बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पर्यटन मन्त्रीहरुको भेला

सबै प्रदेशलाई जहाज चलाउन पर्यटनमन्त्री पाण्डेको प्रस्ताव

बुधबार, ०९ असोज २०८१, २१ : ०२
बुधबार, ०९ असोज २०८१

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सातवटै प्रदेशलाई आफ्नै नाममा जहाज चलाउन प्रस्ताव गरेका छन् । बुधबार पोखरामा भएको एक कार्यक्रममा उनले नेपाल एयरलाइन्सले जहाज किन्ने र प्रदेशले आफ्नो नाम राखेर चलाउन प्रस्ताव गरेका हुन् ।

बागमती बाहेकका प्रदेशमा पर्यटन हेर्ने मन्त्री र संघका पर्यटनमन्त्रीसहित पर्यटनका विज्ञहरूको छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले प्रदेशकै नाममा जहाज किनेर चलाउनुपर्ने बताएका हुन् । बैठकबाट सबै प्रदेशमा आफ्नै नामको जहाज चलाउने विषयमा समझदारी भएको पाण्डेको भनाई छ ।

‘नेपाल एयरलाइन्सले ट्वीनअटर जहाज प्रदेशको नाममा खरिद गर्ने र प्रदेशले नै चलाउने गरी बैठकमा प्रस्ताव पेस भएको थियो । बैठकका सहभागी सबैले यसमा सहमति जनाउनुभएको छ,’ उनले भने, ‘प्लेन चाहिँ नेपाल एयरलाइन्सकै हुन्छ । ती जहाज प्रदेश सरकारको नाममा राख्ने योजना छ । यो खालको प्रारम्भिक सोचाइमा हामी छौँ ।’

उनका अनुसार खरिद गरिएका जहाजले प्रदेश राजधानीबाट आन्तरिक उडान भर्नेछन् । ‘सुर्खेतबाट कर्णालीकै एयरपोर्टहरुमा त्यो जहाज चल्छ । गण्डकीमा पनि त्यही हो, पोखराबाट प्रदेशभित्रका विमानस्थलमा चल्छन्,’ उनले थपे, ‘जहाज चलाउने यो एउटा मोडल हुन सक्छ । किनकि हामीले एयरलाइन्स पनि बढाउनुपर्ने छ । आन्तरिक उडान थप्नुपर्ने छ ।’

नयाँ खरिद हुने विमानमा संघ, प्रदेश, स्थानीय तह र जनसमुदायबाट पनि सेयर लगानी हुने उनको भनाई छ । पोखरा पर्यटनको राजधानी घोषणा भएको भन्दै उनले यसको नीतिगत जटिलता, पूर्वतयारी, कानुनी प्रबन्ध लगायत विषयमा अग्रसरता लिने प्रतिबद्धता जनाए ।

बैठकले पदमार्गको विकास र विस्तारको मापदण्ड अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । गठित समितिले अध्ययन प्रतिवेदन तयारी गरी आगामी पर्यटन विषयगत समितिको बैठकमा प्रस्तुत गर्ने मन्त्री पाण्डेले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा हुने उक्त समितिमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, टानका प्रतिनिधि, सातवटै प्रदेशका पर्यटन सचिव, गाउँपालिका महासंघ र नगरपालिका संघका प्रतिनिधि रहने छन् ।

पर्यटन विषयगत समितिको बैठक प्रत्येक तीन महिनामा छुट्टाछुट्टै प्रदेशमा बस्ने निर्णय पनि बैठकले गरेको छ । आगामी बैठक लुम्बिनीमा गर्ने बैठकले प्रस्ताव पारित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप