले अध्यक्षको आकाङ्क्षी छन् ।

यस्तै इन्द्र कुमार भुसाल, जी.पि मैनाली, तुकमान महरा, मिलन एम सी, लक्ष्मी प्रसाद जोशी, सूर्यनारायण शाह, प्रबिना अधिकारी, गजेन्द्र प्रसाद देव, कल्पना मिया, मदन भट्टराई, क्षितिज सापकोटा, नारायण खनाल, अम्मरराज शाही, डा. अच्युत भट्टले पनि दाबी गरेका छन् ।

३३ पदाधिकारीसहित २४३ केन्द्रीय समितिका लागि निर्वाचन हुनेछ । भेगीय सन्तुलन र समावेशी मिलाएर एक अध्यक्षसहित उपाध्यक्ष ९, महासचिव एक, उपमहासचिव ९, सचिव १२ र कोषाध्यक्ष एक जना पदाधिकारी चयन गरी असोज १४ गते सम्मेलन सम्पन्न हुने रावलले बताए ।  सम्मेलनमा देशभरिबाट दुई हजार  ३२३ जना प्रतिनिधि सहभागी हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप