शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

'जितिया पर्व अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय छ'

सुशीला चौधरी, अध्यक्ष, थारु महिला समाज नेपाल उपत्यका समिति
बुधबार, ०९ असोज २०८१, ०७ : ३२
बुधबार, ०९ असोज २०८१

यतिबेला जितिया पर्वको रौनक छ । मुख्यतः पूर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारु महिलाहरूले धूमधामका साथ जितिया पर्व मनाइरहेका छन् । काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाहरू पनि जितियामा रमाइरहेका छन् । उपत्यकामा २०६० सालदेखि  जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रूपमा मनाइरहेका छन् ।

उपत्यकामा थारु महिला समाज नेपाललगायतका संघसंस्थाहरुले जितियाको धूमधाम तयारी गरिरहेका छन् । यसै सिलसिलामा थारु महिला समाज नेपाल उपत्यका समिति अध्यक्ष सुशीला चौधरीसँगको कुराकानीको सम्पादित अंश :

जितिया पर्व किन मनाइन्छ ? के छन् यसका धार्मिक तथा पौराणिक महत्वहरू ?

जितिया पर्व एउटा आमाले आफ्नो सन्तानको दिर्घायूको कामना गर्नको लागि, अकाल मृत्युबाट बचाउन कामना गरी मनाइने पुरानो मान्यता छ । यस्तो मान्यता परम्परादेखि नै चली आएको छ । पौराणिक कालदेखि नै सुरु भएको हो यो पर्व खासमा विवाहित महिलाहरूले मनाउने गर्छन् । आफ्नो सन्तानको दिर्घायूको कामना गरेर मनाइन्छ । माइती घरमा गएर गएर दर खाने चलन छ । ठ्याक्कै हरितालिका तीज जस्तै पर्व हो यो । साथीसंगी, दिदीबहिनीहरूसँग रमाइलो गरिन्छ । आपसी मेलमिलाप, सद्भाव, भाषा संस्कृति जगाउनको लागि पनि यो पर्व मनाइन्छ । किनकि कालान्तरमा हाम्रा सन्तानलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । 

पहिले  मनाइने जितिया पर्व र  अहिले  मनाइने जितिया पर्वमा के –के फरक छ ? 

पहिला भन्दा जितिया पर्व मनाउने चलन हिजोआज अलिक फरक छ । सानो छँदा चाडबाड आयो भने नयाँ लुगा लगाउने, मिठो मसिनो खाने चलन थियो । अहिले चाहिँ पहिला जस्तो स्थिति छैन । पुराना चलनहरू हराउन थालेका छन् । गाउँमा यो पर्वको भिन्नै रौनक छ र सहरमा आधुनिकीकरण हुन थालेको छ । आफ्नो इच्छा अनुसार बाँच्न पाएर वा स्वतन्त्रताका कारणले होला । जितियाका अवसरमा हामी पिनाले कपाल धुन्थ्यौ । सहरमा त्यो सम्भव छैन । कपाल धुनको लागि खोलामा जान्थ्यौँ । अहिले त सहरमा सम्भव हुँदेन तर गाउँमा धारामा गएर नुहाउँछौँ । अहिले त पर्वहरू महोत्सवका रूपमा आइसके । त्यसैले अहिले झन् रमाइलो छ । तर परम्परा र रीतिरिवाज भने जोगाउनुपर्ने बाध्यता छ । 

जितिया पर्वमा कति दिन व्रत बस्नुपर्छ ? महिलाहरूले  नै  कि जितिया मनाउनु परेको  खास कारण ?

सप्तमीदेखि तीन दिन व्रत बस्ने चलन छ । कृष्ण पक्ष असोज महिनामा पर्छ कहिलेकाहीँ भदौमा पनि पर्छ । तर तिथि सप्तमी अष्टमी नवमी नै हो । सप्तमीमा नुहाएर बिहानीपख दर खाने, देउतालाई ढोगेर पूजा गरेर दही चिउरा चढाउने र त्यो खाएर निराहार व्रत बस्नुपर्छ । २४ घण्टा पानी नखाईकन व्रत बस्नुपर्छ ।

व्रतालु महिलाले पहिलो दिन स्थानीय जलाशयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् । दोस्रो दिन अर्थात अष्टमीका दिन व्रतालु महिलाहरू निराहार व्रत बस्ने र त्यस दिन महिलाहरू गाउँको एकै ठाउँमा जम्मा भई भगवान् जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन छ । जितियाको अन्तिम तथा पारन (समापन)को दिन व्रतालु महिलाहरू पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन् । 

जितिया पर्वमा विशेषगरी खाने परिकार के के हुन्छन् ? 

दही र सख्खरको प्रसाद तयार गर्ने प्रचलन छ । व्रत बस्दा पानी पनि खान मिल्दैन भनिन्थ्यो हिजोआज फलफूल खाने चलन बढेको छ । खानपान आफ्नो इच्छा अनुसार हो । बिस्तारै परिवर्तन हुँदै पनि छ । स्वास्थ्य सबैभन्दा ठुलो कुरा हो ।

जितिया पर्वका के को  पूजा गरिन्छ ?

जितिया पर्वमा चिल अनि स्यालको पूजा गरिन्छ । किनभने चिल र स्याल साथीका रूपमा मानिन्छ । जितवहानको कथा सुनेर आएको हुनाले बालबच्चाको दिर्घायूको लागि व्रत बसेका थिए भन्ने मान्यता छ । उनीहरूको कथा लामो छ । 

जितिया पर्वको  प्रसाद वितरणको तौरतरिका पनि फरक छ रे हो ?

यो पर्वको अलग्गै धार्मिक मान्यता र प्रचलन रहेकाले ठाउँ अनुसार पनि मनाउने तरिका फरक हुनसक्छ । तर विधि र तिथि चाहिँ उही हो । यो पर्व अन्य समुदायले पनि मनाउने गर्दछन् । तराइमा धेरै समुदायले मनाउने गर्दछन् । भारतको विहारतिर पनि मनाउने गर्दछन् । पौराणिक कथामा बिहारको प्रसङ्ग पनि जोडिएको छ । नेपालमा चाहिँ परम्परादेखि नै चल्दै आएको छ । बिहारमा छोराको लागि मात्र विधि गरिन्छ, पूजा पनि छोराको लागि गरिन्छ भन्ने छ । हाम्रोमा त सबै सन्तान बराबर हो भन्ने मान्यता छ । हाम्रो समुदायमा त्यस्तो भेदभाव हुदैँन। 

पछिल्लो समय अन्य समुदायले सहरमा पनि जितिया पर्व मनाउने चलन सुरु भएको छ । कस्तो सन्देश प्रवाह भइरहेको छ ?

सहरमा जितिया मनाउन पाउँदा धेरैजना खुसी छन् । किनभने पहिला पहिला गाउँमा हुन्थ्यो, धेरै मान्छे गाउँ जान पाउँदैनन् । पर्व सहरमा मनाउँदा सबैजना एकैसाथमा दुःख बिर्सिएर रमाउन पाउँछन् । कति जनाले यस्तो समयमा गाउँ सम्झिने गर्छन् । सहरमा रहेका बच्चाहरूलाई पनि हाम्रो यस्तो संस्कृति, रितिरिवाज छ भनेर सिकाउन पाइएको छ । आफ्नो संस्कृतिको बारेमा बच्चैदेखि थाहा पाउनु पनि पर्छ । यसको महत्त्व हाम्रा सन्तानहरूलाई बुझाउनुपर्ने बाध्यता छ । तर यो पर्वको महत्त्व राज्यले बुझेजस्तो लाग्दैन । किनभने दसैँमा बिदा हुन्छ तर जितियामा हुँदैन । हामीलाई सरकारले बिदा दिएको छैन । महिलाहरू २४ घण्टासम्म व्रत बस्ने भएकाले एकदमै समस्या हुन्छ । सकेसम्म सरकारले यो दिन बिदा दिने हो भने राम्रो हुन्थ्यो । 

तपाईँले बिदाको माग गर्नुभयो । तपाईँलाई के लाग्छ सरकारले यसलाई राष्ट्रिय पर्व घोषणा गर्ला ?

हामीले कोसिस गरिरहेका छौ । तर खासमा दिनुपर्ने हो । सबै चाडपर्वमा दिएको छ भने हाम्रो पर्वमा पनि दिनुपर्ने हो । थारु समुदायको सम्मानका लागि बिदा दिनुपर्छ । 

जितिया पर्व थारु समुदायले मात्र मनाउँछन्, राष्ट्रिय पर्व भनेर घोषणा गर्दा अन्य समुदायहरूलाई समस्या होला नि । 

पर्वको सबैले वा एक अर्काको मानेको राम्रो हो । किनभने हामीले अरूको परम्परा पनि अपनाएका छौ । त्यसैगरी उहाँहरूले पनि बुझ्नुपर्छ । एकअर्कालाई नअपनाउँदा समाज र देश समृद्ध हुँदैन । भेदभाव गरेर त हुँदैन नि । सबै तिरबाट आवाज उठिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि पर्व मनाउन थालिएको छ । पर्व तीन दिनसम्म चल्ने र व्रतको एक दिन मात्र बिदा दिए पनि हुन्छ । 

यसपालिको जितिया पर्वको तयारी कसरी गर्नुभयो ?

तयारी एक महिना अगाडिदेखि नै गरिरहेका छौँ । हाम्रो संस्थाप्रति बहुसङ्ख्यक समुदायको आशा र भरोसा भएकाले सामान्य तयारीले पुग्दैन । ठुलो कार्यक्रमको आयोजना भइरहेको छ । जनसमुदायहरूसँग कार्यक्रम हुने भएकाले तयारी धेरै नै गर्नुपर्छ ।  हाम्रो संस्था खासमा महिलाहरूको हक, हित र अधिकारको लागि हो । महिलाहरूलाई सक्षम बनाउन, अगाडि बढाउनको लागि हो । विभिन्न सीपमूलक तालिमहरू दिने पनि गरेका छौँ । महिलाहरूको लागि आत्मबल दिने खालको तालिमहरू पनि दिने गर्छौ । महिलाहरूलाई घरबाट बाहिर निकाल्ने वातावरण बनाउने काम पनि गर्छौ । 

जितिया पर्व विवाहित महिलाले मात्र मनाउनको कारण के होला ?

जितियामा विवाहितले मात्र व्रत बस्ने चलन छ । व्रत आफ्नो सन्तानको लागि बस्ने हो । आफ्नो घरको सुख शान्ति र श्रीमानको दिर्घायूका लागि बस्ने हो । पौराणिक र धार्मिक मान्यता नै विवाहितहरूका लागि छ भनेर अध्येताहरुले भन्नुभएको छ । 

जितिया पर्वमा तीन दिनसम्म निराहार व्रत बस्दा त शारीरिक समस्या हुँदैन र भन्या । 

जितियाको रहर र रमझमले गर्दा भोक लागेको पत्तो हुँदैन । हामी सधैँ यही पर्वको प्रतीक्षामा औँला गनिरहेका हुन्छौँ । उत्साह र उमङ्गका कारण पनि व्रत बस्ता वास्ता लाग्दैन । एउटा विश्वास र आस्थाका कारण पनि यसको ठुलो महत्त्व छ । आफ्नो  बालबच्चा, घरपरिवारको खुसीको लागि व्रत बस्न पाउँदा असहज हुँदैन । माइत जाने दिदीबहिनीहरूसँग भेट्ने अनि एक अर्कासँग सुख दुःख बाँड्ने पर्व पनि हो । त्यसैले व्रत बस्दा असहज हुँदैन । 

जितियाको पुरानो चलन हराउँदै गयो भन्ने गुनासो छ, अब परम्परा कसरी जोगाउन सकिएला ?

पहिला साधारण तरिकाले मनाउने गरिन्थ्यो । अहिले अलिकति भड्किलो अवस्थामा आइपुगेको छ । समय अनुसार परिवर्तन हुँदै गइरहेको छ । सबै ठाउँमा एकनास हुँदैन । सकेसम्म पौराणिक, थारुको मौलिकता झल्किने खालको पर्व  मनाउनुपर्ने  हुन्छ ।  पछिल्लो  समय  कार्यक्रम गरेर पनि यसलाई जोगाउनुपर्छ  भनेर सन्देश दिन खोजिरहेका छौँ । कार्यक्रम पनि एकदमै सभ्य र शिष्ट बनाउने गरेका छौँ । संस्कृतिलाई  जर्गेना गर्नपनि हामी कार्यक्रम गरिरहेका छौँ । पहिला हजुरआमा,  हजुर  बुवाले  लगाउने  पहिरन,  गहना अहिले  धेरै मात्रामा हराइसकेका छन् । बालबच्चाहरूले संस्कृति,  पहिरन  भुल्छन्  भनेर  पुरानो  गरगहना पहिरन लगाउने गरेका छौँ । भड्किलो त हरेक कुरामा भएको नै छ तर गीतहरू पनि भड्किला खालका बजारमा आइरहेका हुन्छन् । तर हामी भड्किलो पर्व हुँदैन भनेर आफ्नो कला, संस्कृति जोगाउन कम्मर कसेर लागेका छौँ ।  नेपाल न्यूज बैंक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप