शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

सुजेन्द्र स्मृति भेट्रान बुद्धिचाल प्रतियोगिता सुरु

बुधबार, ०९ असोज २०८१, १९ : २८
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा प्रथम एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति राष्ट्रिय भेट्रान चेस च्याम्पियनसिप बुधबार सुरु भएको छ । प्रतियोगिताको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे ।

कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष एवं राखेपका पूर्वउपाध्यक्ष शिव कोइराला ज्वाला, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका पूर्वसदस्यसचिव युवराज लामा र समाजसेवी शावित्री अधिकारीको उपस्थिति थियो ।

उद्घाटन समारोहमा अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष एवं नेपाल उसु संघका महासचिव नवराज ढुंगानाका साथमा नेपाल बुद्धिचाल संघका सचिव मोनालिसा खुम्बूको पनि उपस्थिति रहेको थियो ।

प्रतियोगिताको मुख्य निर्णायकमा अन्तराष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु छन् । स्विस लिग प्रणालीमा दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ४२ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा पूर्वराष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, नबिन तण्डुकार र पून्यमान कमाचार्य पनि सहभागी छन् ।

एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ नेपाल बुद्धिचाल संघका पूर्वउपाध्यक्ष हुन् । उनकै प्रयासमा नेपालमा पहिलो पटक फिडे रेटिङ प्रतियोगिता आयोजना भएको थियो । नेपालको पायनियर मखन चेस क्लबको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठ ओलम्पियाड खेलाडी समेत हुन् ।

नेपाली बुद्धिचाललाई नयाँ स्वरूप र सरचनामा परिणाम गर्ने सोच भएका सुजेन्द्रकै पहलमा मखनमा चेस एकेडेमी पनि सञ्चालन भएको थियो । सोही एकडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्वमहिला राष्ट्रिय च्याम्पियनसमेत हुन् ।

नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्रसहितको मखन चेस क्लब पहिलो भएको थियो भने उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी घोषित भएका थिए । सुजेन्द्रको गत वर्ष निधन भएको हो । प्रतियोगिताको पहिलो दिन तीन चरणको समाप्तिमा विलमलाल श्रेष्ठ, पुन्यमान कमाचार्य र पूर्णराज खड्काले शतप्रतिसत अंक जोडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप