बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभु साहको प्रश्न, ‘सरकारको गलत क्रियाकलापको विरोध गर्नेहरूलाई दण्ड किन ?’

मङ्गलबार, ०८ असोज २०८१, २० : १८
मङ्गलबार, ०८ असोज २०८१

काठमाडौँ ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत क्रियाकलापको विरोध गर्नेहरू उल्टै दण्डित हुनुपर्ने कारणले ‘वाक स्वतन्त्रताको हक’ गम्भीर अवस्थामा पुगेको टिप्पणी गरेका छन् । 

आजपा पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले आजको समयमा वाक स्वतन्त्रताको हक गम्भीर सङ्कटमा पुगेको बताए । बर्षौदेखिको त्याग, तपस्या र आन्दोलनबाट प्राप्त वाक स्वतन्त्रता सरकारकै कारण सङ्कटमा परेको उनले बताए । 

‘नेपालमा वाक स्वतन्त्रताको विषय गम्भीर बन्दैछ । सरकारको गलत क्रियाकलापको विरोध गर्नेहरू उल्टै दण्डित हुनुपर्ने अवस्था छ । बर्षौँदेखिको त्याग, तपस्या र आन्दोलनबाट प्राप्त अभिव्यक्ति स्वतन्त्रता आज गम्भीर सङ्कटमा परेको छ’ आजपा अध्यक्ष साहले भने, ‘नेताहरू सत्ता उन्मादमा मातेका छन् । आफ्नो कुकर्म छोप्न जेपनि स्तरमा पुगेका छन् । के सरकारको भ्रष्टाचारको विरोध गर्नै नहुने हो र ? नेताहरूले गरेको भ्रष्टाचारको विरोध गर्‍यो भने झुटो मुद्दा खेप्नुपर्ने अवस्था छ ।’

सत्तामा पुगेका नेताहरूले भ्रष्टाचारमा देशैभरि आतङ्क मच्चाएको उनले आरोप लगाए । ‘हामी टुँडिखेल बिर्सिएका छैनौँ । विभिन्न क्षेत्रहरूमा सही कुरा बोले बापत झुटो मुद्दा लगाइएको छ । वीरगन्जमा वीरगन्ज टेलिभिजनले मालपोतको बेथितिको बारेमा समाचार प्रसारण गरेबापत टेलिभिजनका पत्रकार, मालिकदेखि लिएर सही कुरा गर्ने उपभोक्तालाई समेत मुद्दा लगाइएको छ । यो भनेको स्वतन्त्रताको हकमाथिको हमला हो’ साहले भने । 

अहिलेको लोकतन्त्र नभई दलाल लुटकारी दलतन्त्र भएको बताउँदै उनले दलतन्त्र राजाको पथमा अगाडि बढेको टिप्पणी उनले गरे । राजाको पथमा अगाडि बढ्नु भनेको बिनाको बाटो भएको उनले बताए । आम जनताले फेरी स्वतन्त्रताका लागि आन्दोलनमा उत्रिनुको विकल्प नभएको बताउँदै उनले त्यसका लागि आम जनता पार्टीले नेतृत्व गर्न तयार रहेको बताए । 

भ्रष्टाचार, बेथिति, कुशासन, अनियमितताको विरुद्धमा एकजुट भएर अगाडी बढ्नुको विकल्प नभएको बताउँदै उनले अभिव्यक्ति स्वतन्त्रताका लागि सबै एकजुट नभए भ्रष्ट शासकले देशमा आतङ्क बचाउने उनले बताए । 

आजपाले गत ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्नेको थियो । यसका साथै हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयन र पार्टीद्वारा भइरहेका आन्दोलन लगायतको विषयमा बैठकमा गम्भीर समीक्षा भएको महासचिव त्रिभुवन साहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप