बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

आईसीसी अलराउन्डर वरीयतामा सन्दीपको छलाङ

बुधबार, ०९ असोज २०८१, १७ : ०५
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा व्यापक सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा जारी पछिल्लो वरियतामा प्रभावशाली लेग–स्पिनर सन्दीप एकैपटक ४१औँ स्थानमा उक्लिएका छन् ।

सन्दीप अघिल्लो वरीयताको तुलनामा एकैपटक २२ स्थान माथि उक्लिएका हुन् । पछिल्लो एकदिवसीय अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी भने ४८औँ स्थानमा खस्किएका छन् । उनले अघिल्लो वरीयताको तुलनामा ६ स्थान तल झरेका हुन् ।

यसैगरी, नयाँ वरीयतामा अर्का नेपाली खेलाडी कुशल मल्ल ५१औँ स्थानमा छन् । उनी अघिल्लो वरीयताको तुलनामा सात स्थान तल झरेका हुन् । पछिल्लो अलराउन्डर वरीयतामा नेपाली खेलाडी सोमपाल कामी ५३औँ स्थानमा छन् । उनी यसअघिको वरीयतामा पनि यही स्थानमा थिए ।

समकालीन विश्व क्रिकेटका थुप्रै प्रभावशाली खेलाडी नयाँ वरीयतामा सन्दीपभन्दा पछाडि छन् । सन्दीपसँगै अस्ट्रेलियाका एडम जाम्पा र ट्राभिस हेडको पनि ४१औँ वरीयतामा छन् । नेपालका करण केसी ७६औँ स्थानमा छन् । उनी विगतको तुलनामा ११ स्थान माथि उक्लिएका हुन् । गुलसन झा पनि १३ स्थान सुधार गर्दै ९१औँ स्थानमा उक्लिएका छन् ।

पछिल्लो एकदिवसीय अलराउन्डर वरीयतामा अफगानिस्तानका मोहम्मद नाबी पहिलो स्थानमा आसिन छन् । बंगलादेशका सकिब अल हसन दोस्रो र जिम्बाबेका सिकन्दर राजा तेस्रो स्थानमा रहेका छन् । अफगानिस्तानका रासिद खान चौथो र अस्ट्रेलियाका ग्लेन म्याक्सवेल पाँचौँ स्थानमा छन् ।

आईसीसीले जारी गरेको एकदिवसीय टोलीको पछिल्लो वरीयतामा भने नेपाल एक स्थान तल खस्किएको छ । नयाँ वरीयतामा नेपाल १७औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप