बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपाल बीआरआईमा सहभागी भएकोले अब कुनै नाकाबन्दीसँग डराउनु पर्दैन : परराष्ट्रविद् श्रेष्ठ

बुधबार, ०९ असोज २०८१, १७ : ५३
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले चिनियाँ परियोजना बीआरआई कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । काठमाडौँमा बुधबार आयोजित “बीआरआई : अवसर र चुनौती” विषयक अन्तरक्रियामा परराष्ट्रविद् श्रेष्ठले नेपालको पारवहनमा महत्त्वपूर्ण परिवर्तन ल्याउने बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजनाको महत्त्वबारे चर्चा गरे । 

परराष्ट्रविद् श्रेष्ठले नेपालले बीआरआईमा सहभागिता जनाएपछि अब नाकाबन्दी जस्ता घटनाहरूबाट डराउन नपर्ने र पारवहनका लागि वैकल्पिक मार्गहरू खुला भएका कारण यसलाई कार्यान्वयनमा लैजानुपर्ने धारणा राखे । उनले बीआरआईलाई चिनियाँ ऋणको पासोका रूपमा गलत ढंगले प्रस्तुत गरिएको भन्दै नेपालले चीनसँग भन्दा धेरै ऋण अन्य देशहरूबाट लिएको तर्क गरे । 

परराष्ट्रविद् श्रेष्ठले अन्य देशहरूसँग जस्तै चीनसँग पनि सहुलियतपूर्ण ऋण लिनु कुनै अस्वाभाविक नहुने बताए । उनले एसियाली विकास बैंकसँग जस्तै चीनसँग सहुलियतपूर्ण ऋण लिन सकिने कुरा उल्लेख गरे । बीआरआईबारे नकारात्मक दृष्टिकोण राख्नेहरूलाई ‘एमसीसी मानसिकता’ बोकेका मानिसको संज्ञा दिँदै उनले यसप्रकारको मानसिकताबाट मुक्त हुनुपर्नेमा जोड दिए ।

श्रेष्ठले बीआरआई चीनको मात्र परियोजना नभई विश्वका १५० देशहरूमा फैलिएको सामूहिक प्रयासमा आधारित साझा कार्यक्रम भएको बताउँदै नेपालले यसलाई अघि बढाउन आवश्यक रहेको बताए । उनले रसुवागढीबाट आउने प्रस्तावित रेललाई चिनियाँ परियोजना मात्रै नभई दक्षिण एसियाको प्रवेशद्वारका रूपमा चिनियाँ राष्ट्रपति सी जिनपिङको दृष्टिकोण रहेको उल्लेख गरे ।  

श्रेष्ठले बीआरआई परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न नेपाल सरकार गम्भीरताका साथ लाग्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप