बेलायती युवादेखि वृद्धासम्मको मन जितेर फर्किए गायक दीप श्रेष्ठ
लन्डन । 'म त दूर देखि आएँ तिम्रो नाम बोकेर' करिब पाँच हजार माइलको दुरी पार गरेर बेलायत आएका नेपाली साङ्गीतिक आकाशका धरोहर वरिष्ठ गायक दीप श्रेष्ठले बेलायतमा आयोजित एकल साङ्गीतिक कार्यक्रममा आफ्ना दर्जनौँ गीत प्रस्तुत गरेर नेपाल फर्किए ।
सुरुमा उनले तत्कालीन राजा महेन्द्रलाई आफ्नो गीत सुनाएका थिए । स्वर मन परेपछि राजाको हुकुमबाट सन् १९६८ मा रेडियो नेपालमा प्रवेश पाएर सुरु भयो उनको साङ्गीतिक यात्रा । ‘म पत्थरको देवता होइन, तोडिएर जोडिने’ बोलको गीतबाट गायन क्षेत्रमा पाइला चालेका श्रेष्ठलाई सोही गीतले स्थापित गरायो । त्यसताका उनका दर्जनौँ कालजयी गीत अहिलेसम्म पनि उत्तिकै लोकप्रिय र कर्णप्रिय छन् ।
कन्सर्टका बेला सबैको घरमा रेडियोको समेत पहुँच नभएको ऊ बेला र अहिलेको अवस्था तुलना गर्दा आश्चर्य लागेको उनले बताए । पहिलो गीत गएको महिनौँपछि रेडियो नेपालबाट आफ्नो गीत बज्दा एकजना माडवारी साथीले ट्रान्जिष्टर बोकेर उनको गीत सुनाउन ल्याउँदा ल्याउँदै गीतको अन्तिम अन्तरा मात्र सुन्न पाउँदा खुसीले गदगद भएको क्षण उनको मानसपटलमा अझै पनि ताजै रहेछ । त्यसो त गीत गाउन जाँदा भोगेका उनका कथा व्यथा पनि उत्तिकै मार्मिक र कारुणिक छन् ।
गतहप्ता बेलायतको हाइवेकम्बस्थित नेपाली व्यवस्थापनमा सञ्चालित ‘डल्फिन आई पब एण्ड रेस्टुरेन्ट’ मा गायक श्रेष्ठले दर्जनौँ लाइभ गीत गाए । गायन क्षेत्रमा करिब ५५ वर्ष बिताइसकेका गायक श्रेष्ठले ‘कति कमजोर रहेछ भाग्य’,'बितेका कुरा’ बोलका गीतमा नाति पनाति पुस्ताका दर्शकहरू वान्स मोर् भन्दै झुमेका थिए ।
गायक श्रेष्ठले ‘बितेका कुरा’,‘कति कमजोर रहेछ भाग्य’,‘हर रात सपनीमा ऐठन हुन्छ’, ‘मेरो आँखामा’, ‘हुँ यात्री एउटा’, ‘म त दूर देखि आएँ’,‘ एक्लै तिमी नआऊ म मातिएको बेला’’ तिम्रो मनमा बस्न सकूँ’, ‘गल्ती हजार हुन्छन्’,’ फरिया ल्याइदिएछन् त्यही पनि राता’, ‘मेरो आँखामा’, ‘मेरी मायालु’, गुराँसको फूल’ जस्ता दर्जनौँ सदाबहार गीतहरू गाएर बेलायतका दर्शकको मन जित्न सफल भए ।
गायक श्रेष्ठले स्थानीय गायिका तयाहाङ्मा राईसँग ड्वेट पनि गाएका थिए भने लन्डनवासी गायक प्रमोद शर्माले समेत केही गीत सुनाए । गायनसँगै उनले जीवनका उकाली वरालीमा घटेका तितामिठा अनुभवलाई पनि रमाइलो पारामा प्रस्तुत गरे ।
गायक श्रेष्ठको अनुरोधमा अन्तिम क्षणमा तय भएको कार्यक्रममा दर्शक राम्रो सहभागिता भएको भन्दै आयोजक द्वय सिद्धार्थविक्रम क्षेत्रीले र स्लाउ नेपलिज कम्युनिटीका संस्थापक केशर पाण्डेले गायक श्रेष्ठलाई सम्मान गरेका थिए । त्यसैगरी भेन्यू र खाना उपलब्ध गराउने डल्फिन आई पब एण्ड रेस्टुरेन्टका सञ्चालक सुरज कार्की, डिजे व्यवस्थापन गर्ने प्रमोद शर्मा र सनमकुमार बैरागसहित लाइभ म्यूजिक प्रस्तुत गर्ने स्थानीय वाद्यवादकहरुप्रति आभार व्यक्त गरे ।
‘गायन क्षेत्रमा लागेको नै ५५ वर्ष बितिसक्यो, उमेरले पनि डाँडा काटिसक्यो, अब फेरी बेलायत आएर भेटघाट हुन्छ हुँदैन, अत्यन्त शालीन दर्शकहरू पाएँ, दर्शकको प्रशंसा गर्दै थिए उनी । आयोजकलाई धन्यवाद दिँदै भोलिपल्टै नेपाल जान लागेको जानकारीसहित गायक श्रेष्ठ यसपटकको अन्तिम कार्यक्रमबाट बिदा भएका थिए । भविष्य जे जस्तो भएपनि बेलायतका दर्शकहरू उनको सदाबहार गीत सुन्न अझै प्रतिरक्षा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार
-
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
शुक्रबार र शनिबार कहाँ-कहाँ हुन्छ वर्षा ?
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना