बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
मधेस सरकार

मधेसका मुख्यमन्त्री सिंहको १०० दिन :  के–के भयो उपलब्धि ?

बुधबार, ०९ असोज २०८१, १४ : २०
बुधबार, ०९ असोज २०८१

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो कार्यकालको १०० दिन पूरा गरेका छन् । आफ्नो कार्यकालको १०० दिन पूरा गरेको अवसरमा उनले बुधबार पत्रकार सम्मेलन गर्दै सो अवधिमा भएका कामकारबाहीबारे जानकारी गराएका छन् । 

प्रदेश सरकारले विकासका कामसँगै आर्थिक तथा सामाजिक रूपान्तरणका लागि गरेको प्रतिबद्धता अनुरूप १०० दिनको बिचमा निष्ठाका साथ कार्यसम्पादन गरेको सिंहले जानकारी दिए । 

उनका अनुसार यो अवधिमा प्रदेशसभाबाट चार वटा विधेयकहरू पारित भएको छ । प्रदेशसभाबाट सालवासी विधेयकबाहेक प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा बनेका विधेयक र प्रदेश यातायात तथा सवारी व्यवस्थापन विधेयक गरी चार वटा विधेयक पारित भएका हुन् ।  

यस्तै केही अत्यावश्यक र महत्त्वपूर्ण विधेयकहरू प्रदेशसभाका विभिन्न विषयगत समितिमा छलफलमा रहेका र केही विधेयकको मस्यौदा तयार भई प्रदेशसभामा पठाउने प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री सिंहको भनाइ छ । 

सिंहले प्रदेश लोकसेवा आयोगमा रिक्त अध्यक्ष र एक सदस्य नियुक्त गरी आयोगलाई पूर्णता दिएको जानकारी गराएका छन् ।  प्रदेश नीति तथा योजना आयोगमा क्षमता र सक्षमताका आधारमा व्यावसायिक व्यक्तिहरूलाई नियुक्त गरिएको र लामो समयदेखि थाँती रहेको बढुवा नियुक्ति, कर्मचारीको रुचि, योग्यता, दक्षता अनुभव र तालिमलाई प्राथमिकतामा मनोबल अभिवृद्धि गर्ने किसिमले सरुवा व्यवस्थापन भइरहेको मुख्यमन्त्री सिंहले सुनाए । 

आफू मुख्यमन्त्री भएपछि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा एमबिबिएस कार्यक्रम सञ्चालनका लागि निर्णय भएको र त्यसलगत्तै चिकित्सासेवा आयोगले यस वर्षबाटै प्रारम्भ हुनेगरी प्रतिष्ठानलाई एमबिबिएस अध्ययन अध्यापनका लागि ५० सिटको स्वीकृति दिएको सिंहले जानकारी दिए । 

यस्तै गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा प्रवाहका लागि प्रदेश सरकारले प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पतालमा तीन सय बेड थप्ने निर्णय गरेको र त्यसका लागि स्रोतसमेत सुनिश्चित गरिएको छ । यस्तै शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न धनुषा र सिराहामा शैक्षिक पार्क बनाउने प्रक्रिया अघि बढाइएको समेत मुख्यमन्त्री सिंहले जानकारी दिए । 

मुख्यमन्त्री सिंहले पत्रकार सम्मेलनमा भने, ‘बहुबुद्धिमत्ता, सामाजिक सिकाइ सिद्धान्त, विज्ञान प्रविधिप्रति रुचि प्रवर्द्धन गर्ने र २१ औँ शताब्दीको सीप प्रवर्द्धनका सिद्धान्तहरूमा आधारित शैक्षिक पार्क मधेस प्रदेशका सन्दर्भमा नवीन र महत्त्वपूर्ण कदम हो, मधेस प्रदेशका आठ वटै जिल्लामा क्रमिक रूपमा एक–एक वटा शैक्षिक पार्क स्थापना गर्ने सरकारको योजना छ । मधेस प्रदेशको समग्र कृषि प्रवर्द्धन र विकासका लागि कृषि क्षेत्रमा महिला स्वयंसेविका परिचालन गर्ने उद्देश्यले कृषि महिला स्वयंसेवक कार्यक्रम अगाडि बढाइएको छ।’ 

उनका अनुसार यसबाट कृषि क्षेत्रसँग सम्बद्ध सूचना विस्तृत र सरल ढङ्गले किसानसम्म पुग्ने, प्रदेश सरकारका कृषिसम्बन्धी नीति र कार्य योजनामा किसानको पहुँच बढ्ने, कृषि प्राविधिक र किसानबिच समन्वयकर्ता कायम हुनेछ । 

यसैगरी कमला नदीको उकासका जग्गामा कृषिलगायतका कार्यमा अधिकतम उपयोग गरी त्यसमा आश्रित किसानको जीवनस्तर उकास्ने उद्देश्यले एकीकृत कृषि विकास परियोजनाका लागि डिपिआर तयारी भइरहेको उनले जानकारी दिए । 

पशुबिमा, निर्वाचन क्षेत्रलक्षित कृषि विद्युतीकरण कार्यक्रम, कृषि उत्कृष्टता केन्द्र, हरेक पालिका एक एग्रोभेट कार्यक्रम, प्रारम्भिक मल वितरण कार्यक्रम र मन्डीसँगै १६ ठाउँमा शीतभण्डार, भेटेनरी एम्बुलेन्स, भेटेनरी अस्पताल लगायतका महत्त्वपूर्ण योजना अघि बढाइएको पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री सिंहले जानकारी दिए । 

 ‘महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारबाट फर्केका नागरिकलाई स्वरोजगार कार्यक्रम, स्टार्टअप अनुदान, लघुउद्यम प्रवर्द्धन कार्यक्रम, मधेस वैदेशिक रोजगारी उद्धार केन्द्र स्थापना, आप्रवासनसम्बन्धी डिजिटल प्रोफाइलिङ, मुख्यमन्त्री रोजगार कार्यक्रम, तालिमसहितको स्वरोजगार कार्यक्रमका लागि अवधारणा पत्र बनाई कार्यविधि तर्जुमा गरिएको छ,’ उनले भने ।  

प्रदेश सरकारले अन्तर्राष्ट्रिय रामजानकी क्रिकेट रङ्गशालाका लागि अवधारणात्मक संरचना तयार भई डिपिआर तयार हुने क्रममा रहेको र दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन गर्ने कार्य अगाडि बढाइएको पनि उनले आफ्नो प्रगति विवरणमा उल्लेख गरेका छन् ।   

मुख्यमन्त्री सिंहले एसियाली विकास बैंकको ऋण सहायतामा सिँचाइ आधुनिकीकरण प्रवर्द्धन आयोजनाअन्तर्गत विभिन्न उपआयोजनाहरूका लागि दुई अर्ब १९ करोड रकम बराबरको बोलपत्र आह्वान भएको जानकारी दिए । 

उनले बोलपत्र आह्वान गरिएका १५ वटा उपआयोजनाबाट मधेस प्रदेशको पाँच हजार सात सय ९८ हेक्टर भूभागमा थप सिँचाइ सुविधा पुग्ने पनि उल्लेख गरे । 

प्रदेशका विभिन्न ठाउँमा अतिक्रमित वनक्षेत्रको पहिचान गरी अतिक्रमणमुक्त बनाउने र त्यस ठाउँमा वृक्षारोपण गर्ने बृहत् कार्यको थालनी भइसकेको भन्दै उनले उनले चुरे, भावर तथा तराई क्षेत्रको पारिस्थितिकीय प्रणाली र जैविक विविधता संरक्षणलगायतका कार्यलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन प्रदेशका थप दुई ठाउँहरूमा भू तथा जलाधार कार्यालय स्थापना गरिएको बताए । 

उनले प्रदेश रजिस्ट्रार कार्यालयको स्थापना भएको र त्यसबाट प्रदेशमा हस्तान्तरण भएर आएका करिब आठ सय सहकारीहरूको परिचालन, अनुगमन र नियमन हुने जानकारी दिए । 

स्थानीय तहबाट मधेस प्रदेश सरकार मातहत हस्तान्तरण भई आएका चार वटा अस्पतालहरू सर्लाहीको धनकौल, पर्साको पोखरिया, सप्तरीको भारदह, धनुषाको डुमरिया अहिले सञ्चालन हुने अन्तिम तयारीमा रहेको पनि मुख्यमन्त्री सिंहले बताए । 

विभिन्न स्वास्थ्य संस्थामा पठाउन चार सयभन्दा बढी दरबन्दी सिर्जना भएको भन्दै उनले स्वास्थ्य संस्थाका लागि थप विषयगत दरबन्दी सिर्जना तथा स्रोत सुनिश्चितताको कार्य अगाडि बढाइएको जानकारी दिए ।  

लागु औषध दुर्व्यसनमुक्त युवा अभियानका लागि प्रदेश सरकारले अवधारणा पत्र तयार गरी कार्यविधि तर्जुमा गरिरहेको भन्दै यस अवधिमा महोत्तरीको गौशालामा सुधार केन्द्र बनाइएको सिंहले जानकारी दिए । 

मुख्यमन्त्री सिंहले सशर्त अनुदान वितरणमा देखिएका बेथिति नियन्त्रण गर्न सरकारले प्रत्येक महानगरपालिकालाई रु १ करोड ७५ लाख, प्रत्येक उपमहानगरपालिकालाई रु १ करोड २५ लाख, प्रत्येक नगरपालिकालाई रु ९५ लाख र प्रत्येक गाउँपालिकालाई रु ८० लाखका दरले सशर्त अनुदान समयमै प्रदान गर्ने व्यवस्था मिलाएको उल्लेख गरे । 

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत विश्व बैंकको सहयोगमा धनुषाको हंसपुर नगरपालिका र महोत्तरीको सोनमा गाउँपालिकालाई पक्की सडक सञ्जालसँग जोड्न २५ किलोमिटर प्रादेशिक कालोपत्रे सडकका लागि बोलपत्र आह्वान भएको पनि मुख्यमन्त्री सिंहले बताए । 

साथै सार्वजनिक तथा निजी क्षेत्रबिचको साझेदारीका लागि समेत कार्यविधि बनिसकेको मुख्यमन्त्री सिंहले आफ्नो सयको दिनको प्रगति प्रतिवेदनमा समेटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप