बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ

बुधबार, ०९ असोज २०८१, २१ : ५१
बुधबार, ०९ असोज २०८१

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) पूर्ण रूपमा सञ्चालन गर्ने बताएका छन् ।

निर्माण एवं व्यवस्थापनको चरणमा रहेको उक्त प्रेसको आज अनुगमन निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आवश्यक बजेट व्यवस्थापनगरी पूर्ण रुपमा सञ्चालनमा ल्याउनेगरी योजना बनाउने बताए ।

“मन्त्रालय अब सेक्युरिटी प्रेस पूर्ण रुपमा चलाउनेगरी अघि बढ्नेछ, प्रेस सञ्चालन गर्न देखिएका बिघ्नबाधा, तगारा जेजे छन् हटाउँदै अघि बढ्नेछौँ”, उनले भने । प्रेस उपकरण खरिदमा देखिएको विविध समस्याबारे अख्तियारबाट अनुसन्धान भइरहेको विषयलाई चाँडै टुङ्ग्याइ अघि बढ्ने उनले बताए ।

मन्त्री गुरुङले निर्माणाधीन गोदाम भवनलगायत अन्य निर्माणाधीन संरचना पूरा गर्न अर्थ मन्त्रालयसँग समन्वयगरी चाँडै बजेट व्यवस्थापनमा लाग्ने बताए । उनले भने, “आफ्नै मुलुकमा सुरु गरिएको सेक्युरिटी प्रेस निर्माणलाई निरन्तरता दिनुपर्छ, यसका लागि अर्थ मन्त्रालयसँगको समन्वयमा चालु आर्थिक वर्षमा केही र आउँदो आवमा नीति कार्यक्रम बनाएरै बजेट विनियोजनगरी ‘फूलफेज’मा सञ्चालनमा ल्याइनेछ ।” उनले प्रेसमा रहेका मेसिनको संरक्षणगरी सञ्चालनार्थ जनशक्ति व्यवस्थापन गर्ने बताए ।

मन्त्री गुरुङले उक्त प्रेस पूर्ण रुपमा सञ्चालनमा ल्याएपछि पहिलो चरणमा हुलाक टिकट, लेबल–स्टिकर, लालपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्र छाप्नेगरी दोस्रो चरणमा राहदानी र बैंक नोट छाप्नेगरी योजना बनाइने बताए । “क्रमशः नेपालीका लागि आवश्यक छपाइसँग जोडिएका सबै छपाई यही गर्नुपर्छ”, उनले भने ।

सूचना प्रविधि पार्क (आइटी पार्क) का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई केही वर्षअघि केन्द्रमा परिणत गरिएको थियो । उक्त प्रेसको भौतिक निर्माणलगायत अन्य व्यवस्थापनको काम बजेट अभावमा एक वर्षदेखि रोकिएको थियो ।

केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगे पनि रङरोगन र झ्याल–ढोका हाल्ने कामसमेत रोकिएको हो । केन्द्रमा आवश्यक गोदामघरलगायत पूर्वाधार निर्माण, उपकरण खरिद तथा भएका भवनको मर्मतसम्भारको काम हुँदै आएको थियो । पचास मिटर लम्बाइ र २५ मिटर चौडाइ क्षेत्रफलमा निर्माण भएको उक्त भवनमा सुरक्षित छपाइका कागज, मसी तथा अन्य कच्चापदार्थ लामो समयसम्म भण्डारण गर्न सकिने जनाइएको छ ।

गत आर्थिक वर्षमा बजेट विनियोजन नभएका कारण थप भौतिक निर्माणलगायत अन्य व्यवस्थापनको काम रोकिएको हो । केन्द्रमा यसअघि इराकबाट ल्याइएका दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट अन्तःशुल्क स्टिकरको नमुना छपाइ गरिएको थियो ।

हाल जडित दुई मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिनेछ । अघिल्लो आर्थिक वर्षको रु ७३ करोड बजेटबाट उक्त मेसिन तथा केही सूचना–प्रविधिका सामग्री खरिद गरिएको हो । केन्द्रमा एक थान ‘डाई कटिङ मेसिन’ रहेको छ । अन्य तीन थान मेसिन जडान गर्न बाँकी रहेको जनाइएको छ । 

केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि पाँच वर्षअघि प्रारम्भिक बजेट विनियोजन भई आइटी पार्कमा प्रेसको काम सुरु गरिएको हो । प्रेसको काम थाल्न आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको सुरुआत गरिएको हो । केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरिएको थियो । 

पार्कभित्रै खानेपानीका लागि एक/एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङकी निर्माण, छापाखानाका लागि आवश्यकपर्ने चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण सम्पन्न भइसकेका छन् ।

प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट बार्षिक रुपमा बाहिरिने रु १० अर्ब जोगिन अपेक्षा गरिएको छ । केन्द्रका लागि दुई सय प्राविधिकसहित करिब एक हजार जनशक्तिको आवश्यकतापर्ने जनाइएको छ । 

विसं २०५७ मा निर्माण सुरु गरिएको उक्त आइटी पार्क निर्माणकार्य सम्पन्न भई २०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । कूल दुई सय ५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र दुई वटा ठूला व्यापारिकरप्रशासनिक भवन तथा चार सुविधा सम्पन्न आवासीय भवनलगायत नौ भवन थिए् ।

तत्कालीन समयमा दक्षिण एशियामै नमुना र ठूलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो । हाल एक कर्मचारीले प्रेस भवन रेखदेख गरेर बसेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप