बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लेखराजलाई सँगै राखेर शंकर पोखरेलले भने– माओवादी द्वन्द्वकालमा आतङ्क सिर्जना गरियो

बुधबार, ०९ असोज २०८१, १४ : १०
बुधबार, ०९ असोज २०८१

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्वकालमा हिंसा मात्रै नभएर आतङ्क मच्चाउने कार्य भएको जिकिर गरेका छन् । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

माओवादीका पूर्वस्थायी कमिटी सदस्य समेत रहेका एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई सँगै राखेर आयोजना गरिएको पत्रकार सम्मेलनमा पोखरेलले भने– ‘माओवादी द्वन्द्वकालमा हिंसा मात्रै भएन । यथार्थ रूपमा भन्नुहुन्छ भने, त्यो समयमा राष्ट्रमा आतङ्क सिर्जना गर्ने खालको काम भयो र दिनदहाडै बसमाथि आगजनी गर्ने काम भयो । राति घरमा सुतेको अवस्थामा एकै घरको ११/११ जनाको हत्या गर्ने काम भयो । यो हिंसा मात्रै होइन, आतङ्क पनि हो ।’

महासचिव पोखरेलले माओवादीलाई आतंककारीको समेत संज्ञा दिइरहँदा लेखराज भटट् भने आँखा नै बन्द गरेर सुनिरहे । त्यसताका लेखराज नै अधिकांश युद्ध मोर्चाको नेतृत्व गरेका थिए । नेकपा फुटेपछि भटट् एमालेमा लागेका हुन् ।

महासचिव पोखरेलले माओवादी द्वन्द्वकालमा उत्पन्न हिंसाको आलोचना गर्दा त्यसलाई संसदीय हो भनेर संसदमा रोक्ने काम भएको बताए । नयाँ सरकार गठनपछि सरकारबाट बाहिर जानुपरेका कारणले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छटपटीले मुलुकको राजनीतिमा तनाव पार्ने काम गरेको बताउँदै उनले सरकार गठनपछि प्रचण्डले संसदमा दिएको अभिव्यक्ति असंसदीय र अराजनीतिक अभिव्यक्ति रहेको पनि जिकिर गरे ।

यसैबिच महासचिव पोखरेल राष्ट्र स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति पनि आक्रमक रूपमा प्रस्तुत भए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले क्लिन चिट नपाएको पनि उनले दाबी गरे । उनले भने, ‘क्लीन चिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अनुसन्धानको प्रक्रिया प्रवेश गरी सफाइ प्राप्त गरिन्छ । हल्ला गरेको भरमा क्लीन चिट प्राप्त गरिँदैन । क्लिन चिट भनेको अदालतको माध्यमबाट सफाइ प्राप्त गर्नु हो या अनुसन्धानमा निर्दोष ठहरिएको मान्नुपर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप