शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
केन्द्रीय बैंक

‘केन्द्रीय बैंकको भूमिका फेरिएको छ’

बुधबार, ०९ असोज २०८१, १२ : ४५
बुधबार, ०९ असोज २०८१

रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले बैंकको भूमिका फेरिन थालेको बताएका छन् । २१ औँ शताब्दीको भूराजनीति, वित्तीय संकट, महामारी, विश्वव्यापी मूल्यवृद्धि जस्ता कारणले केन्द्रीय बैंकको भूमिका फेरिएको गभर्नर दासको भनाइ छ ।

यसले गर्दा केन्द्रीय बैंकलाई समष्टिगत आर्थिक स्थिरता कायम गर्न काम गर्नुपर्ने जिम्मेवारी थपिएको उनको भनाइ छ । केन्द्रीय बैंकहरूले अर्थतन्त्र र वित्तीय प्रणालीलाई विश्वव्यापी संकटबाट जोगाउने काम गरेको दास बताउँछन् । नेपाल राष्ट्र बैंकद्वारा आयोजित ‘हिमालय शमशेर स्मृति व्याख्यान कार्यक्रम’मा दासले राखेको मन्तव्य : 

नेपाल राष्ट्र बैंकद्वारा आयोजित ‘हिमालय शमशेर स्मृति व्याख्यान कार्यक्रम’ मा आमन्त्रित हुन पाउँदा म हर्षित छु । यसलाई मैले एउटा अवसरको रूपमा लिएको छु । सन् १९५६ देखि १९६१ सम्म नेपाल राष्ट्र बैंकका प्रथम गभर्नरको रूपमा रहनुभएका हिमालय शमशेर राणाको सम्मानमा यो प्रवचन शृङ्खला सुरु गरेकोमा नेपाल राष्ट्र बैंकको प्रशंसा गर्दछु ।

उहाँले नेपालको मौद्रिक तथा वित्तीय प्रणालीको विकासमा ठुलो योगदान गर्नुभएको छ  । उहाँको प्रयासले नेपालका धेरै प्रमुख वित्तीय संस्थाहरूको जग बसाल्यो र देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍यायो  ।

नेपाल र भारतबिच लामो समयदेखिको सुमधुर सम्बन्धको इतिहास छ । यो सम्बन्ध दुई देशबिचको मात्र होइन, यो जनता–जनताबिचको सम्बन्ध पनि हो । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबिचमा पनि आपसी सहयोगमा आधारित घनिष्ठ सम्बन्ध छ ।

केन्द्रीय बैंकहरूले परम्परागत रूपमा समष्टि आर्थिक स्थायित्व र वित्तीय स्थिरताको संरक्षकको रूपमा काम गर्दै आएका छन्  । हालैका वर्षहरूमा केन्द्रीय बैंकहरूले अर्थतन्त्र र वित्तीय प्रणालीलाई विश्वव्यापी संकटबाट जोगाउने काम समेत गरेका थिए  । विश्वव्यापी अशान्ति र अनिश्चितताको यो असाधारण अवस्था केन्द्रीय बैंकका लागि एउटा परीक्षा समेत थियो  । कोभिड–१९ महामारीबाट क्षतिग्रस्त अर्थतन्त्रलाई पुनर्जीवित गर्न र द्रुत मुद्रास्फीतिविरुद्ध लड्न केन्द्रीय बैंकले आफ्नो परम्परागत केन्द्रीय बैंकिङको गियर परिवर्तन गर्नुपर्‍यो  ।

सन् १९७० र १९८० को दशकको समष्टिगत अर्थशास्त्रको क्षेत्रमा ‘नियम कि विवेक’ भन्ने बहसले चर्चा पायो । यो बहसपछि नीति निर्माणमा ‘धेरै नियम र सीमित विवेक’मा सहमति देखियो ।

यो अवधिमा केन्द्रीय बैंकिङ सिद्धान्त र अभ्यासहरूमाथि धेरै मानकबाट बहस गरियो  । अहिलेको भूराजनीतिक द्वन्द्व र विश्वव्यापी भू–आर्थिक खण्डीकरण हावी भएको यो चुनौतीपूर्ण अवधिमा हामी अहिले पनि सङ्क्रमणको अवस्थामा छौँ । २१औँ शताब्दीका केन्द्रीय बैंकहरूले विगतका सङ्कटबाट पाठ सिक्ने र आगामी चुनौतीहरूका लागि तयारी गर्नु उपयुक्त हुनेछ  । यही प्रसङ्गमा ‘२१ औँ शताब्दीमा केन्द्रीय बैंकिङ : बदलिँदो प्रतिमान’ विषयमा म बोल्न गइरहेको छु  ।

मैले मेरो सम्बोधनलाई निम्न तरिकाले संरचित गरेको छु  । पहिलो, म गत शताब्दीको अन्त्यमा केन्द्रीय बैंकिङको स्थापित प्रतिमानमा बोल्न प्रस्ताव गर्दछु । त्यसपछि म २१औँ शताब्दीको संकटका अनुभवहरूबाट पाठ सिक्दै, भारतीय अर्थतन्त्रलाई पछिल्ला केही वर्षहरूमा बलियो बन्न मद्दत गर्ने नीति निर्माणमा रिजर्भ बैंकको दृष्टिकोणको बारेमा संक्षिप्त टिप्पणी गर्नेछु  ।

  • २०औँ शताब्दीमा स्थापित प्रतिमान

२०औँ शताब्दीको अन्त्यमा केन्द्रीय बैंकिङको सिद्धान्त र अभ्यास निश्चित र मूल सिद्धान्तहरूमा आधारित थिए । यी सिद्धान्तहरूमध्ये पहिलो मूल्यमा स्थिरता कायम गर्नु केन्द्रीय बैंकको प्राथमिक जिम्मेवारी हो । यो सिद्धान्त १९७० को ‘हाइपर इन्फ्लेसन’ को अवस्थाबाट विकसित भएको थियो । सन् १९९० को दशकमा विकसित तथा उदीयमान दुवै अर्थतन्त्रमा दुवैमा यसले थप प्रधानता पायो ।

सन् १९७० र १९८० को दशकको समष्टिगत अर्थशास्त्रको क्षेत्रमा ‘नियम कि विवेक’ भन्ने बहसले चर्चा पायो । यो बहसपछि नीति निर्माणमा ‘धेरै नियम र सीमित विवेक’मा सहमति देखियो । यसअन्तर्गत मुद्रास्फीति लक्ष्यलाई नियममा आधारित बनाइयो भने नीति निर्माणमा केही लचकता अपनाउन थालियो ।

अर्को मूल सिद्धान्त केन्द्रीय बैंकको स्वतन्त्रताको बारेमा थियो । यसलाई मूल्य र आर्थिक स्थायित्वका लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण मानिन्छ । निर्वाचित जनप्रतिनिधिमूलक संस्था (सरकार) ले केन्द्रीय बैंकलाई लक्ष्य दिन्थ्यो । तर तोकिएको लक्ष्य प्राप्त गर्नको लागि कुन उपकरण प्रयोग गर्ने भन्ने विषयमा केन्द्रीय बैंक स्वतन्त्र थियो । यो स्वतन्त्रताले मौद्रिक नीति निर्णय प्रक्रियामा जवाफदेहिता र पारदर्शिताको सुनिश्चितता समेत प्रदान गरेको थियो  ।

  • २१ औँ शताब्दी को विकसित प्रतिमान

वास्तवमा २१ औँ शताब्दीको पहिलो एक चौथाइ अवधिको घटनाक्रमले केन्द्रीय बैंकहरूका लागि महत्त्वपूर्ण पाठ सिकाएको छ  । किनकि यसले २१ औँ शताब्दीको स्थापित प्रतिमानमा केही परिवर्तनहरू ल्याएको छ । पहिलो, अब मूल्य स्थिरता र वित्तीय स्थिरताबिचको अन्तरसम्बन्धको पहिचान राम्रोसँग भएको छ । पछिल्लो अनुभवको मुख्य पाठ भनेको मूल्य र वित्तीय स्थिरतालाई छुट्टाछुट्टै रूपबाट हेर्नबाट जोगिन आवश्यक छ भन्ने हो  ।  

मूल्यस्तर र वित्तीय स्थिरताको सम्बन्ध दुई किसिमले सञ्चालन हुन्छ । लामो समयसम्म न्यून तथा स्थिर मुद्रास्फीतिको अवस्थामा केन्द्रीय बैंकहरू सन्तुष्ट बनेर बस्नु नै वित्तीय संकटको बीउ भएको १९९० र २००० को दशकको ग्रेट मोडेरेसन युगले देखाएको छ । दोस्रो, उच्च मुद्रास्फीतिको अवधिमा मौद्रिक नीतिले गरिएको उच्च कडाइले पनि वित्तीय प्रणालीलाई जोखिममै पारेको छ । यदि अर्थतन्त्रको जोखिम ब्याजदरको होइन भने यसले वित्तीय स्थिरतालाई खतरामा पार्न सक्छ । २०२३ को मार्चमा हामीले केही उन्नत अर्थतन्त्रहरूमा यस्तै तनावपूर्ण परिस्थितिहरूको सामना गर्नुपरेको अवस्था देख्यौँ ।

यो स्पष्ट छ कि वित्तीय स्थायित्व कायम गर्न प्रयोग गरिने उपकरणहरूले बैंक, गैरबैंकिङ वित्तीय कम्पनी र बजारको प्रभावकारी नियमन र सुपरिवेक्षण एवं वित्तीय स्थायित्वका उपायले मौद्रिक प्रसारण बढाउन र मूल्य स्थिरतालाई मद्दत गर्न सक्छ । अर्कोतर्फ, असाधारण मौद्रिक विस्तारमार्फत् वित्तीय स्थायित्वका उपायहरू यदि समयमै सच्याइएन भने मूल्य स्थिरतालाई जोखिममा पार्न सक्छ । यसैले, यो स्पष्ट छ कि मूल्य स्थिरता र वित्तीय स्थिरता बिचको सम्बन्ध दुवै दिशामा चल्छ । यसको प्रभाव हामीले गर्ने लिने नीतिहरूमा भर पर्छ ।

विगतमा केन्द्रीय बैंकरहरू विश्वास गर्थे कि तिनीहरूको सञ्चार रहस्यमा ढाकिएको हुन्छ । सकेसम्म कम बोल्न, गोप्य रूपमा बोल्ने भन्ने समय अहिले विगत भइसकेको छ । अब, प्रभावकारी सञ्चारको माध्यमबाट अपेक्षाहरू व्यवस्थापन मौद्रिक नीति टूलकिटको एक महत्त्वपूर्ण उपकरण बनेको छ ।

दोस्रो, केन्द्रीय बैंकिङको २०औँ शताब्दीको परम्परागत एकल उद्देश्य (मूल्य स्थिरता) र एकल साधन (अल्पकालीन ब्याज दर) को सन्दर्भमा थियो । आज, केन्द्रीय बैंकहरूसँग समग्र समष्टि आर्थिक स्थिरताको फराकिलो जनादेश छ जसमा मूल्य स्थिरता, दिगो वृद्धि र वित्तीय स्थिरता समावेश छ । कहिलेकाहीँ, मूल्य स्थिरता र वित्तीय स्थिरताबिच द्वन्द्व पनि हुन सक्छ जुन हालै केही उन्नत अर्थतन्त्रहरूले अनुभव गरेको छ जहाँ कडा मौद्रिक नीतिले बैंकिङ प्रणालीको स्थिरतामा चिन्ता प्रकट गर्छ । यो अवस्थामा मूल्य स्थिरता र वृद्धि बिचको ट्रेडअफ देखा पर्दछ । जब मूल्य स्थिरताको खोजीमा उच्च आर्थिक वृद्धि परित्याग गर्नुपर्ने हुन सक्छ । तसर्थ, यस्तो ट्रेडअफ कम गर्न र अर्थतन्त्रको लागि राम्रो नतिजा प्राप्त गर्न केन्द्रीय बैंकहरूले आफ्ना सबै प्रकारका उपकरण जस्तै मौद्रिक नीति, म्याक्रोप्रुडेन्सियल रेगुलेसन र माइक्रोप्रुडेन्सियल सुपरिवेक्षणलाई उचित रूपमा प्रयोग गर्नु महत्त्वपूर्ण छ  ।

यी सबै उद्देश्यहरूलाई उत्कृष्ट रूपमा पूरा गर्न केन्द्रीय बैंकहरूले आफ्नो उपकरणहरूलाई धेरै परिष्कृत गरेका छन् । परम्परागत पोलिसी इन्स्ट्रुमेन्टमा अतिरिक्त, केन्द्रीय बैंकहरूसँग अपरम्परागत उपकरणेको ठुलो टुलबक्स छ । यसमा ऋणात्मक ब्याजदर, आवधिक ऋण सुविधा, सम्पत्ति खरिद कार्यक्रम र फर्वार्ड निर्देशन समावेश छ । केन्द्रीय बैंकहरू प्रणालीगत स्थिरता कायम गर्न सक्रिय म्याक्रोप्रुडेन्सियल उपकरणको समेत प्रयोग गर्न सक्छन् ।

तेस्रो, केन्द्रीय बैंक सञ्चारले २१ औँ शताब्दीमा एक महत्त्वपूर्ण नीति उपकरणको रूपमा प्रमुखता प्राप्त भएको छ । विगतमा केन्द्रीय बैंकरहरू विश्वास गर्थे कि तिनीहरूको सञ्चार रहस्यमा ढाकिएको हुन्छ । सकेसम्म कम बोल्न, गोप्य रूपमा बोल्ने भन्ने समय अहिले विगत भइसकेको छ । अब, प्रभावकारी सञ्चारको माध्यमबाट अपेक्षाहरू व्यवस्थापन मौद्रिक नीति टूलकिटको एक महत्त्वपूर्ण उपकरण बनेको छ । स्पष्ट र प्रभावकारी सञ्चार र पारदर्शिताले मुद्रास्फीति लक्ष्यीकरण फ्रेमवर्कको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

चौथो, पछिल्लो अनुभवले राम्रो आर्थिक परिणामहरूको लागि मौद्रिक वित्तीय समन्वयको महत्त्वलाई जोड दिएको छ । महामारीको समयमा केन्द्रीय बैंकहरूले अभूतपूर्व संकटको सामना गर्न सरकारसँग नजिक रहेर काम गरे । जब केन्द्रीय बैंकहरू धेरै दशकदेखि उच्च मुद्रास्फीतिविरुद्ध लडिरहेका थिए, सरकारले मुद्रास्फीतिको दबाब कम गर्न आपूर्ति पक्षमा उपायहरू अवलम्बन गरे । फलस्वरूप, मुद्रास्फीति कम गर्न आवश्यक उत्पादन बलिदान न्यून भयो ।

पाँचौँ, उदीयमान बजार अर्थतन्त्र (ईएमई) ले अघिल्लो पनि समयभन्दा धेरै लचिलोपन प्रदर्शन गरेका छन् । २० औँ शताब्दीमा देखिएको ईएमई संकटका सबै परम्परागत चालकहरू पछिल्ला केही वर्षहरूमा उपस्थित थिए । 

यी ड्राइभरहरूमध्ये विश्वव्यापी मन्दी, उच्च मुद्रास्फीति र विकसित मुलुकमा सामानान्तर रूपमा देखिएको उच्च ब्याज दर, बलियो डलर, बैंकहरूको असफलता र त्यससँग सम्बन्धित सङ्क्रमण जोखिम, वस्तुको मूल्यमा उच्च वृद्धि तथा उदीयमान अर्थतन्त्रबाट पुँजी पलायन लगायत छन् ।

तर, उदीयमान अर्थतन्त्रहरूले विगतको आफ्नो अनुभवबाट सिकेका छन् र यस पटक राम्रोसँग खेलेका छन् । बारम्बार आउने नयाँ चुनौतीहरूको सामना गर्दा ती मुलुकहरूको कति लचिलो छन् भन्ने हुनेछ  । २१ औँ शताब्दीको बाँकी समयको लागि केन्द्रीय बैंकहरूले तयारी गर्दा विगतबाट केही पाठहरू सिक्न सकिन्छ  । सबैभन्दा महत्त्वपूर्ण पाठ के हो भने आजको अनिश्चित संसारमा विश्वव्यापी प्रभावहरू विरुद्धको सबैभन्दा राम्रो बफर भनेकै आफ्ना आधारभूत पक्षहरूलाई बलियो बनाउनु हो । ती आधारभूत पक्षहरूमा मुद्रास्फीतिको लक्ष्यप्रति प्रतिबद्धता, रिजर्भको रूपमा बफरहरू कायम गर्ने कार्य र वित्तीय क्षेत्रका नीतिमा विवेकपूर्ण र अग्रगामी दृष्टिकोण अपनाउने विषयहरू समावेश छन् । यस दृष्टिकोणले वित्तीय व्यवस्थापनमा विवेकशील ढंगले उदीयमान अर्थतन्त्रको लचकता बढाउनमा मद्दत पुग्छ ।

  • भारतीय सन्दर्भ

अब म भारतीय सन्दर्भमा फर्कन्छु । म भारतीय रिजर्भ बैंकको दृष्टिकोणका केही पक्षहरू उल्लेख गर्न चाहन्छु जसले हाम्रो लागि राम्रो काम गरेको छ । हामीले पछिल्ला केही वर्षहरूमा भारतीय अर्थतन्त्रलाई धेरैवटा धक्काहरूबाट जोगाउन मात्र होइन, संकटको अवस्थामा बलियो रूपमा उभिन समेत सक्षम बनाएका छौँ । भारतीय अर्थतन्त्रले आज मूलभूत समष्टिगत आर्थिक क्षेत्रका र बफरहरूमा महत्त्वपूर्ण प्रगतिको अवस्था देखाएको छ ।

सन् २०१६ मा हामीले लचिलो मुद्रास्फीति लक्ष्यीकरण (एफआईटी) फ्रेमवर्क कानुनमा सम्मिलित गर्‍यौँ । यसले मौद्रिक नीतिको उद्देश्यहरूबिचमा मूल्य स्थिरताको प्राथमिकता सर्तसहित स्थापित गर्‍यो ।

मौद्रिक नीतिको प्रयोग मूल्य स्थिरतामा सङ्कुचित हुने परम्परा विपरीत रिजर्भ बैंकको कार्यहरूको क्यानभास अहिले फराकिलो बनेको छ । आरबीआईका नीति मूल्यमा स्थायित्व कायम गर्नेमा मात्रै सीमित छैन बरु बैंकिङ तथा अन्य वित्तीय क्षेत्रसम्बद्ध निकाय, वित्तीय बजार र भुक्तानी प्रणालीको नियमन र सुपरिवेक्षकको रूपमा वित्तीय स्थायित्व कायम गर्ने वृहत् जिम्मेवारी समेत छ । यसले अर्थतन्त्रको समष्टिगत दृष्टिकोणलाई लिने तथा विभिन्न उद्देश्यमा संलग्न भएका सिनर्जी र ट्रेडअफहरूको कदर गर्नुहोस् र विभिन्न वित्तीय औजारको प्रयोग गरेर आफ्नो उपलब्धता बमोजिम उचित कार्यहरू गर्न समेत सघाएको छ ।

सन् २०१६ मा हामीले लचिलो मुद्रास्फीति लक्ष्यीकरण (एफआईटी) फ्रेमवर्क कानुनमा सम्मिलित गर्‍यौँ । यसले मौद्रिक नीतिको उद्देश्यहरूबिचमा मूल्य स्थिरताको प्राथमिकता सर्तसहित स्थापित गर्‍यो । अर्थात् यसले वृद्धिको उद्देश्यलाई ध्यानमा राख्दै मूल्य स्थिरता कायम राख्ने उद्देश्यलाई परिभाषित गरेको छ । एफआईटी फ्रेमवर्कले उद्देश्यहरूको अनुक्रमको बारेमा प्रष्टता सहित मल्टिपल इन्डिकेटर एप्रोचको सारलाई महत्त्व दिएको छ  । एफआईटीले परिस्थितिले माग गरेबमोजिम आर्थिक वृद्धिलाई सहयोग गर्ने गरी लचिलोपन प्रदर्शन गर्छ  । मूल्य स्थिरता र दिगो वृद्धिको पूर्वशर्त भनेकै वित्तीय स्थायित्व हो । त्यसैले आरबीआईको बृहत्तर म्यान्डेटको रूपमा यसलाई समावेश गरिएको छ । यही दृष्टिकोणले हामीलाई हालको अवधिमा धेरै चुनौतीहरूको प्रभावकारी सामना गर्न, मूल्य स्थिरता एवं आर्थिक वृद्धिलाई सहयोग गर्न र वित्तीय स्थायित्व कायम गर्न मद्दत गरेको छ ।

  • २१ औँ शताब्दीमा केन्द्रीय बैंकहरूको नयाँ चुनौती

अब म २१औँ शताब्दीमा केन्द्रीय बैंकिङ परिदृश्यमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने केही चुनौतीहरूबारे उल्लेख गर्न चाहन्छु । यसमा सबैभन्दा पहिलो र मुख्य विषयको रूपमा जलवायु परिवर्तन देखा परेको छ । यो विषय समयमै सम्बोधन गरिएन भने यो प्रणालीगत जोखिम निम्तिन सक्छ ।

तीव्र हुँदै गइरहेको र बारम्बार रूपमा दोहोरिइरहेको हावापानी र मौसम सम्बन्धी गम्भीर घटनाहरूले केन्द्रीय बैंकको मूल्य र वित्तीय स्थिरताको मूल उद्देश्यलाई परिवर्तन गर्न सक्छ । यो यसकारण कि यसले अकस्मात्को मूल्यको दबाब, पूर्वाधारमा क्षति, आर्थिक गतिविधिमा हानी र वित्तीय सन्तुलनमा तनाव उत्पन्न गर्न सक्छ जसले बैंक तथा अन्य ऋणदाताहरूको ब्यालेन्ससिट पनि असर गर्न सक्छ ।

हालैका वर्षहरूमा, जलवायु नीतिसम्बन्धी उपकरणहरूमध्ये नियामकीय नीतिको भूमिका बढ्दो छ । केन्द्रीय बैंकले सरकार र अन्य नियामकको प्रयासमा सहयोग प्रदान गर्न सक्छ भन्ने कुरालाई मान्यता दिँदै जलवायु परिवर्तनको सन्दर्भमा थप काम गर्न आवश्यक छ ।

२१ औँ शताब्दीमा केन्द्रीय बैंकहरूले यी सबै चुनौतीहरूको लागि तयार हुनुपर्छ । जबकि जलवायु परिवर्तन र भूराजनीतिले मुद्रास्फीतिमा पर्ने दबाब र विश्वव्यापी आर्थिक वृद्धि र व्यापारलाई सुस्त बनाउने ‘सप्लाई सक’को रूपमा काम गर्न सक्छ ।

दोस्रो, निरन्तर भइरहने भूराजनीतिक गडबडी र भूआर्थिक विभाजनले केन्द्रीय बैंकहरूका लागि चुनौतीपूर्ण चुनौतीहरू खडा गर्दै गएको छ  । विगत केही वर्षको अनुभवले देखाएको छ कि भूराजनीतिमा गतिशील परिवर्तन, आपूर्ति शृङ्खलामा अवरोध र व्यापार प्रविधि र पुँजी प्रवाहमा भएको ठुलो अवरोधहरू आगामी दिनमा समेत बारम्बार दोहोरिन सक्छन् । यी घटनाहरू आर्थिक संकटका नयाँ स्रोतहरू हुन् जुन विद्यमान समष्टि आर्थिक मोडेलमा राम्रोसँग समेटिन सक्दैन । केन्द्रीय बैंकहरूले यस्ता समस्याहरूबिच सजग रहनु र चाँडो, सही र सन्तुलित तरिकामा प्रतिक्रिया जनाउनु महत्त्वपूर्ण बनिसकेको छ ।

तेस्रो, प्रविधिले मानव जीवनको हरेक पक्षमा प्रवेश गरेको छ । यसले वित्तीय सेवा क्षेत्रमा परिवर्तन ल्याइरहेको छ । विगत एक दशकमा परम्परागत बैंकिङ प्रणालीमा अभूतपूर्व प्राविधिक परिवर्तन भएको छ  । कोभिड महामारी र अन्य संकटको समयमा, भारत र केही अन्य देशहरूले लक्षित ट्रान्सफर पेमेन्टको लागि डिजिटल वित्तीय पूर्वाधारको लाभ उठाउन सक्षम भएका थिए । प्रविधिको प्रयोगले भारतलाई एक दशकभन्दा कम अवधिमा वित्तीय समावेशीकरण एउटा स्तर हासिल गर्न सक्षम बनाएको छ जसका लागि अन्य अवस्थामा धेरै दशक लाग्न सक्ने अवस्था थियो ।

चौथो, फिनटेक नवप्रवर्तनहरूले पनि नयाँ सम्भावनाहरू खोल्दै छन् । यस यात्रामा केन्द्रीय बैंकहरूका लागि चुनौती भनेको डिजिटल वित्तीय समावेशीकरणको फाइदा उठाउँदै मूल्य र वित्तीय स्थिरताका विश्वासिला संरक्षकको रूपमा आफ्नो कीर्तिमानलाई थप सुदृढ बनाउँदै डिजिटल नवप्रवर्तनलाई अझ दक्ष, सावधान र स्थिर वित्तीय प्रणालीतर्फ निर्देशित गर्नु हुनेछ । केन्द्रीय बैंकहरूले डिजिटल ऋणदाताहरूको नियमन र पर्यवेक्षणका मुद्दाहरू, सरोकारवालाहरूद्वारा निष्पक्ष अभ्यास संहिताको पालना, डेटा सुरक्षा र गोपनीयता, साथै तेस्रो पक्ष सेवा प्रदायकहरू जस्ता विषयहरूसँग पनि जुध्नुपर्ने अवस्था समेत छ ।

पाँचौँ चुनौती वित्तीय सेवाहरूमा कृत्रिम बौद्धिकता र मेसिन लर्निङ उपकरणहरूको आगमनसँग सम्बन्धित छ । केन्द्रीय बैंकिङ र वित्तीय सेवाहरूमा यसको प्रयोग र प्रयोगको दायरा फराकिलो छ, यसले डेटा गोपनीयता, एल्गोरिदमिक पूर्वाग्रह र भेदभाव, साइबर सुरक्षा र नैतिक विषयमा समेत चुनौती पनि खडा गर्न सक्छ  । यी चुनौतीहरूको सामना गर्न सक्ने क्षमता केन्द्रीय बैंकका लागि महत्त्वपूर्ण हुन्छ  ।

सारांशमा, २१ औँ शताब्दीमा केन्द्रीय बैंकहरूले यी सबै चुनौतीहरूको लागि तयार हुनुपर्छ । जबकि जलवायु परिवर्तन र भूराजनीतिले मुद्रास्फीतिमा पर्ने दबाब र विश्वव्यापी आर्थिक वृद्धि र व्यापारलाई सुस्त बनाउने ‘सप्लाई सक’को रूपमा काम गर्न सक्छ । नयाँ आविष्कार र कृत्रिम बौद्धिकताद्वारा यी विषयहरूको राम्रो पर्यवेक्षण र च्यानलाइज गर्ने हो भने उत्पादकत्व बढाउन र लागत घटाउन मद्दत गर्न सक्छ । यससम्बन्धी अन्तिम परिणामहरू धेरै हदसम्म केन्द्रीय बैंकको क्षमतामा निर्भर हुन्छ । यसले २१ औँ शताब्दीको वित्तीय परिदृश्य निर्धारण गर्नेछ ।

  • निष्कर्षात्मक अवलोकन

हरेक संकटले नयाँ पाठ र विचार लिएर आउँछ । अर्थशास्त्रमा ज्ञान र विचारहरूको सीमा विगतमा प्रत्येक संकटसँग अगाडि बढेको छ । उदाहरणका लागि, सन् को महामन्दीले वित्तीय व्यवस्थापन र माग व्यवस्थापन नीतिहरूको महत्वलाई रेखांकित गर्‍यो । १९७० दशकमा ठुलो मुद्रास्फीति नीति ढाँचामा विश्वसनीयता र स्थिरताको आवश्यकतालाई केन्द्रित गरायो । २००८ को विश्वव्यापी वित्तीय संकटले वित्तीय स्थायित्वलाई समग्र बृहत् आर्थिक स्थायित्वबाट अलग रूपमा राख्न सकिँदैन भन्ने कुरामा जोड दियो । पछिल्लो समय महामारी र त्यसपछि आर्थिक क्षेत्रमा सिर्जित अभूतपूर्व संकटको क्रमले नीति निर्माताहरूलाई परम्परागत वा कट्टरपन्थी धारणाविनै नीतिगत प्रतिक्रियामा चुस्तता, सक्रियता, नवीनता र विवेकशील हुनुपर्ने आवश्यकता महसुस भएको छ । यसरी, वर्षौँदेखि प्राप्त अनुभव र संकटबाट सिकेका पाठबाट आर्थिक सिद्धान्त र नीतिहरू विकसित भएका छन् । वास्तवमा, पछिल्ला केही वर्षहरूमा केन्द्रीय बैंकको एउटा कथा निर्माण भएको छ ।

केन्द्रीय बैंकहरूले समयसँगै संस्थाहरूका रूपमा प्रमुख आर्थिक(वित्तीय नीतिको सन्दर्भमा आफूलाई निरन्तर पुनर्परिभाषित गर्दै जानुपर्छ  ।

पछिल्ला केही वर्षहरूमा एकपछि अर्को विश्वव्यापी संकटहरूका कारण केन्द्रीय बैंकिङको सिद्धान्त र अभ्यासमा सूक्ष्म र कहिलेकाहीँ महत्त्वपूर्ण परिवर्तन भइरहेका छन् । भारतीय रिजर्भ बैंकको प्रयास सक्रिय र विवेकपूर्ण नीति अवलम्बन गर्ने हो जसबाट अर्थतन्त्र दिगो विकासको मार्गमा पुगोस् । हाम्रो प्रयासले सकारात्मक नतिजा ल्याएकोमा हामी खुसी छौँ । हाम्रो अर्थतन्त्र महामारीबाट बलियो रूपमा बाहिर आएको छ । यसले विश्वव्यापी आर्थिक वृद्धिमा १८ प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ । मुद्रास्फीति घट्दो क्रममा छ । बाह्य क्षेत्र बलियो लचिलो छ । बैंकिङ तथा कर्पोरेट क्षेत्रको स्वास्थ्य सुदृढ अवस्थामा छ । वित्तीय एकीकरणको काम भइरहेका छन् ।

प्रमुख बृहत् वित्तीय नीति संस्थाहरूको रूपमा, केन्द्रीय बैंकहरूले आफूलाई समयसँग मिलाएर पुन: आविष्कार गरिरहनुपर्छ । तिनीहरूले भविष्यका जोखिमहरू अनुमान गर्नुपर्दछ र सम्भावित जोखिमहरू, यदि कुनै भएमा, टार्न वा न्यूनीकरण गर्न उपयुक्त पूर्व-एम्प्टिभ उपायहरू अपनाउनुपर्छ । २१औँ शताब्दीका उदीयमान चुनौतीहरूबाट आफ्नो वित्तीय प्रणाली र अर्थतन्त्रलाई जोगाउन केन्द्रीय बैंकहरू यस अवसरमा उठेर अगाडि बढ्नेछन् भन्नेमा म विश्वस्त छु ।

केन्द्रीय बैंकहरूले समयसँगै संस्थाहरूका रूपमा प्रमुख आर्थिक(वित्तीय नीतिको सन्दर्भमा आफूलाई निरन्तर पुनर्परिभाषित गर्दै जानुपर्छ  । केन्द्रीय बैंकहरूले भविष्यका जोखिमहरूलाई पूर्वानुमान गर्न र सम्भावित जोखिमलाई रोक्ने वा कम गर्नका लागि उपयुक्त व्यवस्थापकीय कदम उठाउनु पनि सक्नुपर्छ । म विश्वस्त छु, केन्द्रीय बैंकहरूले यो अवसरलाई सदुपयोग गर्नेछन्  र २१ औँ शताब्दीका उदाउँदा चुनौतीबाट आफ्नो वित्तीय प्रणाली र अर्थतन्त्रहरूलाई सुरक्षित राख्न अग्रणी भूमिका खेल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप