अमेरिकामा ममता काफ्लेका पतिले पाएनन् जमानत
![अमेरिकामा ममता काफ्लेका पतिले पाएनन् जमानत](https://npcdn.ratopati.com/media/news/naresh-and-mamta-_YTluD3V0ZR.jpg)
भर्जिनिया । अमेरिकाको एक न्यायाधीशले नेपाली नर्स ममता काफ्ले बेपत्ता तथा हत्या प्रकरणमा काफ्लेको श्रीमानलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेका छन् । ममता बेपत्ता हुनु र उनको हत्यामा पति नरेश भट्टको संलग्नताबारे विछुब्द पार्ने खालको नयाँ प्रमाण भेटिएपछि जमानत अस्वीकार गरिएको हो ।
प्रिन्स विलियम काउन्टीका अभियोजनकर्ताहरूले काफ्लेको परिवारका सदस्य र साथीभाइहरू भरिभराउ रहेको अदालतको कोठामा सरकारी वकिलहरूले के९ क्याडाभर कुकुरले दम्पतीको घर र बाथरुममा काफ्लेको मृत शरीरको संकेत फेला पारेको बताएका थिए ।
ममता हराउने बित्तिकै नरेश कयौँ स्थानमा फोहोरको झोला फ्याक्न गएको सीसीटीभी फुटेजले देखाएको छ । यतिबेला उनले हातमा पञ्जा पनि लगाइरहेका थिए । त्यतिबेला ममताको शवको टुक्रा तह लगाउन नरेश ती स्थानहरूमा गएको सरकारी वकिलहरूको भनाई थियो । ममताको शव अहिलेसम्म नभेटिएकोले आफूलाई हिरासतमा राखिराख्न नहुने दाबीसहित नरेशले धरौटीमा रिहा गर्न माग गरेका थिए ।
सोही याचिकाको सुनवाइको क्रममा सरकारी वकिलहरूले नरेशले ममताको शव टुक्रा–टुक्रा पारेर विभिन्न स्थानमा फ्याकेको प्रमाण पेस गरेका थिए । नरेशले शव तह लगाएको भनेर अदालतमा प्रमाण पेस गरिएको यो पहिलो पटक थियो । ममता मरिसकेको हुन सक्ने अनुमान गरिएको भएपनि उनको खोजीकार्य जारी छ । ममतालाई अन्तिम पटक मनसासको यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा जुलाई २७ मा देखिएको थियो । त्यहाँ उनी रिजष्टर्ड नर्सको रूपमा मेडिकल सर्जिकल एकाईमा काम गर्थिन् ।
नरेशमाथि आफ्नै घरमा श्रीमतीलाई मारेको र उनको शवलाई घरबाहिर घिसार्दै ल्याएको आरोप लागेको छ । अदालतको रेकर्डअनुसार नरेशमाथि शव लुकाएको अभियोग चलाइएको छ । अगट २२ मा अधिकारीहरूले भटटको घरमा खोजतलास गरेपछि उनलाई समातेर लगिएको थियो । भट्टमाथि औपचारिक रूपमा हत्याको अभियोग चलाइएको छैन ।
प्रहरीले गुगल म्यापसँग माग्यो नरेशको सर्च, लोकेशन हिष्ट्री
नरेशले काटकुट गरेर ममताको शव फालेको दाबीपछि प्रहरीले गुगल म्यापसँग उनको लोकेसनको हिष्ट्री मागेको छ । अनुसन्धान अधिकृतहरूले अदालतबाट अनुमति लिएर नरेशको लोकेसन, सर्च हिस्ट्री, अरू कुनै सोसल मिडिया एकाउन्टलगायतका विवरण माग्दै पठाएका हुन् । मनसास पार्क प्रहरीले २७ जुलाईदेखि २१ अगस्टको अवधि सम्मको विवरण खोजिरहेको छ ।
जियो लोकेसनको जानकारी अत्यन्त महत्त्वपूर्ण हुन सक्ने र सर्च गरिएका वेबसाइटबाट पनि केही संकेत मिल्न सक्ने अनुसन्धानमा संलग्न एक अधिकारीले भनेका छन् । उता, नरेशका वकिलहरूले ममता जीवित रहेको दाबी गर्दै उनलाई छाड्नुपर्ने माग गरेका थिए । ममता हराएको केही समयलगत्तै पछि नरेशले आफ्नो टेस्ला कार बेचेका थिए । यसले पनि अनुसन्धानलाई थप जटिल बनाएको छ । प्रहरी अब कारको क्यामरा फुटेज र जीपीएस लोकेसन डाटालाई पनि अन्वेषण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब भत्ता बढाउनुपर्छ : मुख्यमन्त्री सिंह
-
भिर माहुरीको मह खाँदा अस्पताल पुगे संगीतकार सुरेश अधिकारी
-
शर्माको रिट खारेज, स्वास्थ्य सचिवमा बगाले कायम
-
भारतको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान
-
जोगमेहर श्रेष्ठलाई हराउने नानीमैयाँ दाहालको निधन
-
अध्यादेशमा उपेन्द्र र सरकार मुख हेराहेरको अवस्थामा