बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रेशम र रञ्जिताबिच सहमति, पार्टीमा दुवै जना अध्यक्ष

बुधबार, ०९ असोज २०८१, १७ : १९
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक नेता रेशमलाल चौधरी बिचको विवाद समाधान भएको छ । दुवै जनाको बिचमा सहमति भएपछि संयुक्त हस्ताक्षरबाट असोज १८ र १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

अब सो पार्टीमा दुवै जना अध्यक्ष रहने सहमति भएको छ । पार्टीको प्रथम महाधिवशेनबाट रेशमलाल चौधरी अध्यक्षमा चयन भएका थिए । तर निर्वाचन आयोगमा परेको उजुरीको कारण उनको अध्यक्ष पद विवादमा परेको थियो । त्यसपछि रञ्जिता श्रेष्ठले आफू नै अध्यक्ष रहेको घोषणा गरेकी थिइन् ।

अध्यक्ष पदलाई लिएर दुवै जनाबिच विवाद उत्पन्न भएको थियो । रेशम र रञ्जिता श्रीमान–श्रीमती हुन् । दुवै पक्षबिच विवाद यति उग्र भयो कि पार्टी कार्यालयमा दुवै पक्षका बिच हात हालाहाल समेत भएको थियो ।

त्यस यता पार्टी दुई गुटमा विभाजित भएको थियो । रेशमलाल चौधरी महाधिवेशनबाट आफू अध्यक्ष भएको दाबी गरिरहेका थिए भने रञ्जिता श्रेष्ठले आफू नै सो पार्टीको अध्यक्ष रहेको दाबी गरिरहेकी थिइन् ।

दुवै समूहले प्रदेशदेखि केन्द्रसम्म आ–आफ्नो शक्ति प्रदर्शन गरे । एउटा पक्षले सरकारमा जाने निर्णय गर्दा अर्को पक्षले फिर्ता बोलाउने निर्णय गरेको हुन्थ्यो । दुवैले एक अर्का पक्षका नेता तथा कार्यकर्तालाई कारबाहीसम्म गरेका थिए ।

लामो विवादपछि दुवै जनाबिच सहमति भएको पार्टीका एक जना पदाधिकारीले बताए ।

महाधिवेशनबाट बनेको अध्यक्षबारे निर्वाचन आयोगमा मुद्दा विचाराधीन रहेका कारण पार्टीमा अध्यक्षको हैसियताले हस्ताक्षर रञ्जिता श्रेष्ठको चल्छ भने बाँकी काम रेशम चौधरीले गर्ने सहमति भएको बताइएको छ ।

संरक्षक चौधरीले भने, ‘सहमति भयो । अब हामी मिलेर पार्टी बनाएर अगाडि बढ्ने कुरा भएको छ ।’

आगामी केन्द्रीय समितिको बैठकबाट पार्टीको संगठन निर्माण तथा सुदृढीकरणको विषयमा विस्तृत छलफल हुने उनले बताए ।

अब पार्टीमा कुनै प्रकारको विवाद नरहेको चौधरीको भनाइ छ । उनले भने, ‘केही कुरामा असहमति भएर विवादजस्तो देखिएको थियो तर त्यो विवाद थिएन । अब सबै कुरा मिलिसकेको छ । अब संगठित र एकीकृत रुपमा पार्टी अगाडि बढ्छ ।’

पार्टीभित्र उत्पन्न आन्तरिक विवादका कारण केही समय स्थगित भएको बैठक फेरि बस्ने बताउँदै उनले आपसी मतभेदलाई मत्थर पारी एकीकृत भएको बताए । प्रथम महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगद्वारा वैधानिकता प्राप्त अध्यक्षको सहमतिमा बस्ने बैठकमा महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्य, पदाधिकारी उपस्थित रहने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप