बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘ज्वाइँ साब’ को दृश्य टिकटकमा भाइरल भएपछि...

बुधबार, ०९ असोज २०८१, १२ : ३२
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । सामाजिक सञ्जाल नेपाली फिल्मका लागि कतिपय अवस्थामा पीडादायी बन्दै गएको छ । करोडौँ फिल्ममा लगाउने निर्माता फिल्मको दृश्यहरू सामाजिक सञ्जालमा अपलोड हुँदा ठुलो आर्थिक क्षति बेहोर्न बाध्य हुने गरेका छन् ।

यतिबेला फिल्म ‘ज्वाइँ साब’ को एक दृश्य पनि टिकटकमा भाइरल बनिरहेको छ । काठमाडौँको त्रिभुवन विमानस्थलमा अभिनेता जितु नेपाल बरखी बारेको सेतो पहिरनमा निलो रंगको झोला भिरेर हातमा पासपोर्ट र बच्चा काखी च्यापेको अवस्थामा देखिएका छन् । उनको पछाडि अभिनेत्री नीति शाह नेपालको झन्डा बोकेर भावुक मुद्रामा जितुलाई हेरिरहेकी छन् । यो दृश्य मर्मस्पर्शी देखिन्छ ।

टिकटकमा भाइरल फिल्मको दृश्यले तीनवटा कुरा प्रस्ट्याउँछ । पहिलो, जितुले लगाएको सेतो पहिरनले बुबा वा बुहारी जसरी नीतिको घरमा भित्रिएकाले (कसम बत्तीको गीतमा देखिएअनुसार) ससुराको निधनपछि बरखी बारेको अर्थ्याउँछ । दोस्रो, जितु आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । तेस्रो, यो क्लाइमेक्स (फिल्मको अन्तिम दृश्य) रहेको प्रस्ट बुझिन्छ ।

फिल्मको महत्त्वपूर्ण दृश्य नै टिकटकमा छ्यापछ्याप्ती भएपछि निर्माण टिम तनावमा देखिएको छ । निर्देशक वसन्त निरौलाले सतर्कता अपनाउँदा अपनाउँदै पनि फिल्मको महत्त्वपूर्ण दृश्य बाहिरिएको बताए । ‘छायाङ्कन समय विमानस्थलमा भीड निकै ठुलो भएकाले कसले खिच्यो थाहै भएन’, उनले भने ।

दसैँको बिदालाई लक्षित गरेर आगामी असोज २४ गते फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’ जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप