बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डलाई विवादमा ल्याउने रवीन्द्रको ७ बुँदाले राजनीतिमा हलचल

के भन्छन् विश्लेषक ?
बुधबार, ०९ असोज २०८१, १५ : ३९
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबिच भएको भेटवार्ताले राजनीति तरङ्गित भएको छ ।

प्रचण्ड र मिश्रबिच मंगलबार खुमलटारमा भेटवार्ता भएको थियो । सामाजिक सञ्जालमा भेटवार्ताबारे जानकारी दिँदै उनले राजसंस्था पुनर्स्थापना नगर्ने हो भने देश विस्फोटको अवस्थातिर जानसक्नेतर्फ प्रचण्डको ध्यानाकर्षण गराएको उल्लेख गरेका थिए । साथै, भेटमा प्रचण्डले राखेको अर्थपूर्ण धारणा भन्दै मिश्रले ७ बुँदामा जानकारी गराएका थिए ।

शाही सत्ताविरूद्ध १० वर्ष सशस्त्र विद्रोह गरेका तत्कालीन विद्रोही माओवादीका सर्वोच्च कमाण्डसमेत रहेका प्रचण्डसँग राजसंस्थाको पक्षपोषक राप्रपाका वरिष्ठ नेताको भेटवार्ताबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कटाक्ष गरे । माओवादी जनयुद्धमध्येका एक प्रमुख योजनाकार रहेका भट्टराई सामाजिक सञ्जाल एक्समार्फत् प्रचण्डप्रति कटाक्ष गरेका हुन् । दुई नेताबिच कुन स्तरको कुराकानी गरेका थिए भन्नेबारे प्रचण्डको सचिवालयले कुनै जानकारी दिएको थिएन । यद्यपि भेटवार्तालाई लिए प्रचण्डलाई विवादमा ल्याउने भूमिका मिश्र आफैँले खेलेका थिए ।

प्रचण्डले राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ राजा रहेछन् भन्ने प्रतिक्रिया दिएको रवीन्द्रको भनाइलाई लक्षित गर्दै भट्टराईले बिरालो म्याउ गरेको रूपमा चित्रण गरेका छन् । उनले भनेका छन्, ‘प्रचण्ड र रवीन्द्र मिश्रबिचको अन्तरङ्ग कुराकानीको सत्य तथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण  अन्तरसंघर्षदेखि जान्ने सबैलाई थाहा छ । अहिले बिरालो म्याउ गरेकै हो ! किनकि प्रचण्डको वास्तविकता त्यही हो ।’

गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट नभइ नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानपूर्ण संघर्षको बलमा प्राप्त भएको भट्टराईले लेखेका छन् । केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्ता लिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धि खोसिन नसक्ने र खोस्न दिनु नहुने पक्षमा उनी उभिएका छन् ।

तर मिश्रले प्रचण्डको हवाला दिँदै सार्वजनिक गरेका ७ बुँदालाई लिएर प्रचण्डको सचिवालयले गम्भीर आपत्ति जनाएको छ । अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र मिश्रको यो मनगढन्ते धारणा भएको बताए ।

‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत् पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’, बुधबार मिश्रको विचारको खण्डन गर्दै सचिवालयले भनेको छ, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’

प्रचण्डको सचिवालयको खण्डनपछि मिश्रले त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु आफ्नो दायित्व सम्झिएको भन्दै पुनः फेसबुकमा लेखेका छन् । भेटबारे थप व्याख्या गर्दै उनले ठुला नेताहरूसँग भेट्दा बाहिर हल्ला नगरौँ भन्ने कुरामा आफूले त्यो आग्रह पालना गरेको प्रस्ट पारेका छन् । उनले मंगलबार भएको संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको स्पष्ट पारेका छन् ।

अन्तरङ्ग कुराकानी जेसुकै भए पनि प्रचण्ड निवासको छतमा हसिलो मुद्रामा देखिएका दुई परस्पर विरोधी खेमाका नेताहरूको भेटवार्तालाई लिएर विपक्षीहरूले खेल्ने राम्रै मौका पाएका छन् । भट्टराईले त्यही मौकाको फाइदा उठाउँदै प्रचण्डमाथि राजनीतिक प्रहार देखिन्छ ।

राजतन्त्रको कट्टर विरोधी रहेका उनले युद्धकालमा पनि प्रचण्डलाई दरबार परस्त भएको आरोप लगाउँदै आएका थिए । प्रचण्डले उनलाई भारत परस्तको आरोप लगाउँदै आएका थिए । तर राजनीतिक विश्लेषकहरूले सत्ता स्वार्थ र सत्ता पक्षलाई दाबाबमा राख्न प्रचण्डले नयाँ रणनीति बनाएको हुन सक्ने विश्लेषण गरेका छन् ।

संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएपछि सत्ताच्युत भएका प्रचण्डले सरकारविरूद्ध योजनाबद्ध प्रतिरोधमा उत्रिने तयारी गरेका छन् । सत्ता पक्षलाई दबाबमा राख्न उनले नयाँ कार्ड फालेको हुन सक्ने वाम विश्लेषक श्याम श्रेष्ठले अनुमान गरे ।

वामपन्थी राजनीतिलाई उचाइमा पु¥याउन र शाहीसत्ता विरूद्ध नेतृत्वदायी भूमिका खेलेकाले राजसंस्थाको पक्षमा उभिने सम्भावना नरहेको बताए । तर उनको व्यक्तिगत चरित्र र स्वभावका कारण सत्ताका लागि राजावादी शक्तिसँग पनि सहकार्य गर्न सक्ने अनुमान गरे ।

‘प्रचण्ड र रवीन्द्रबिच भएका कुराकानीको विषयमा मैले अपडेट लिन पाएको छैन । तर प्रचण्डको विगतका चरित्र र स्वभाव हेर्दा सत्ताका लागि जे पनि गर्न सक्नुहुन्छ । यद्यपि राजनीतिक चरित्र, शाही सत्ताविरुद्ध उहाँले खेलेको भूमिकाका कारण राजसंस्था फर्काउनतिर लाग्छन् जस्तो मलाई लाग्दैन’, प्रचण्डबारे श्रेष्ठले विश्लेषण गरे ।

माओवादीको पूर्वनेता तथा वामपन्थी विश्लेषक राधाकृष्ण मैनालीले प्रचण्डको स्वभाव हेर्दा सम्भव छैन भन्न नमिल्ने बताए । उनी सत्ता पाउँदा जे पनि अँगाल्न सक्ने मान्छे भएको चित्रण गरे । तर राजनीतिक प्रकृतिले भन्दा त्यो सम्भावना नभएको स्पष्ट पारे ।

‘उनको जीवन दर्शन, वामपन्थी आन्दोलनसँग जोडेर भन्ने हो भने गणतन्त्र ल्याउन यत्रो सशस्त्र विद्रोह गरेका मान्छे ठ्याक्कै पल्टिएर राजतन्त्रको पक्षमा उभिन सम्भव छैन’, उनले भने, ‘तर जुन लक्ष्यसाथ उनले गणतन्त्र ल्याए, त्यो बेकारै भयो जस्तो लाग्छ । राजाका ठाउँमा राष्ट्रपति आउनुबाहेक गणतन्त्रले देश र जनतालाई डेलिभरी दिन सकेन । यस कोणबाट हेर्दा माओवादी आन्दोलन परिणाममुखी भएन । तै पनि उनको पृष्ठभूमि हेर्दा उल्टिने सम्भावना देखिँदैन ।’

प्रचण्डले मिश्रसँग आफ्नै निवासमा बोलाएर भेट्नुको अर्थ सत्तामा रहेका कांग्रेस र एमालेलाई दबाबमा राख्न यो रणनीति अपनाएको हुन सक्ने मैनालीको बुझाइ छ ।

‘सरकारमाथि प्रेसर सुरू गर्ने रणनीति होला । राजनीतिक दाउपेच अनेकौँ हुनसक्छ । यसैलाई हतियार बनाएर फेरि सत्ता समीकरणमा जान खोजेको पनि हुन सक्छ । तर त्यस्तो दाउपेचले पोलिटिक्स सजिलै अगाडि जान सक्दैन’, उनले भने ।

संविधान दिवसको दिन मिश्रले गणतन्त्र ल्याउने मुख्य पात्र प्रचण्ड भएकाले उनको तस्बिरलाई कांग्रेस र एमालेले सम्मानका साथ कार्यालयमा राख्नुपर्ने आशयसहितको भिडियो सन्देश सार्वजनिक गरेका थिए । सोही भिडियोलाई लिएर सोमबार राजधानीको एक कार्यक्रममा प्रचण्डले कांग्रेस, एमाले र माओवादीबिच फाटो ल्याउन मिश्रले राजनीति गरेको आरोप लगाएका थिए ।

मिश्रको विचारसँग आफू सहमत नभएको उनले स्पष्ट पारेका थिए । सोही कार्यक्रममा मिश्रले गणतन्त्र, संघीयता, समावेशी माओवादीको एजेण्डा भएकाले देशको राजनीति अहिले पनि प्रचण्ड वरिपरि घुमिरहेको बताएका थिए ।

प्रचण्डलाई विवादमा ल्याउने मिश्रको ७ बुँदे

१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु ।

२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गजबका ‘भिजनरी’ राजा रहेछन् ।

३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पूरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२÷०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो ।

५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।

६. अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन । देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो । तर अब यसरी चाहिँ हुँदैन ।

७. म अहिले नै तपाईंको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्नचाहिँ पर्ने अवस्था छ । ‘निरन्तरतामा क्रमभङ्गता’ अत्यावश्यक भइसक्यो ।

कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए ।

सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए । तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा–बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौँ नेपालीका प्रतिनिधि पात्र थिए । उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ–बित्नेछ भन्नेमा सम्भवतः उनीहरू अनभिज्ञ थिए ।

मचाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप