बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

बुधबार, ०९ असोज २०८१, १४ : ४३
बुधबार, ०९ असोज २०८१

लमजुङ ।  ‘लकडाउन’को समयलाई सदुपयोग गरी गरेको प्रयासले सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटालाई अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग मित्रता गरेकी थिइन् ।

काम गर्ने इच्छा र जाँगर भएमा तालिम विना पनि दक्षता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन् चित्रकार सापकोटाले । विभिन्न परियोजनाअन्तर्गत स्वदेश तथा विदेशबाट चित्रकलासम्बन्धी काम आउने गरेको उनले बताइन् । “कोरोनाको समयमा घर बाहिर निस्कन नहुने भयो, सोही समयलाई सदुपयोग गर्दै कुची र रङ्ग खेलाउन थालेँ, अहिले व्यावसायिक रुपमा चित्र बेच्न थालेकी छु”, उनले भनिन् । 

एरिकाले कडा मेहनत र लगावका कारण आफू चित्रकार बनेको बताइन् । “फुपूदिदीको घरमा फर्निचर उद्योग भएको थियो । सुरुआती दिनमा त्यहाँ गएका रङ्ग, कागज र काठका टुक्रामा चित्र बनाउन सिक्थेँ । पछि इन्टरनेटको माध्यमबाट रङ्गको समायोजन र कसरी चित्र बनाउने भन्ने विषयमा अध्ययन र अनुसन्धान गर्दै बनाउन थालेकी हुँ”, उनले भनिन् । 

फुर्सदको समयलाई त्यतिकै फाल्नुहुँदैन भन्ने मान्यता राख्ने सापकोटा आफ्नो इन्जिनियरिङको कामबाट केही समय सदुपयोग गरी वा कम्प्युटर हेर्दाहेर्दै दिक्क लागेको समयमा चित्र बनाउने गर्छिन् । यसबाट ध्यान विकेन्द्रित नहसने र मनलाई प्रफुल्लित बनाउने उनको अनुभव छ । 

चित्र बनाउँदै गर्दा भेटिएकी सापकोटाले भनिन्, “चित्र बनाएर त्यसलाई पूर्णता दिनुपर्छ । कहीँकतै कही अपुग वा कमी भएमा त्यसलाई अन्तिम चरणको तयारी गर्नुपर्छ ।” उनले एउटा चित्र न्यूनतम रु सात हजारसम्म र अधिकता रु १२ हजारसम्ममा बिक्री हुने उल्लेख गरिन् ।

विदेशमा रहेका शुभचिन्तकको सहयोगले अमेरिकामा एउटा चित्रलाई रु २० हजार र अष्ट्रेलियामा रु १२ हजारमा बिक्री हुने गरेको आएको सापकोटाले बताइन् । 

यसैगरी अनलाइनबाटै विभिन्न परियोजनाका काम गरिरहेको बताउँदै सापकोटाले चित्रकला कोरिरहँदा मन शान्त र आनन्दित हुने अनुभव सुनाइन् । चित्रकला रोजाइको विषय भएकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप