सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

मोबाइलको लतबाट बच्चाहरूलाई कसरी छुट्कारा दिलाउने ?

बुधबार, ०९ असोज २०८१, ०१ : १५
बुधबार, ०९ असोज २०८१

काठमाडौं । अहिलेको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको एउटा अभिन्न अंग बनिसकेको छ । हाम्रै देखासिकीमा साना बच्चाहरू पनि मोबाइलविना बस्नै नसक्ने भइसकेका छन् । यो निकै चिन्ताको विषय हो । हिजोआज २ देखि ३ वर्षसम्मका बालबालिकालाई समेत मोबाइल फोनको लत लागेको देखिन्छ । 

बच्चाले चलाइरहेका फोन खोसिदिने हो भने उनीहरू हात खुट्टा फ्याँकेर रुन थाल्छन् । मोबाइल चाहियो भनेर जिद्दी गरिरहन्छन् । कतिपय बालबालिका त स्मार्टफोनविना खानासमेत खाँदैनन् । यसरी स्मार्टफोनको लतले बालबालिकाको मानसिक, शारीरिक र सामाजिक विकासमा असर पार्न सक्छ । तपाईका केटाकेटीमा पनि मोबाइलको लत छ ? कि छोराछोरीको लत कसरी हटाउने भनेर हैरान हुनुहुन्छ ? त्यसो हो भने आजको लेख तपाईहरूकै लागि हो ।

बच्चामा लत बस्नुको कारण बुझ्नुस्

यसमा सबैभन्दा पहिला बुझ्नु पर्ने कुरा भनेको बच्चाले फोनमा यति धेरै समय किन बिताइरहेको छ भन्ने हो । बच्चा दिक्क लागेर, एक्लोपन वा कुनै विशेष समस्यासंग जुधिरहेकोले मोबाइलको लतमा फसेको हो कि ? यसबारे बुझ्न छोराछोरीसँग कुरा गर्नुस् । एक पटक कारण थाहा पाइसकेपछि यसकोसमाधान खोज्न सजिलो हुनेछ ।

बालबालिकाको रुटिन बनाउने

बच्चाहरूको दिनचर्यामा दिनमा कुन समय कति बेरसम्म मोबाइल चलाउन पाइने भनेर समय सीमा तय गरिदिनुस् । उदाहरणका लागिः पढाइ, खेलकुद र परिवारसँग समय बिताउँदा स्मार्टफोनको प्रयोग निषेध गर्नुपर्छ । यसले बच्चामा अनुशासन जगाउँछ र उसले समयको महत्त्व पनि बुझ्छ ।

वैकल्पिक गतिविधिहरूमा रुचि जगाउने  

बालबालिकाहरूलाई स्मार्टफोनको लतबाट मुक्त गर्न उनीहरूलाई अन्य रोचक खेल वा शौकहरूमा संलग्न गराउनुहोस् । पुस्तकहरू पढ्न, चित्रकला, संगीत सिक्न वा खेल खेल्न प्रेरित गर्नुस् । जब बच्चाले यी गतिविधिहरूको आनन्द लिन्छ, तिनीहरू स्वाभाविक रूपमा स्मार्टफोनबाट टाढा रहनेछन् ।


फोन चलाउने समय सीमित गर्ने

बच्चाहरूको फोन प्रयोग समय सीमित गर्न आमाबाबुले टाइमर सेट गर्न सक्नुहुन्छ । त्यहाँ धेरै एप र सेटिङहरू छन् जसले बच्चाहरूको फोन प्रयोग नियन्त्रण गर्न मद्दत गर्दछ । यसले तिनीहरूलाई फोन सीमित समय पछि प्रयोग गर्न सकिँदैन भनेर थाहा दिनेछ ।

आफैं उदाहरण बनेर देखाउने

छोराछोरीले आमाबाबुको देखासिकी गर्छन् । तपाई जति बेला पनि फोनमै झुन्डिरहनु हुन्छ भने बालबालिकाहरूले पनि त्यसकै नक्कल गर्न खोज्छन् । तपाईं आफैंले फोन धेरै प्रयोग गर्नुहुन्छ भने तपाईको छोराछोरीले पनि त्यस्तै गर्छन् । त्यसैले आफैंले पनि फोन चलाउने तरिका सुधार्नुस् र बच्चाहरुलाई पनि जिम्मेवारीपूर्वक फोन कसरी प्रयोग गर्ने भनेर उदाहरण देखाउनुस् ।

सकारात्मक कुराकानी र साहारा

बालबालिकालाई सिधै मोबाइल चलाउन पाइन्न भनेर भन्दा उनीहरुको स्मार्टफोनको लत अझै बढ्न सक्छ । त्यसैले स्मार्टफोनको अत्याधिक प्रयोगले उनीहरूको स्वास्थ्य, आँखा र मानसिक विकासमा कस्तो असर पार्न सक्छ भन्ने कुरा उनीहरूलाई बुझाउनुस् । तिनीहरूसँग सकारात्मक कुरा गर्नुहोस् र तिनीहरूको भावनात्मक पक्षहरू बुझ्ने कोशिश गर्नुस् ।

सुत्दा बेलामा फोनबाट टाढा रहने
राती सुत्नुअघि स्मार्टफोन प्रयोग गर्दा बालबालिकाको निद्रा चक्रमा बाधा पुग्न सक्छ । त्यसैले सुत्नुभन्दा एक घण्टा अगाडि फोनलाई टाढा राख्नुस् र बच्चाहरूलाई सुत्नुअघि किताब पढ्ने, ध्यान गर्ने वा कुरा गर्ने बानी बसाल्नुस् ।

परिवारसँग समय बिताउने

स्मार्टफोनको लतबाट छुटकारा पाउनको लागि एक उत्तम तरिका भनेको परिवारका सदस्यहरूसँग धेरैभन्दा धेरै समय बिताउनु हो । समय मिल्दा सम्म परिवारका सदस्यहरूसँग खेल्नुस्, कुराकानी गर्नुस् र मिलेर केही क्रियाकलाप गर्नुस्, जसले बच्चाहरूलाई उनीहरू एक्लो छैनन्, माया र साहार पाइरहेको महसुस गर्न मद्दत मिल्छ ।

पुरस्कार र प्रशंसा दृष्टिकोण अपनाउने

बच्चाले स्मार्टफोनको प्रयोगलाई सीमित गर्दा उनको प्रशंसा गर्नुस् । तपाईले यसलाई गेम बनाउन सक्नुहुन्छ । जस्तैः स्मार्टफोनको सकेसम्म कम प्रयोग गर्ने बच्चाले केही विशेष पाउँछन् भने भनिदिनुस् । यसबाट पनि बच्चालाई स्मार्टफोन कम चलाउन प्रोत्साहन मिल्छ ।

स्मार्टफोनको लतबाट छुटकारा दिलाउनु एक दिनको काम होइन । यसका लागि धैर्यता, समझदारी चाहिन्छ भने  बालबालिकासँग सकारात्मक व्यवहार गर्नु पर्छ । सही दिशानिर्देश र मायाले बच्चालाई प्रविधिको सकारात्मक र नकारात्मक पक्षलाई सन्तुलनमा राख्न सिकाउन सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप