बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट विश्वकप लिग–२

क्यानडा भ्रमणको पाठ : घरेलु क्रिकेटमा लामो ढाँचाका प्रतियोगिता अपरिहार्य

पहिलोभन्दा पनि निराशाजनक रह्यो दोस्रो शृङ्खला
बुधबार, ०९ असोज २०८१, १९ : ००
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । धेरै अर्थमा महत्त्वपूर्ण रहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो दोस्रो शृङ्खला नेपालका लागि निराशाजनक बन्यो । विश्वकप लिग–२ को आफ्नो दोस्रो शृङ्खला खेल्न क्यानडा पुगेको नेपाली टोलीले अपेक्षा अनुरूपको प्रदर्शन गर्न सकेन ।

क्यानडा भ्रमणका क्रममा खेलिएको चारमध्ये तीन खेलमा नेपाली टोली पराजित भयो । नेपालको अन्तिम खेल भने वर्षाबाट प्रभावित भयो । वर्षाका कारण नेपाल र ओमानबिचको खेल सुरु नै हुन सकेन । त्यसपछि दुवै टोलीले एक–एक अंक बाँडे ।  

गतिलो तयारी र उच्च मनोबलसहित क्यानडा भ्रमणमा निस्किएको नेपाली टोलीले आफ्नो दोस्रो शृङ्खलाबाट अधिकतम आठ अंक बटुल्न सक्ने सम्भावना थियो । यो शृङ्खलामार्फत नेपाली टोली अंक तालिकामा माथि उक्लन सक्ने सम्भावना पनि थियो ।

तर, क्यानडा भ्रमणबाट नेपालले एक अंकमात्र जोड्न सक्यो, त्यो पनि अन्तिम खेल रद्द भएकाले । बुधबार राति हुने आयोजक क्यानडा र ओमानबिचको भिडन्तसँगै जारी शृङ्खला सकिने छ । अन्तिम खेलअघिको अवस्थालाई हेर्दा जारी शृङ्खला आयोजक क्यानडाका लागि उपलब्धिमूलक रह्यो ।

हालसम्म आफूले खेलेका तीनवटै खेलमा क्यानडा विजयी भएको छ । क्यानडाले यो शृङ्खलामा तीन जितबाट ६ अंक बटुलिसकेको छ । अन्तिम खेलमा ओमानलाई हराएमा क्यानडाले जारी शृङ्खलाबाट शत प्रतिशत अंक बटुल्ने छ । यो शृङ्खला सुरु हुनुअघि आठ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको क्यानडा हाल १४ अंकसहित पहिलो स्थानमा उक्लिएको छ । ओमानले पनि यो शृङ्खलाबाट तीन अंक बटुलिसकेको छ ।

जारी विश्वकप लिग–२ अन्तर्गतको पहिलो शृङ्खला नेपाल घरेलु मैदानमै खेलेको थियो । त्यो शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी थिए । त्यो शृङ्खलामा पनि नेपालको प्रदर्शन निराशाजनक नै थियो । नेपालले आफूले खेलेको चारमध्ये केवल एक खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो ।

विश्वकप लिग–२ प्रतियोगिता सहभागी टोलीहरूका लागि निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।

459984910_950597613763286_734608824624407973_n

लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।

लिग–२ प्रतियोगिताको पहिलो संस्करण सन् २०१९ देखि सन् २०२३ सम्म आयोजना भएको थियो । त्यो प्रतियोगितामा तेस्रो भएको नेपालले सिधै सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट चरण खेल्ने अवसर पाएको थियो ।

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ । हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् । त्यसैले यसपटक पनि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ ।

  • क्यानडा भ्रमणमा नेपाली टोलीको प्रदर्शन, सुध्रिएन ब्याटिङ

नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ५३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४०.१ ओभरमै अलआउट हुनुअघि एक सय ५० रनमात्र बनाउन सकेको थियो । क्यानडाविरुद्धको पहिलो खेलमा नेपाली टोलीको बलिङ र ब्याटिङ दुवै कमजोर देखिएको थियो । ब्याटिङ त झनै निराशाजनक थियो ।

नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । केवल ५१ रनको कुल स्कोरमा नेपालले आफ्ना चार प्रभावशाली विकेट गुमाइसकेको थियो । ओपनर कुशल भुर्तेल एक रनमै पभेलियन फर्किएका थिए भने अर्का ओपनर आसिफ शेख पनि २० रनभन्दा अगाडि बढ्न सकेका थिएनन् ।

459984910_950597613763286_734608824624407973_n

नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान करण केसी र सन्दीप लामिछानेले मात्र २० भन्दा बढी रन बनाउन सकेका थिए । करणले २७ र सन्दीपले २२ रन बटुलेका थिए । कप्तान रोहित पौडेल पाँच रनमै पभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्की पनि १८ रन बनाउँदै आउट भएका थिए । नेपालका चार ब्याट्सम्यान बाहेक अन्य ब्याट्सम्यानले बनाएको रन त क्यानडाले अतिरिक्त रूपमा दिएको रनभन्दा पनि कम थियो । नेपालले अतिरिक्त रूपमा १६ रन पाएको थियो । बलिङतर्फ सोमपाल कामी र ललित राजवंशीले दुई–दुई तथा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक–एक विकेट लिए ।

शृङ्खलाको दोस्रो खेलमा नेपाली टोली ओमानसँग एक विकेटले पराजित भएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले नौ विकेट गुमाएर दुई सय २० रन बनाएको थियो । जवाफमा ओमानले ४९५ ओभरमा नौ विकेट गुमाएर दुई सय २३ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

दोस्रो खेलमा पनि नेपालको माथिल्लो क्रम निराशाजनक थियो । टोलीको कुल स्कोर केवल ३१ रन रहँदा नेपालले माथिल्ला तीनवटै विकेट गुमाइसकेको थियो । ओपनर अर्जुन साउद पाँच र आसिफ शेख ११ रनमै पभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम सार्की पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् । त्यसपछि चौथो नम्बरका ब्याट्सम्यान कप्तान रोहित पौडेल र पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले टोलीलाई समाल्ने प्रयास गरेका थिए ।

रोहितले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ६० रन बनाए । उनले ७२ बलको सामना गरी चार छक्का र दुई चौका प्रहार गरेका थिए । आरिफले ३५ रन बनाएका थिए । उनले ८८ बलको सामना गरी एक चौका हिर्काएका थिए ।

461101788_955272499962464_6628010757675458123_n

छैटौँ नम्बरमा क्रिज समाल्न आएका गुल्सन झाले पनि टोलीका लागि अर्धशतकीय पाली खेलेका थिए । उनले ३५ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ५३ रन बनाएका थिए । अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक थियो । बरु तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले २० रन जोडेका थिए ।

बलिङतर्फ पनि गुल्सन झा एक्लैले पाँच विकेट लिएका थिए । उनले १० ओभरमा दुई मेडनसहित ४७ रन खर्चिएका थिए । यसका अतिरिक्त करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक–एक विकेट हात पारेका थिए ।

यसैगरी, शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाली टोली क्यानडासँग पाँच विकेटले पराजित भएको थियो । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको नेपालले ४६.१ ओभरमै अलआउट हुनुअघि एक सय ८१ रनमात्र बनाउन सकेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले ४२ ओभरमै केवल पाँच विकेट गुमाएर एक सय ८६ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । तेस्रो खेलमा पनि नेपालको ब्याटिङ निकै निराशाजनक थियो । नेपाली टोलीका माथिल्लो क्रमका ६ ब्याट्सम्यानले त १० भन्दा बढी रनसमेत बनाउन सकेनन् ।

सातौँ नम्बरदेखिका ब्याट्सम्यानले केही गतिलो ब्याटिङ गरेका थिए । नवौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीप लामिछानेले टोलीका लागि सर्वाधिक ४९ रन बनाएका थिए । उनले ४८ बलमा एक छक्का र पाँच चौका प्रहार गरेका थिए ।

459570740_950597627096618_4273807659117244146_n

गुल्सन झाले ३४ रन, करण केसीले २४ रन र सोमपाल कामीले २१ रन बनाएका थिए । तीन ब्याट्सम्यानलाई छाड्ने हो भने अन्य ब्याट्सम्यानले बनाएको रन त नेपालले अतिरिक्त रूपमा पाएको रनभन्दा पनि कम थियो । नेपालले अतिरिक्त रूपमा २२ रन पाएको थियो । त्यो खेलमा बलिङतर्फ सन्दीप लामिछानेले दुई तथा करण केसी, ललित राजवंशी र गुल्सन झाले एक–एक विकेट लिए ।

  • अंक तालिकामा क्यानडा र अमेरिकाको फड्को

लिग–२ अन्तर्गत हालसम्मको अंक तालिकामा क्यानडा सबैभन्दा अगाडि छ । क्यानडाले ११ खेलबाट १४ अंक जोडेको छ । क्यानडाले सात जित र चार हारको नतिजा निकालेको छ । अमेरिका १२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा आसिन छ ।

आठ खेल खेलेको अमेरिकाले ६ जित र दुई हारको नतिजा निकालेको छ । अमेरिका पनि अहिले नामिबियामा लिग–२ शृङ्खला खेलिरहेको छ । उक्त शृङ्खलामा अमेरिका र नामिबियाका अतिरिक्त संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी छ ।

पछिल्लो समय अमेरिकाले शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नामिबिया भ्रमणका क्रममा अमेरिकाले आफूले खेलेको चारवटै खेल जितेको छ । यो शृङ्खला सुरु हुनुअघि अमेरिका ६ खेलबाट आठ अंक बटुल्दै तालिकाको चौथो स्थानमा रहेको थियो ।

यसैगरी, आठ खेल खेलेको नेदरल्यान्ड्स १२ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । नेदरल्यान्ड्सले ६ जित र दुई हारको नतिजा निकालेको छ । सात खेल खेलेको स्कटल्यान्ड नौ अङ्कसहित चौथो स्थानमा छ । स्कटल्यान्डले चार जित र दुई हारको नतिजा निकालेको छ । स्कटल्यान्डको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

यसैगरी, ११ खेल खेलेको नामिबिया आठ अङ्कसहित पाँचौँ स्थानमा छ । नामिबियाले चार जित र सात हारको नतिजा निकालेको छ । सात खेल खेलेको ओमान ६ अङ्कसहित छैटौँ स्थानमा छ । ओमानले दुई जित र तीन हारको नतिजा निकालेको ओमानको दुई खेल अनिर्णीत रूपमा सकिएको छ ।

आठ खेल खेलेको नेपाल तीन अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । नेपालले एक जित र ६ हारको नतिजा निकालेको छ । नेपालको एउटा खेल भने अनिर्णीत रूपमा सकिएको छ । ६ खेलबाट दुई अंक जोडेको यूएई आठौँ स्थानमा छ । यूएईले एक जित र पाँच हारको नतिजा निकालेको छ ।

  • लिग–२ मा नेपाली टोलीको अबको यात्रा

नेपाली टोलीले क्यानडा भ्रमणका क्रममा अब आयोजक राष्ट्र र ओमानसँग दुई–दुईवटा टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । लिग–२ अन्तर्गतको प्रत्येक शृङ्खला सकिए लगत्तै त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिने परम्परा रहँदै आएको छ ।

सोही अनुरूप, पहिलो टी–२० खेल सेप्टेम्बर २८ तारिखमा नेपालविरुद्ध क्यानडाबिच खेलिने छ । दोस्रो टी–२० सेप्टेम्बर २९ मा नेपालविरुद्ध ओमानबिच हुनेछ । सेप्टेम्बर ३० मा क्यानडा र ओमानबिच तेस्रो टी–२० खेलिने छ ।

चौथो खेल अक्टोबर १ मा नेपाल र क्यानडाबिच, पाँचौँ खेल अक्टोबर २ मा नेपाल र ओमानबिच तथा छैटौँ टी–२० अन्तर्राष्ट्रिय अक्टोबर ३ तारिखमा क्यानडा र ओमानबिच खेलिने छ । तर, यो टी–२० शृङ्खलाको लिग–२ सँग कुनै सम्बन्ध छैन ।

क्यानडा भ्रमणपछि नेपाली टोली लिग–२ अन्तर्गतकै आफ्नो तेस्रो शृङ्खला खेल्न अमेरिका प्रस्थान गर्नेछ । अमेरिका भ्रमणका क्रममा पनि नेपाली टोलीले लिग–२ अन्तर्गत आयोजक राष्ट्र र स्कटल्यान्डसँग दुई–दुई खेल खेल्नेछ ।

अमेरिका भ्रमणका क्रममा नेपालले अक्टोबर २७ तारिखमा आयोजक राष्ट्रसँग पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल अक्टोबर २९ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि नेपालले आफ्नो तेस्रो खेल नोभेम्बर २ तारिखमा अमेरिकासँग खेल्नेछ ।

यसैगरी, नेपालले आफ्नो चौथो तथा अन्तिम खेल नोभेम्बर ४ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ । अमेरिका भ्रमणका क्रममा पनि नेपालले आयोजक राष्ट्र र स्कटल्यान्डसँग दुई–दुईवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ । जारी लिग–२ शृङ्खलामा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् ।

लिग–२ अन्तर्गत क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक शृङ्खलाका लागि क्यानद्वारा घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

देव खनाल पनि रिजर्भ खेलाडीका रूपमा छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् । लामो समय राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका जगत टमाटालाई पनि कन्सल्टेन्ट प्रशिक्षकका रूपमा टोलीमा समावेश गरिएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाउँदा जगत नै टोलीका प्रमुख प्रशिक्षक थिए ।

  • ‘घरेलु क्रिकेटमा लामो ढाँचाका प्रतियोगिता चाहिन्छ’

जारी लिग–२ शृङ्खलामा खासगरी नेपाली टोलीका ब्याट्सम्यानहरुको प्रदर्शन निराशाजनक देखियो । अधिकांश महत्त्वपूर्ण प्रतियोगितामा फितलो ब्याटिङ नेपालको पुरानै समस्या हो । कमजोर ब्याटिङकै कारणले नेपालले थुप्रै महत्त्वपूर्ण प्रतियोगितामा नतिजा पनि गुमाउनु परेको छ । 

chumbi lama

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामा क्यानडा र अमेरिका भ्रमणका लागि नेपाली टोलीले राम्रो तयारी गरे पनि ब्याटिङमा समस्या देखिएको स्विकार्छन् । ‘हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका थियौँ । तर, सोचेजस्तो प्रदर्शन हुन सकेन । सायद, योभन्दा गतिलो तयारी आवश्यक थियो,’ उनी भन्छन् ।

नेपाली टोलीले क्यानडा र अमेरिकाविरुद्धको शृङ्खलाका लागि भारतको बैंगलुरुमा करिब दुई साता प्रशिक्षण गरेको थियो । बैंगलुरुमा रहँदा त्यहाँका प्रशिक्षकहरूले पनि नेपाली टोलीका खेलाडीलाई अभ्यास गराएका थिए ।

त्यसपछि नेपाली टोली अन्तिम तयारीका लागि श्रीलंका गएको थियो । भ्रमणका क्रममा नेपाली टोलीले श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग तीनवटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, वर्षाका कारण पहिलो र दोस्रो खेल रद्द भएको थियो । श्रीलंका भ्रमणका क्रममा खेलिएको तेस्रो खेलमा भने नेपाली टोली श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग पराजित भएको थियो ।

क्यानमा समेत विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका घले अब घरेलु क्रिकेटमा तीन दिवसीय प्रतियोगिताहरू आयोजना गरिनु पर्ने धारणा व्यक्त गर्छन् ।

नेपालमा लामो समयदेखि टी–२० ढाँचाका फ्रेन्चाइज प्रतियोगिताहरू बढी हुने गरेका छन् । खेलाडीहरू पनि त्यसैमा बढी अभ्यस्त हुन्छन् । एकदिवसीय र त्योभन्दा लामो ढाँचाका प्रतियोगिताहरू निकै कम आयोजना हुन्छन् । एकदिवसीय ढाँचाको प्रतियोगिताको नाममा एउटा प्रधानमन्त्री कप आयोजना हुन्छ । लामो ढाँचाको प्रतियोगिता कम हुँदा त्यसको प्रत्यक्ष प्रभाव खेलाडीको प्रदर्शनमा पर्नु स्वभाविक हो ।

क्यानका प्रवक्ता लामा पनि यो कुरा स्विकार्छन् । ‘वास्तवमै हामीसँग एकदिवसीय वा त्योभन्दा लामो ढाँचाका प्रतियोगिताको कमी छ । क्यानको वर्तमान नेतृत्वले पनि यसलाई गम्भीरतापूर्वक लिएको छ । हाम्रो आगामी कार्यक्रममा लामो ढाँचाका प्रतियोगितालाई महत्वका साथ अगाडि सारेका छौँ,’ उनी भन्छन्, ‘हामीले उमेर समूहदेखि नै खेलाडीलाई लामो ढाँचाको प्रतियोगितामा अभ्यस्त बनाउँदै लैजान कार्यक्रम अगाडि बढाएका छौँ ।’

diwakar-ghale

काठमाडौँ जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घले पनि नेपालमा लामो ढाँचाको प्रतियोगिताको आवश्यकता रहेको बताउँछन् । क्यानमा समेत विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका घले अब घरेलु क्रिकेटमा तीन दिवसीय प्रतियोगिताहरू आयोजना गरिनु पर्ने धारणा व्यक्त गर्छन् ।

‘छोटो ढाँचाका फ्रेन्चाइज प्रतियोगिताहरू त छँदैछन् । अब हामीले एकदिवसीय मात्र होइन, तीन दिवसीय प्रतियोगिताहरू पनि आयोजना गर्नु पर्छ । बढीभन्दा बढी यस्ता प्रतियोगिता चाहिन्छन् । खेलाडीको प्रदर्शनमा निखार ल्याउन पनि यो आवश्यक छ,’ क्यानका कार्यवाहक कोषाध्यक्षसमेत रहिसकेका घले भन्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप