बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोबाइल फोनको प्रयोगले हुँदैन क्यान्सर

बुधबार, ०९ असोज २०८१, १३ : ३५
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । मोबाइल फोनको प्रयोगले क्यान्सर निम्त्याउँछ भन्ने डर र भ्रम प्रायः सबैतिर छ । तर के यो वैज्ञानिक रूपमा सत्य हो ? हालै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले यसबारे एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । यो प्रतिवेदनमा मोबाइल फोन र क्यान्सरबिचको सम्बन्ध जान्नका लागि विश्वभर गरिएका धेरै अध्ययनहरूको समीक्षा गरिएको छ । प्रतिवेदनका अनुसार

–मोबाइल फोन प्रयोग गर्दा मस्तिष्कको क्यान्सर हुँदैन ।

–मोबाइल फोनको प्रयोगले टाउको, घाँटी वा शरीरको अन्य कुनै भागमा क्यान्सर लाग्दैन ।

– क्यान्सरको मोबाइल फोनसँग प्रत्यक्ष सम्बन्ध छैन ।  

–पहिले नै क्यान्सर वा ट्युमर छ भने पनि यसको प्रयोगले कुनै फरक पार्दैन ।

समीक्षा अस्ट्रेलियाको विकिरण संरक्षण र आणविक सुरक्षा एजेन्सीको नेतृत्वमा तयार पारिएको थियो । यसमा विश्वभरबाट ५ हजार भन्दा धेरै अध्ययनहरू समावेश गरिएका थिए । यी अध्ययनहरूलाई कयौँ वैज्ञानिक पक्षहरूमा मूल्याङ्कन गरियो, काँटछाँट गरियो अनि अन्तिम वर्षमा सन् १९९४ देखि सन् २०२२ को बिचमा सार्वजनिक भएका सबैभन्दा सटिक ६३ वटा अध्ययनको मात्रै समीक्षा गरियो । यी सबै अध्ययनको विस्तृत अध्ययन र समीक्षापछि वैज्ञानिकहरू मोबाइल फोनको प्रयोगले कुनै पनि प्रकारको क्यान्सर वा ट्युमर नहुने निष्कर्षमा पुगेका छन् ।

विश्वभर नै विज्ञानले प्रमाणीत गरेको जसरी मोबाइल धेरै चलाउँदा क्यान्सर हुने मिथकहरूलाई सत्यको रूपमा प्रस्तुत गरिएको थियो ।  मोबाइलबाट निस्कने रेडियो तरङ्गले मस्तिष्क, टाउको र घाँटीको क्यान्सर गराउँछ भन्ने ठुलो भ्रम पनि व्याप्त थियो । मोबाइल फोनले क्यान्सर नलाग्ने कुरा पक्का भयो । तर के यसको मतलब मोबाइल फोनको प्रयोग एकदमै सुरक्षित छ ? भन्ने हो त ? हामीले जति चाह्यो त्यति बेरसम्म मोबाइल चलाउन सक्छौँ ? यस्तो बिलकुल होइन । लामो समयसम्म मोबाइल फोन प्रयोग गर्दाका धेरै बेफाइदाहरू छन् । यसले एकाग्रतामा कमी ल्याउँछ । ध्यान दिन सक्ने क्षमता घट्छ अनि आँखाको स्वास्थ्यमा पनि नराम्रो असर गर्छ ।

त्यसो भए मोबाइल चलाउँदाका  बेफाइदाहरू के के छन् ?

विश्वको पहिलो स्मार्टफोन सन् १९९४ मा बजारमा आयो र केही वर्षभित्रै यो मानिसको जीवनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा बन्यो । स्टेटिष्टामा प्रकाशित एक रिपोर्टअनुसार विश्वको लगभग ७० प्रतिशत जनसङ्ख्या स्मार्टफोन प्रयोग गर्छ । एक क्षण स्मार्टफोन बिना बस्नु पर्‍यो भने मानिसहरू असहाय महसुस गर्न थाल्छन् । हरेक उमेर समूहका मानिसमा मोबाइल फोनको प्रयोग तीव्र गतिमा बढिरहेको छ । फलस्वरूप, यसको साइड इफेक्ट पनि देखिन थालेको छ । मोबाइल चलाउँदाका  बेफाइदाहरू तल हेर्नुस्:

निद्रा प्रभावित हुन्छ

अमेरिकन नेशनल स्लिप फाउन्डेसनले गरेको एक अध्ययन अनुसार मोबाइल फोन वा अन्य ग्याजेटको प्रयोगले निद्रामा असर गर्छ । राति अबेरसम्म मोबाइल फोन र ल्यापटपबाट निस्कने प्रकाशसामु बस्दा हाम्रो शरीरले निद्राका लागि आवश्यक हर्माेन मेलाटोनिन निकाल्न सक्दैन वा कम हुन्छ । यस्तो अवस्थामा निद्रा लागे पनि गहिरो हुँदैन । यसले संज्ञानात्मक फङ्क्शन बिग्रन्छ, प्रतिरक्षा कमजोर हुन्छ र हृदयसम्बन्धी रोगको जोखिम बढ्छ ।

आँखालाई तनाव

लामो समयसम्म मोबाइल फोन प्रयोग गर्दा आँखामा तनाव बढ्न सक्छ । मोबाइल फोनमा देखिने स–साना अक्षर र स्क्रिनको उज्यालोले आँखालाई बढी मेहनत गर्न बाध्य बनाउँछ । यसले आँखा सुख्खा हुने, आँखा धमिलो हुने र टाउको दुख्ने जस्ता समस्या निम्त्याउन सक्छ र आँखाको ज्योतिलाई असर गर्न सक्छ ।

तनाव स्तर बढ्छ

मोबाइल फोनको स्क्रिनमा लगातार हेर्दा तनावको स्तर बढ्न सक्छ । यसले चिन्ता बढाउन सक्छ । साथै, आँखा र घाँटीको मांसपेशीहरूमा तनाव बढ्न सक्छ ।

लत र निर्भरता बढ्छ

मानिसहरूमा मोबाइलको लत बसेको छ । कतिपय त मोबाइल फोन बिना शौचालय नै जाँदैनन् । यसलाई ‘नोमोफोबिया’ पनि भनिन्छ । यसको अर्थ हो साथमा मोबाइल फोन भएन भने मान्छे आत्तिन्छ । यसबाहेक हरेक साना–ठुला कामका लागि मानिसहरू मोबाइलमा निर्भर हुँदै गएका छन् । जसका कारण परिश्रम गर्ने बानीको अन्त्य हुन थालेको छ ।

एकाग्र रहन सक्ने अवधि घटिरहेको छ

मोबाइल फोनको अत्यधिक प्रयोगका कारण मानिसको ध्यान लगाउने, एकाग्र रहन सक्ने क्षमता घट्दै गएको छ । ध्यान वा एकाग्रताको अर्थ विचलित नभई एउटै काममा कति समयसम्म निरन्तर फोकस गर्न सकिन्छ भन्ने हो । युनिभर्सिटी अफ क्यालिफोर्निया, इर्विनले गरेको अध्ययनका अनुसार विगत २० वर्षमा मानिसको ध्यान लगाउन सक्ने औसत अवधि २ दशमलव ५ मिनेटबाट घटेर ४७ सेकेन्डमा झरेको छ ।

फोकसमा कमी

एक हिसाबले सारा संसार स्मार्टफोनमा कैद भएको छ । मानिसहरू हरेक मिनेट एउटा एपबाट अर्को एपमा घुमिरहन्छन् । हरेक ३०/३० सेकेन्डमा रिलहरू स्क्रोल गरिरहेका हुन्छन् । यसको असर यस्तो भइरहेको छ कि मानिसमा एकाग्रता गुम्दै गएको छ ।

धैर्यता घट्दै गएको छ

अहिलेको जमानामा मोबाइल फोन कुनै जादू भन्दा कम छैन । पहिले मानिसलाई कुनै शब्दको अर्थ थाहा नभएको खण्डमा लामो समयसम्म शब्दकोशमा अलमल भएर खोज्थे । मनपर्ने गीत बजाउनको लागि पहिले क्यासेट खोजेर टेप रेकर्डर रिवाइन्ड गरेर गीत बजाउनु पर्थ्यो ।  तर अब हरेक कुरा मोबाइलमै छ । केही सेकेन्डमा सबै काम भइसक्छ । यस्तोमा केही कुरा पर्खिनु पर्‍यो वा समय लाग्ने भयो भने मानिसहरू धैर्य गर्न नसक्ने बन्दैछन् ।

बालबालिकाको विकासमा असर

विशेषगरी मोबाइल फोनको प्रयोगले साना बालबालिकाको मानसिक र शारीरिक विकासमा नकारात्मक असर पारिरहेको छ । बालबालिका संवेदनशील हुन्छन् । लामो समय स्क्रिन हेरेर बसिरहँदा तिनीहरूको संज्ञानात्मक र भावनात्मक विकासमा बाधा पुर्‍याइरहेको छ । यसले कुनै पनि कुरामा धेरैबेर ध्यान दिन नसक्ने, भाषासम्बन्धी सिकाइमा ढिलाइ हुने र व्यवहारसँग सम्बन्धित समस्याहरू निम्तिरहेको छ । बाहिर मैदानमा खेल्नुको सट्टा मनोरञ्जनका लागि बालबालिका स्मार्टफोनमा गेम खेलिरहन्छन् वा भिडियो हेरिरहन्छन् । यसले उनीहरूको शारीरिक वृद्धिमा असर गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप