बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
विकास निर्माण

'कुलेखानी–सिस्नेरी–काठमाडौँ' सडकमा प्रदेश सरकार र स्थानीय तह आमनेसामने

बुधबार, ०९ असोज २०८१, १२ : ३२
बुधबार, ०९ असोज २०८१

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–सिस्नेरी–काठमाडौँ सडकमा बागमती प्रदेश सरकार र स्थानीय तह आमनेसामने भएका छन् । प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडकमा स्थानीय तहले आफ्ना निर्णय लागू गर्न खोज्दा समस्या देखिएको हो ।

उक्त सडक खण्डको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र काठमाडौँको दक्षिणकाली नगरपालिका तर्फ केही भाग मात्र सडक निर्माण गर्न बाँकी रहेको छ । सोही सडक निर्माणको विषयमा प्रदेश सरकार र स्थानीय तह बिच समस्या देखिएको हो । सोही सडकको विषयमा सोमबार दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले एक पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौँ र मकवानपुरलाई पठाए । उनले उक्त सडक खण्डको दक्षिणकाली तर्फको सडक कालोपत्रे गर्न भन्दै १२ दिन सडक बन्द गर्न र सोही अनुसार सवारी साधन संचालनमा रोक लगाउन तथा डाइभर्सन प्रयोग गर्ने व्यवस्था गर्न पत्राचार गरेका थिए ।

असोज ७ मात्र पत्राचार गरिए अनुसार प्रशासन कार्यालयहरूले सो क्षेत्रका प्रहरी परिचालन पनि गरे । असोज १९ सम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको भएपनि असोज ९ मा उक्त सडक बन्द नरहेको सूचना प्राप्त भएको छ । प्रशासनले प्रहरी मार्फत उक्त सडक बन्द नरहेको सूचना प्रवाह गरेको हो ।

मेयर बस्नेतले प्रदेश सरकारसँग समन्वय नै नगरी सडक बन्द गर्न प्रशासनलाई पत्राचार गरेका थिए । सो खबर प्राप्त हुनासाथ प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक बन्द नगर्न दक्षिणकाली नगरपालिकालाई आग्रह ग¥यो । सो पश्चात् १२ दिन बन्द गर्ने निर्णय गरिएको उक्त सडक पुनः सुचारु रहेको सूचना प्रवाह भएको हो ।

मन्त्रालयले सडक निर्माणको ठेक्का लगाउने कार्यालय प्रदेश पूर्वाधार विकास विशेष आयोजना हेटौँडालाई नगरपालिकामा नै पठाएर आवश्यक विषय समन्वय गर्न निर्देशन गरेको मन्त्रालयका सचिव अमृत श्रेष्ठले बताए । उनका अनुसार ठेक्का लगाउने कार्यालय र मन्त्रालयलाई नै नसोधी हचुवामा नागरिकलाई दुःख दिने गरी स्थानीय तहले सडक बन्द गर्न प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

‘हामीले लगानी गरेर बनाइरहेको बाटोको अवस्था स्थानीय तहलाई कसरी थाहा हुन्छ । कुन काम कहिले गर्ने, कामको प्रगति के छ ? भन्ने बुझ्न हाम्रो प्राविधिक नै खटिएको छ । प्रदेश सरकारसँग समन्वयन नै नगरी कसरी सडक बन्द हुन्छ ? सडक बन्द छैन ।’ उनले भने, ‘दक्षिणकाली नगरपालिकाले भने झैँ सडकमा पिच गर्ने अवस्था नै छैन । वर्षा भइरहेको बेलमा कसरी पिच गर्न सकिन्छ । ठेक्का लगाउने निकाय नै सो बाटोमा निरन्तर निगरानीमा छ । ठेकेदारलाई हामीले निरन्तर खबरदारी गरेका छौँ । सडक पिच गर्ने विषय ठेक्का लगाउने निकायलाई थाहा हुन्छ की स्थानीय तहलाई ? प्रदेशको सडक बन्द गर्ने अधिकार स्थानीयलाई हुन्न । हामीले भनिसकेका छौँ ।’

उक्त सडक बन्द गरेको खबर पाए लगत्तै प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना हेटौँडाका प्रमुख देवनारायण यादव फिल्डमा पुगे । स्थानीय तहसँग समन्वय गर्न पुगेका उनले मेयर बस्नेत भेट्न पाएनन् । वडा अध्यक्षसँग छलफल गरेर उनी काठमाडौँ पुगेका छन् । सडक बन्द गर्ने अवस्था नरहेको र निर्माण कार्य सञ्चालनको विषयमा सामान्य छलफल भएको उनले बताए ।

उनका अनुसार स्थानीय तहको योजना अनुसार काठमाडौँ तर्फको ४ किलोमिटर सडकमा पिच गर्ने गरी सडक बन्द भनिएको हो । तर, सो सडकमा अहिलेको मौसममा पिच गर्ने अवस्था नरहेको उनले बताए । सो सँगै मकवानपुर र काठमाडौँको सिमानाको २ किलोमिटर सडक पनि स्तरोन्नति गर्नुपर्ने भएकाले तत्काल सडक बन्दको योजना नरहेको उनले बताए । मौसम अनुकूल भएपछि सडक बन्द नगरी काम गर्ने योजना रहेको उनको भनाई छ ।

प्रदेश सरकारले हालै उक्त सडकलाई प्रादेशिक सडक गुरु योजनामा समावेश गरी ‘राजधानी मार्ग’ नामकरण समेत गरेको छ । प्रदेश सरकारले सो सडकलाई विगत ३ वर्ष देखि बजेट विनियोजन गरी स्तरोन्नती सहित मर्मत कार्य गर्दै आएको छ । सो सडक खण्ड अन्तर्गत मकवानपुर तर्फ इन्द्रसरोवर गाउँपालिका तर्फ १२ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको छ भने काठमाडौँ तर्फको दक्षिणकाली नगरपालिका तर्फ ७.७ किलोमिटर मात्र सडक निर्माण गर्न बाँकी रहेको छ ।

दक्षिणकाली तर्फ ४ किलोमिटर सडकको पूर्वाधार निर्माणको सबै काम सकेर कालोपत्रे गर्न मात्र बाँकी रहेको छ भने मकवानपुरको सिमाना तर्फको उकालो बाटोमा पहिरो हटाउने, बेस निर्माण गर्ने लगायतको काम बाँकी रहेको छ । आगामी कात्तिकमा निर्माण कार्य सम्पन्न गरी सक्नु पर्ने उक्त सडक निर्माणका लागि प्रदेश सरकारले ३१ करोड रुपैयाँमा रौताराम सागर जेभीसंग ठेक्का सम्झौता गरेको थियो । उक्त सडक निर्माण कार्य २ वर्षमा सम्पन्न गर्ने सम्झौता भएपनि निर्माण कम्पनीका कारण २ पटक म्याद थप भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप