बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

नेताहरूको कार्य विभाजनमा माधव नेपाललाई सकस

बुधबार, ०९ असोज २०८१, १८ : ००
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन सम्पन्न गरेको झन्डै तीन महिना पुग्न लाग्दा पनि नेताहरूको कार्य विभाजन गर्न सकेको छैन ।

महाधिवेशनपछि नेताहरूको कार्य विभाजन गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा अध्यक्ष माधव नेपालबाहेक सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल र प्रकाश ज्वाला रहेका छन् ।

उक्त कार्यदलको औपचारिक बैठक अहिलेसम्म बस्न नसकेको सम्मानित नेता तथा कार्यदल सदस्य झलनाथ खनालले जानकारी दिए ।

‘अहिलेसम्म कार्यदलको औपचारिक बैठक नै बसेको छैन । अस्ति अनौपचारिक बैठक बस्दा असोज १० गते कार्यदलको बैठक बसेर टुङ्ग्याउने कुरा भएको छ’, खनालले रातोपाटीसँग भने, ‘तयारी भए भोली टुङ्गेला नत्र अर्को बैठक कुर्नुपर्छ ।’

नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तामा असारमा सम्पन्न महाधिवेशनदेखि नै असन्तुष्टि बढ्दो छ । केन्द्रीय पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय समिति सदस्य चयनका क्रममा भएको नेतृत्वको पक्षपातपूर्ण व्यवहारले नेता कार्यकर्ताहरूमा बढेको चर्को असन्तुष्टि कम नहुँदा महाधिवेशनपछि पनि पार्टीमा कुनै ऊर्जा र उत्साह उत्पन्न हुन नसकेको कतिपय नेताहरूको गुनासो छ । यही बेला नेताहरूको कार्य विभाजन र जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले पार्टीमा थप असन्तुष्टि चर्किन सक्ने भय अध्यक्ष माधवकुमार नेपाललाई छ ।

‘पहिलाको असन्तुष्टि नै साम्य भैसकेको छैन । अव फेरि कार्य विभाजन गर्दा माधव नेपालले आफ्नो गुटकालाई प्राथमिकता दिने नै छन् । त्यसो गर्दा थप असन्तुष्टि बढ्ने खतरा भएकाले पनि अध्यक्ष तत्कालै कार्य विभाजन गर्ने मुडमा देखिनुहुन्न’, एक पदाधिकारीले भने, ‘त्यही भएर गृहकार्य नपुगेको भन्दै बिहीबारको कार्यदल बैठक पनि बस्ने नबस्ने निश्चित छैन ।’ उनका अनुसार बैठक नै बसेपनि निर्णय गरिहाल्ने अवस्था छैन ।

एकीकृत समाजवादीमा नेताहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, सांसदहरू किसान श्रेष्ठ प्रेम आले, धनबहादुर बुढा लगायतका नेता तथा सांसदहरू असन्तुष्ट छन् । उनीहरू नेताहरूको कार्य विभाजनको अवस्था हेरेर पार्टीमा बस्ने या नबस्ने निर्णय गर्ने अवस्थामा पुगेको बताइन्छ । प्रेम आले, किसान श्रेष्ठ लगायतका नेताहरू त महाधिवेशन पछि भएका कुनै पनि पार्टी बैठकमै उपस्थित भएका छैनन् ।

तर, माधव नेपाल निकट रहेका पार्टी केन्द्रीय सचिव सोमप्रसाद पाण्डे बाहिर मिडियामा आएजसरी पार्टीमा असन्तुष्टि नभएको दाबी गर्छन् ।

‘जसरी मिडिया र बाहिर असन्तुष्टि छ भनेर चर्चा भइरहेको छ । भित्र त्यस्तो असन्तुष्टि छैन’, पाण्डेले भने, ‘बरु यसअघि देखिएका असन्तुष्टिहरू बिस्तारै सम्बोधन हुँदै गएका छन् ।’

उनले केही दिनभित्रै कार्यदल बसेर नेताहरूको कार्य विभाजन हुने विश्वास व्यक्त गरे ।

‘सबैको चित्त बुझ्नेगरी कार्य विभाजन हुन्छ । यसमा शङ्का छैन’, पाण्डेको भनाइ छ । उनले पार्टी विभाजन हुने वा सरकारले अध्यादेश ल्याएर कतिपय सांसदहरू अन्य पार्टीमा जाने भनेर भइरहेको चर्चामा पनि सत्यता नभएको दाबी गरे ।

‘पार्टी विभाजन हुने वा अध्यादेश ल्याएर सांसदहरू पार्टी छाड्दैछन् भनेर बाहिर जसरी प्रचार भइरहेको छ त्यो सत्य होइन र सम्भावना पनि छैन’, पाण्डेले भने,‘ अध्यादेश आएको खण्डमा पनि अहिले नेकपा एकीकृत समाजवादीका कुनै पनि सांसद पार्टी छाडेर जाने सम्भावना छैन ।’

एकीकृत समाजवादीमा रहेका ३२ वटा विभाग प्रमुख र उपप्रमुख, ७७ वटै जिल्लाका इन्चार्ज र सहइन्चार्ज, प्रदेश इन्चार्ज र सहइन्चार्ज, विभिन्न जनसंगठन प्रमुख, आयोग प्रमुखलगायतको जिम्मेवारी तोक्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप