विराटदेखि ब्राडम्यानसम्मले प्रयोग गरेको विश्व क्रिकेटकै सबैभन्दा महँगा ब्याट
काठमाडौँ । विश्वकै सबैभन्दा लोकप्रिय खेलमध्ये एक हो, क्रिकेट । पछिल्लो समय क्रिकेट खेलले विश्वव्यापी रूपमा आफ्नो पहुँच विस्तार गर्दै लगेको छ । अहिले विश्वका हरेक महादेशका अधिकांश राष्ट्रमा क्रिकेट खेलिन्छ ।
विश्व खेलकुदमा क्रिकेटसँग निकै ठुलो अर्थतन्त्र पनि जोडिएको छ । यो खेलमा सक्रिय खेलाडीहरूले करोडौँ रुपैयाँ कमाउने गरेका छन् । पछिल्लो समय विश्वव्यापी रूपमा आयोजना हुँदै आएका फ्रेन्चाइज प्रतियोगिताहरूले पनि क्रिकेटको लोकप्रियतालाई शिखरमा पुर्याउने काम गरेको छ ।
यहाँ चर्चा गर्न लागिएको विषय क्रिकेटको ब्याटसँग जोडिएको छ । प्रतियोगिताका क्रममा खेलाडीहरूले प्रयोग गर्ने ब्याट धेरैका लागि चासोको विषय बन्ने गरेको छ । कुन ब्याट्सम्यानले कस्तो ब्याटको प्रयोग गर्छन् भनेर समाचारहरूमा पनि चर्चा हुने गरेको छ ।
यो समाचारमा खेलाडीले प्रयोग गर्ने ब्याटभन्दा पनि विश्वमा सबैभन्दा महँगोमा बिक्री भएको ब्याटको बारेमा चर्चा गरिएको छ । विभिन्न समयमा विभिन्न राष्ट्रका क्रिकेटरले प्रयोग गरेको ब्याट लिलामी गर्दा कति रकममा बिक्री भयो भनेर यसमा उल्लेख गरिएको छ ।
विराट कोहलीको ब्याट
विराट कोहली भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान हुन् । उनी अहिले पनि भारतको एक दिवसीय र टेस्ट टोलीका महत्त्वपूर्ण सदस्य हुन् । उनले हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आईसीसी टी–२० विश्वकपपछि यो ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिताबाट भने सन्न्यास लिइसकेका छन् ।
३६औँ वर्ष प्रवेशको सँघारमा रहेका विराटले भारतका लागि एक सय १४ टेस्टको एक सय ९३ पालीमा कुल आठ हजार आठ सय ७१ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले २९ शतक र ३० अर्धसतक पनि बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय ५४ रन हो ।
यसैगरी, उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सय ९५ खेल खेल्दै कुल १३ हजार नौ सय ६ रन बनाएका छन् । एक दिवसीय अन्तर्राष्ट्रियमा उनले ५० शतक र ७२ अर्धसतक बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर एक सय ८३ रन हो ।
यसैगरी, उनले एक सय २५ टी–२० अन्तर्राष्ट्रियमा कुल चार हजार एक सय ८८ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा पनि उनले एक शतक र ३८ अर्धसतक बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय २२ रन हो ।
विराटले सन् २०१८ मा टेस्ट क्रिकेटमा ५५.०३ को औसतले कुल एक हजार तीन सय २२ रन बनाएका थिए । त्यो वर्ष उनी विश्वकै सबैभन्दा बढी टेस्ट रन बनाउने खेलाडीको सूचिमा पहिलो स्थानमा थिए । उनले त्यो वर्ष प्रयोग गरेको ब्याट सन् २०२१ मा लिलामी गरिएको थियो । एमआरएफले प्रायोजन गरेको त्यो ब्याट एक करोड २० लाख नेपाली रुपैयाँमा लिलाम भएको थियो ।
ब्रायन लाराको ब्याट
वेस्ट इन्डिजका ब्रायन लारा आफ्नो समयका चर्चित ब्याट्सम्यान हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको लामो समय बितिसकेको छ । तर, उनले सक्रिय खेल जीवनमा बनाएका केही कीर्तिमान अहिलेसम्म पनि तोडिएको छैन ।
५५ वर्षीय ब्रायन लाराले वेस्ट इन्डिजका लागि एक सय ३१ टेस्टको दुई सय ३२ पालीमा कुल ११ हजार नौ सय ५३ रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनले ३४ शतक र ४८ अर्धसतक पनि बनाएका थिए । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित चार सय रन हो ।
यसैगरी, लाराले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सय ९९ खेल खेल्दै कुल १० हजार चार सय पाँच रन बनाएका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले १९ शतक र ६३ वटा अर्धसतक पनि प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनले बनाएको उच्च स्कोर एक सय ६९ रन हो ।
ब्रायन लाराले सन् २००४ खेलिएको इङ्गल्यान्डविरुद्धको टेस्ट क्रिकेटको एउटै पालीमा अविजित चार सय रन बनाएर इतिहास रचेका थिए । कुनै पनि क्रिकेटरले टेस्ट क्रिकेटको एउटै पालीमा बनाएको त्यो सर्वाधिक रन थियो ।
त्यो खेलमा उनले चर्चित इङ्लिस बिलो ब्याट प्रयोग गरेका थिए । उनले त्यो खेलमा प्रयोग गरेको ऐतिहासिक ब्याट सन् २०२१ मा लिलामी गरिएको थियो । त्यो ब्याट लिलामीमा एक करोड २८ लाख नेपाली रुपैयाँमा बिक्री भएको थियो ।
सचिन तेन्दुल्करको ब्याट
आफ्नो समयका चर्चित खेलाडी सचिन तेन्दुल्कर क्रिकेटको भगवानका रूपमा पनि परिचित छन् । उनी भारतलाई विश्वकपको उपाधि जिताउने टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् । ५१ वर्षीय सचिनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएको लामो समय बितिसकेको छ ।
तर, उनले बनाएका थुप्रै कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । उनले दुई सय टेस्टको तीन सय २९ पालीमा कुल १५ हजार नौ सय २१ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले ५१ शतक र ६८ अर्धसतक पनि बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय ४८ रन हो ।
यसैगरी, सचिनले चार सय ६३ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा कुल १८ हजार चार सय २६ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले ४९ शतक र ९६ अर्धसतक पनि प्रहार गरेका छन् । यो ढाँचामा उनको उच्च स्कोर अविजित दुई सय रन हो । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट भने एउटा मात्र खेलेका छन् । त्यो खेलमा उनले १० रन बनाएका थिए ।
सन् २००३ को एक दिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको थियो । अस्ट्रेलियाले फाइनलमा भारतलाई एक सय २५ रनले हराएको थियो । तर, त्यो विश्वकपमा सचिन तेन्दुल्करले कमालको ब्याटिङ गरेका थिए । उनी त्यो विश्वकपमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका थिए ।
त्यो विश्वकपमा सचिनले ११ पाली खेल्दै ६१.१८ को औसतले कुल ६ सय ७३ रन बनाएका थिए । उनले एउटा शतक र ६ वटा अर्धसतक पनि प्रहार गरेका थिए । उनले पाकिस्तानविरुद्ध ९८ रन बनाएका थिए ।
सचिनले त्यो विश्वकपमा प्रयोग गरेको एडिडास र एमआरएफ ब्याट सन् २०२१ को डिसेम्बरमा लिलाम गरिएको थियो । सचिनको त्यो ब्याट लिलामीमा एक करोड ६० लाख नेपाली रुपैयाँमा बिक्री भएको थियो ।
गेरी सोबर्सको ब्याट
वेस्ट इन्डिजका पूर्वक्रिकेटर हुन्, गेरी सोबर्स । उनी विश्व क्रिकेटका सर्वकालीन महान खेलाडीमध्ये एक हुन् । क्यारेबियन क्रिकेटको थुप्रै महत्त्वपूर्ण उपलब्धिमा उनको योगदान महत्त्वपूर्ण रहेको छ । क्यारेबियन क्रिकेटलाई विश्वस्तरमा पुर्याउन पनि उनको भूमिका प्रशंसनीय रहेको छ ।
८८ वर्षीय गेरी सोबर्सले वेस्ट इन्डिजका लागि ९३ टेस्टको एक सय ६० पालीमा कुल आठ हजार ३२ रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनले २६ शतक र ३० अर्धसतक पनि प्रहार गरेका थिए । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित तीन सय ६५ रन हो ।
सोबर्सले क्यारेबियन टोलीबाट एउटा मात्र एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । त्यो खेलमा उनी शून्य रनमै आउट भएका थिए । गेरी सोबर्सको समयमा टी–२० ढाँचाको क्रिकेट सुरु भइसकेको थिएन ।
लिस्ट ‘ए’ र प्रथम श्रेणीको क्रिकेट भने खेलिन्थ्यो । उनले प्रथम श्रेणीको क्रिकेटमा कुल २८ हजार तीन सय १४ र लिस्ट ‘ए’ क्रिकेटमा दुई हजार सात सय २१ रन बनाएका थिए । गेरी सोबर्सले सन् १९६८ मा प्रथम श्रेणीको क्रिकेटमा एक ओभरमा ६ वटा छक्का प्रहार गरेका थिए ।
इङ्लिस काउन्टी क्रिकेटमा नटिङ्घमसियरको कप्तानको भूमिकामा सन् १९६८ को अगस्त ३१ तारिखमा खेलिएको ग्लामोर्गनविरुद्धको खेलमा एक ओभरमा ६ वटा छक्का हिर्काएका थिए । उनी यस्तो उपलब्धि हासिल गर्ने पहिलो क्रिकेटर पनि बनेका थिए ।
त्यो खेलमा सोबर्सले प्रयोग गरेको ब्याट सन् २०२१ को डिसेम्बरमा लिलामी गरिएको थियो । लिलामीमा सोबर्सको त्यो ब्याट एक करोड ९२ लाख नेपाली रुपैयाँमा बिक्री भएको थियो । यसले विश्व क्रिकेटमा सोबर्सप्रतिको सम्मान पनि देखाउँछ ।
महेन्द्रसिंह धोनीको ब्याट
भारतका पूर्वक्रिकेट खेलाडी हुन्, महेन्द्रसिंह धोनी । उनी आफ्नो समयका प्रभावशाली आक्रामक ब्याट्सम्यान थिए । उनले लामो समय भारतीय टोलीको कप्तानी पनि गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको थुप्रै सफलतामा यी विकेटकिपर ब्याट्सम्यानको महत्त्वपूर्ण भूमिका रहेको छ ।
धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । ४३ वर्षीय धोनीले भारतका लागि ९० टेस्टको एक सय ४४ पालीमा कुल चार हजार आठ सय ७६ रन बनाएका छन् । टेस्टमा उनले ६ शतक र ३३ अर्धसतक बनाएका छन् । टेस्टमा उनको उच्च स्कोर दुई सय २४ रन हो ।
यसैगरी, धोनीले तीन सय ५० एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १० हजार सात सय ७३ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले १० शतक र ७३ अर्धसतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ८३ रन हो ।
यसैगरी, उनले ९८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल एक हजार ६ सय १७ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले दुई वटा अर्धसतक बनाएका छन् । यो ढाँचामा उनको उच्च स्कोर भने ५६ रन हो ।
सन् २०११ को आईसीसी एक दिवसीय विश्वकपको उपाधि भारतले जितेको थियो । भारतले फाइनलमा श्रीलंकालाई ६ विकेटले हराएको थियो । धोनीकै कप्तानीमा भारतले त्यो विश्वकपको उपाधि चुमेको थियो । फाइनलमा पनि धोनीले अविजित ९१ रन बनाएका थिए ।
त्यो विश्वकपमा धोनीले प्रयोग गरेको रिबकको ब्याट सन् २०२१ को डिसेम्बरमा लिलामी गरिएको थियो । त्यो लिलामीमा धोनीको ब्याट दुई करोड ४० लाख नेपाली रुपैयाँमा बिक्री भएको थियो । लिलामीमा प्राप्त त्यो रकमले धोनीप्रतिको सम्मानलाई पनि दर्साउँछ ।
डोनाल्ड ब्राडम्यानको ब्याट
अस्ट्रेलियाका पूर्वक्रिकेटर हुन्, सर डोनाल्ड ब्राडम्यान । ब्राडम्यान विश्व क्रिकेटका सर्वकालीन महान खेलाडी पनि हुन् । उनको समयमा अन्तर्राष्ट्रिय क्रिकेटमा ब्राडम्यानलाई चमत्कारी खेलाडीका रूपमा पनि हेरिन्थ्यो ।
हाल ब्राडम्यानको निधन भइसकेको छ । सन् २००१ को फेब्रुअरी २५ तारिखमा ९२ वर्षको उमेरमा उनको निधन भएको थियो । यी प्रभावशाली ब्याट्सम्यानले अस्ट्रेलियाका लागि ५२ टेस्टको ८० पालीमा कुल ६ हजार नौ सय ९६ रन बनाएका थिए ।
टेस्ट क्रिकेटमा उनले २९ शतक र १३ वटा अर्धसतक प्रहार गरेका थिए । टेस्ट क्रिकेटको एउटै पालीमा उनले बनाएको उच्च स्कोर भने तीन सय ३४ रन हो । उनले अस्ट्रेलियन टोलीबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट भने खेलेनन् ।
तर, प्रथम श्रेणीको क्रिकेटमा भने उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा दुई सय ३४ खेल खेल्दै कुल २८ हजार ६७ रन बनाएका थिए । प्रथम श्रेणीको क्रिकेटका उनको उच्च स्कोर अविजित चार सय ५२ रन हो । उनी टोलीलाई आवश्यक पर्दा बलिङ पनि गर्थे ।
ब्राडम्यानले सन् १९३४ को एसेस शृङ्खलामा ९४.७५ को औसतले कुल सात सय ५८ रन बनाएका थिए । त्यतिबेला विश्व क्रिकेटमा यो उदाहरणीय प्रदर्शन थियो । त्यो शृङ्खलामा ब्राडम्यानले प्रयोग गरेको कुकाबुरा ब्याट सन् २०२१ को डिसेम्बरमा लिलामी गरिएको थियो ।
लिलामीमा त्यो ब्याट तीन करोड चार लाख नेपाली रुपैयाँमा बिक्री भएको थियो । विश्व क्रिकेटका सर्वकालीन महान यी ब्याट्सम्यानले प्रयोग गरेको त्यो ब्याट अस्ट्रेलियाकै एक व्यक्तिले खरिद गरेका थिए । ब्राडम्यानप्रति यो निकै ठुलो सम्मान थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात