बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्व फार्मेसी दिवस

फार्मेसी क्षेत्रका समस्या समाधान गर्न दलका नेताहरूको प्रतिबद्धता

बिहीबार, १० असोज २०८१, ०० : ०२
बिहीबार, १० असोज २०८१

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरूले फार्मेसी क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

विश्व फार्मेसी दिवसका अवसरमा बुधबार नेपाल फार्मेसी संघले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर खड्काले फार्मेसीका समस्या समितिमार्फत सामाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले चिकित्सकको सिफारिसविना फार्मेसिष्टले औषधी बेच्न नहुने भन्दै औषधि पसलमा अनुगमनको आवश्यकता रहेको बताए । 'औषधि पसलमा फार्मेसी नपढेकाहरूले पनि औषधि बेच्ने गरेको जनगुनासो छ । औषधि जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले फार्मेसी पढेकाले मात्र औषधि बेच्न पाउने व्यवस्थालाई व्यवसायीले पालना गर्न आवश्यक छ,' सभापति खड्काले भने ।

उनले स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्यसम्बन्धी ऐन, कानुन समयसापेक्ष संशोधन, सुधार र परिमार्जनका लागि आफूले पटकपटक आग्रह गरेको उल्लेख गरे । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले चिकित्सक र फार्मेसिष्टबीच समन्वय हुन आवश्यक रहेको बताए । आफ्नो पार्टी फार्मेसीमा देखिएका समस्या समाधानका लागि व्यवसायीसँग छलफल गरेर अगाडि बढ्न तयार रहेको भन्दै उनले औषधि सुरक्षित, गुणस्तरीय र प्रभावकारी हुनुपर्ने कुरामा सम्झौता नगर्न आग्रह गरे । 

नेकपा (माओवादी केन्द्र) का नेता देवन्द्र पौडेलले ज्ञान नभएका मानिसलाई औषधिजस्तो संवेदनशील वस्तु बेच्न दिन नहुनेमा जोड दिए ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले फार्मेसीसम्बन्धी समस्या समाधान गर्न आफूले संसद्मा कुरा उठाउने बताए । 

नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन नेपाली औषधिको खपत बढाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले खाद्यपुरक र पोषणपुरकलाई वर्गीकरण गरेर बेच्नुपर्ने बताए । कार्यक्रममा संघका संस्थापक अध्यक्ष अमृत खनालले स्थानीय तहमा सञ्चालित अस्पतालमा फार्मेसी राख्नुपर्ने बताए । संघका अध्यक्ष किरण ढकालले उहाँले सरकारले अहिले दरवन्दी सिर्जना नगरेको भन्दै तत्काल दरवन्दी सिर्जना गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप