शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

खानपिन खर्च धान्न नसकेपछि पान्डा चीन फिर्ता पठाउँदैछ फिनल्यान्ड

बुधबार, ०९ असोज २०८१, ११ : ५०
बुधबार, ०९ असोज २०८१

हेल्सिन्की । फिनल्यान्डले यही नोभेम्बरमा २ वटा ठुला पान्डालाई चीन फिर्ता पठाउने भएको छ । खानपिनको खर्च धान्न नसकेर पाल्नै नसक्ने भएपछि फिनल्यान्डको एक चिडियाघरले ८ वर्ष अगावै पान्डा फिर्ता पठाउन लागेको हो । 

लुमी र पेरी नाम गरेका ती दुई पान्डालाई सन् २०१८ को जनवरीमा १५ वर्षका लागि फिनल्यान्ड पठाइएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङले फिनल्यान्ड भ्रमण गरेर गएको केही महिनापछि चीनले ती दुई पान्डा पठाएको थियो ।

सन् १९४९ मा स्थापना भएयता हरेक वर्ष गणतन्त्र चीनले पान्डा नीति अपनाउँदै आएको छ । विदेशी चिडियाघरमा पान्डा पठाउने गरिएको छ । तर तय भएको म्यादसम्म नराखीकन पान्डालाई फिर्ता पठाउन थालिएको अह्तारी चिडियाघरले भनेको छ ।

यो निजी क्षेत्रको चिडियाघर हो । पान्डाको खानपिन र चीनलाई बुझाउने शुल्क समेत गरेर बर्सेनि चिडियाघरको १५ लाख युरो खर्च हुने गरेको छ । पान्डाका कारण चिडियाघरमा आगन्तुकको सङ्ख्या बढ्ने आशा गरिएको थियो ।

तर कोरोना भाइरसको महामारीपछि आगन्तुक ठप्प हुँदा चिडियाघरको कर्जा चुलियो । महँगीमा भएको वृद्धिले खर्च बढाएर धान्नै नसक्ने भएपछि पान्डालाई फिर्ता पठाउन लागिएको हो ।

पान्डालाई फिर्ता पठाउनेबारे वार्ता समेत तीन वर्ष लम्बिएको थियो । अब भने यसबारे चीनसँग सहमति भएको चिडियाघर सञ्चालक कम्पनीका अध्यक्ष रिष्टो सिभोनेनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप