मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
ललितपुर प्रहरीको सुरक्षा योजना

दसैँ–तिहारमा १५ प्रकारका अपराध हुनसक्ने आकलन, ललितपुरमा १८३ ठाउँमा चेकजाँच

४ ठाउँमा यात्रु सहायता कक्ष
बुधबार, ०९ असोज २०८१, ०९ : ०९
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । ललितपुर प्रहरीले चाडपर्व सुरक्षा योजना तयार गरेको छ । दसैँ– तिहारमा ललितपुर जिल्लामा १ सय ८३ ठाउँमा चेक प्वाइन्ट राख्नेगरी ललितपुर प्रहरीले सुरक्षा योजना तयार गरेको हो । चेकजाँच गर्न एक सिफ्टमा १ हजार भन्दा बढी प्रहरी परिचालन गरिने जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

दसैँ, तिहार र छठ पर्वमा १५ प्रकारका अपराध हुनसक्ने प्रहरीको आकलन छ । ललितपुर जिल्लामा सबैभन्दा धेरै चोरीका घटना हुन्छन् । चाडपर्वमा पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ ।

त्यस्तै सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुनसक्ने महिला हिंसाको घटनालाई पनि न्यूनीकरण गर्नेगरी सुरक्षा योजना तयार गरिएको एसपी सुवेदीले बताए । उनले भने, ‘पर्वहरूमा हुनसक्ने विकृति र विसङ्गतिलाई नियन्त्रण गर्नेगरी सुरक्षा योजना बनाएर लागु गरेका छौं ।’

चाडपर्वमा विभिन्न शक्तिपिठहरुमा पुजा आराधना गर्न विशिष्ट व्यक्तिहरुको सहभागीता हुने समयमा त्यस्ता ठाउँहरूमा सुरक्षा प्रदान गर्नेगरी योजना तयार गरिएको छ । प्रहरीले चाडपर्वको समयमा बिदा हुने सरकारी कार्यालयको पनि सुरक्षा गर्ने योजनामा उल्लेख गरेको छ ।

ललितपुरको चार ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय भएको छ । सातदोबाटो, लगनखेल, गोदावरी र प्याङ्गाउमा सहायता कक्ष स्थापना गरिने एसपी सुवेदीले जानकारी दिए । ललितपुर भित्रिने र बाहिरिने सड्क नाकामा कुकुर परिचालन गर्ने प्रहरीको तयारी छ । जिल्लाका मुख्य स्थानहरूमा चोरी सम्बन्धी सचेतनामूलक जिङ्गल बजाउने र आर्थिक कारोबार हुने क्षेत्रहरूमा कन्ट्रोल रुम भेहिकल (सिआरभी’ परिचालन गर्ने ललितपुर प्रहरीको योजना छ ।

कानुन विपरीतको क्रियाकलाप भएको लागेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गर्न जिल्ला प्रहरी परिसर ललितपुरले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप