बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सहकारी ठगी प्रकरण

आत्तिएका रविलाई अन्य दलले दिए सहयोगको आश्वासन

पक्राउ गर्ने योजना एकाएक ‘होल्ड’
मङ्गलबार, ०८ असोज २०८१, १६ : ११
मङ्गलबार, ०८ असोज २०८१

काठमाडौँ । सभापति रवि लामिछानेलाई पक्राउ पर्नबाट रोक्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्षमा रहेका दलहरूको समर्थन खोजेको छ । रास्वपा स्रोतले दिएको जानकारी अनुसार नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षमा रहेका अन्य दलले रविलाई साथ दिने प्रतिबद्धता जाहेर गरेका हुन् ।

‘सत्तामा रहेका दल एमाले र कांग्रेसबाहेक अन्य दलसँग कुराकानी भएको छ । नियतवश रविजीलाई दुःख दिन प्रतिशोधको भावनाले सरकार अघि हामी साथ दिन्छौँ भन्ने प्रतिबद्धता आएको छ,’ स्रोतले रातोपाटीसँग भन्यो, ‘माओवादी, राप्रपा लगायत दलसँग कुराकानी भएको छ । सकारात्मक रेस्पोन्स पाएका छौँ ।’

सहकारी बचत अपचलन प्रकरणमा संसदीय समितिले प्रतिवेदन बुझाएपछि प्रतिवेदन कार्यान्वयनको निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । जसअनुसार बचत अपचलन प्रकरणमा दोषी देखिएका पूर्वडीएसपी तथा गोरखा मिडिया नेटवर्कका एक स्थापनाकर्ता छविलाल जोशी पक्राउ परेका छन् । जोशीलाई कास्की प्रहरीले पक्राउ गरेपछि रास्वपामा डर पैदा भएको छ । सभापति लामिछाने आफैँ पनि आत्तिएका छन् ।

‘सभापतिज्यू आफैँले पनि दलका नेताहरूसँग कुरा गर्नुभएको छ । संसदीय दलको उपनेताले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह लगायतसँग संवाद गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘गृहमन्त्री रमेश लेखकले पनि संवाद गर्न चाहनुभएको छ । सबै नेताहरूले सबैसँग सकेसम्म संवाद गरिरहनुभएको छ ।’

BS_L9910

स्रोतका अनुसार रविले आफूमाथि राजनीतिक प्रतिशोध साँधेको र दुई ठुला दल मिलेर अन्य दललाई सिद्ध्याउने रणनीति लिएको भन्दै अन्य दलको साथ खोजेका थिए ।

‘रविलाई सिद्ध्याएपछि वैकल्पिक राजनीति र सम्पूर्ण प्रतिपक्षलाई सिद्ध्याउने जोड छ । रविलाई बचाउने मात्र होइन, सिङ्गो देशलाई दुई दलले लाद्न खोजेको भारी र प्रतिपक्षलाई सिद्ध्याउन खोजिएको रणनीतिलाई जमेर प्रतिरोध गरौँ भनेपछि अन्य दल पनि तयार भएको ब्रिफिङ भएको छ,’ स्रोतले भन्यो ।

सूर्य थापा नेतृत्वमा बनेको सहकारी बचत अपचलन विशेष छानबिन समितिले झन्डै १२ सय पृष्ठको प्रतिवेदन संसद्मा बुझाएको छ । प्रतिवेदनले विभिन्न सहकारीबाट ६५ करोड रुपैयाँभन्दा बढी रकम गोरखा मिडिया अन्तर्गत ग्यालेक्सी टेलिभिजनमा गएको निष्कर्षसहित विभिन्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ ।

समितिको प्रतिवेदनले सहकारीबाट पैसा गोरखा मिडियामा भित्र्याउन जीवी राई र छविलाल जोशीलाई दोषी देखाएको छ । सहकारीमा प्रस्तुत भएको कागजपत्र पनि किर्ते भएको समितिको ठहर छ । गोरखा मिडिया नेटवर्कमा पैसा आएपछि लामिछाने पनि त्यो पैसा अपचलनमा जोडिएको उल्लेख गर्दै समितिको प्रतिवेदनले कारबाही गर्न सिफारिस गरेको छ ।

त्यसैले जोशी पक्राउ परेपछि लामिछाने आत्तिएको उनकै दलका एक नेताको भनाइ छ । जोशीको बयानपछि रविलाई जुनसुकै बखत पक्रने निष्कर्ष पार्टीको छ ।

‘२ दिन अगाडि नै पक्राउको प्रयास भएको हो । तर, सफल भएन । हाम्रो निष्कर्ष जुनसुकै समय रविलाई पक्राउ गर्छ र केही दिनलाई भए पनि जेलमा पुर्‍याउँछन् भन्ने छ,’ रास्वपा स्रोतले भन्यो ।

त्यसो त आइतबार राति नै ‘रवि पक्राउ पर्ने’ भन्दै समाचार बाहिरिएका थिए । त्यसबखत रास्वपाले कार्यकर्तासहित उपलब्ध नेताहरूलाई पार्टी कार्यालय बोलायो । उपसभापति स्वर्णिम वाग्लेसहित चीन पुगेका नेताहरूलाई पनि तत्काल स्वदेश फर्कन निर्देशन दियो । उक्त टोली बुधबार नेपाल फर्कने तयारीमा छ । त्यसपश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै रविले आफूलाई जतिबेला पनि पक्रन सक्ने भन्दै कार्यकर्तालाई प्रतिरोधका लागि तयार भएर बस्न निर्देशन दिए । आत्तिएका उनले त्यसपश्चात् पनि निरन्तर परामर्श गरिरहेका छन् ।

अमेरिका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै उनले स्ट्याटस लेखेका छन् । साथै प्रधानमन्त्रीसँग रविको संवाद भएको हुन सक्ने आशङ्का पनि राजनीतिक वृत्तमा छ ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम रवि लामिछानेले प्रधानमन्त्रीसँग कुरा गरेको आफूलाई थाहा नभएको बताए । साथै उनले लामिछानेले कसैसँग खुसामद गर्नु र नगर्नुको कुनै अर्थसमेत नभएको बताए ।

‘किनभने संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्नुको कुनै विकल्प छैन । समितिको रिपोर्ट कार्यान्वयनका लागि क्याबिनेटले निर्णय गरेर गृहमन्त्रीलाई निर्देशन भैसकेको छ,’ उनले भने, ‘क्याबिनेटले गृह मन्त्रालयलाई बुझाइसकेपछि र गृहमन्त्रीले पनि आवश्यक कारबाही गर्नतर्फ अघि बढाइसकेपछि जाने कार्यान्वयनको तहमै हो । त्यो कुनै माथि खुसामद गरेर मिल्ने कुरा होइन ।’

  • अदालतमा पेस गर्ने जवाफ तयार गरेर बसेका छन् रवि

रास्वपाले अदालतबाट पक्राउ पुर्जी आएमात्र स्वीकार गर्ने तयारी गरेको छ । अन्यथा गृह मन्त्रालयले प्रहरी प्रशासन लगाए प्रतिवाद गर्ने तयारी उसको छ । एक नेताले दिएको जानकारी अनुसार यसका लागि पार्टीले कानुन व्यवसायीसँग व्यापक छलफल गरेको छ ।

अदालतमा फेस गर्दा कस्ता तर्क प्रस्तुत गर्ने भन्ने लिखित तयारीसम्म पार्टीले गरिसकेको छ । ‘अदालतबाटै आए स्वीकार हुन्छ । राजनीतिक प्रतिशोध स्वीकार गर्न सकिँदैन,’ ती नेताले भने, ‘अदालतमा हाजिर हुनुपरे हामीले के कस्ता विषय र तथ्यप्रमाण प्रस्तुत गर्ने, त्यो सबै तयार गरेर बसेका छौँ ।’

रवि आफैँले पनि निष्पक्ष अनुसन्धान भए सहयोग गर्ने बताएका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापा लक्षित अभिव्यक्ति दिँदै उनले कसैको राजनीति जोगाइदिन आफू बलिको बोका भने बन्न नसक्ने स्पष्ट पारेका छन् ।

biraj

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पनि राज्यले निष्पक्ष ढंगबाट गर्ने छानबिन प्रक्रियामा सहयोग गर्ने जानकारी दिए । तर, राजनीतिक प्रतिशोध साधेर सरकारले पक्राउ गर्ने विषय स्वीकार्य नहुने उनले बताए ।

‘अदालतबाट आए हामीलाई सबै कुरा क्लिन गर्ने अवसर पनि हुन्थ्यो । राज्यले निष्पक्ष ढंगबाट गरेको काममा सधैँ हाम्रो साथ रहन्छ,’ उनले भने, ‘तर, प्रतिशोधको राजनीति स्वीकार्य हुँदैन । हाम्रो राजनीतिक उदय नपचेर सरकाले देखाएको रवैया हामीलाई स्वीकार्य छैन ।’

  • रविलाई पक्राउ गर्ने योजना एकाएक ‘होल्ड’

असोज ६ मा काठमाडौँको बानेश्वरबाट पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेपछि टार्गेटमा थिए रवि लामिछाने । सरकारले आफूविरुद्ध एक्सन लिनसक्ने आकलन गरेका लामिछाने पक्राउ पर्ने डरले आत्तिएका थिए ।

raswapa

त्यस दिन पार्टी कार्यालय बाहिर ठुलो सङ्ख्यामा प्रहरी उपस्थित थिए । प्रहरी वृत्त बालाजुका डीएसपी राम कुमार दानी र प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सत्य थापालाई त्यहाँ पठाइएको थियो । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्, ‘छविलाल जोशीलाई पक्राउ गरेपछि लामिछानेबारे स्ट्याण्डबाई भनिएको अवस्था हो ।’

तर, प्रहरी एकाएक ब्याक भयो । लामिछानेलाई पक्राउ गर्ने योजना ‘होल्ड’ भन्ने आदेश आएपछि डीएसपीद्वय बनस्थली स्थित रास्वपाको कार्यालयबाट फर्केका हुन् ।

पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना बारे छविलाल जोशीसँग बयान लिएरमात्र रविलाई पक्राउ गर्ने प्रहरीको तयारी छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीसँग भने, ‘सूर्यदर्शनको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान सुरु गरेका छौँ । बयान र प्रमाणका आधारमा थप आरोपित पक्राउ पर्नसक्ने अवस्था रहन्छ ।’

पूर्वडीआईजी जोशी, पूर्वगृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई व्यापारिक साझेदार हुन् । उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

जोशीमाथि कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान थालेको छ । मंगलबारबाट पूर्वडीआईजी जोशीको बयान थालिएको कास्कीका एसपी मोहन थापाले बताए । उनले भने, ‘बयान लिँदै छौँ ।’

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा प्रहरीले जोशीलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ ।

लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । सहकारीबाट अवैध तरिकाले ल्याएको करोडौँ रकम उनको हस्ताक्षरबाट चेक काटिएको छ । सहकारीबाट ऋण प्रवाह गर्न आवश्यक कागजात जीबी राई सहितको समूहले ‘किर्ते’ गरेको संसदीय छानबिन समितिको निष्कर्ष छ । जोशीविरुद्ध किर्ते कागजातबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, सरकारी कागजात किर्ते नगरेको अवस्थामा किर्ते मुद्दा चल्ने कानुनी व्यवस्था छैन् ।

  • कुरा नमिलेपछि गोर्खा मिडियाबाट निस्किएँ ः छविलाल

गोर्खा मिडिया जीबी र छविले ५०–५० प्रतिशत लगानी गरेर स्थापना गरेका हुन् । त्यसैबाट उनीहरूले लामिछानेलाई १५ प्रतिशत ‘स्वेट’ सेयर दिएका हुन् । जीबी राईले लगानी बढाउने प्रस्ताव ल्याएर आफ्नो घर धितो राख्न खोजेपछि कुरा नमिलेको जोशीले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।

प्रहरीसँग उनले भनेका छन्, ‘रविलाई मेरो तर्फबाट ७ दशमलव ५ प्रतिशत सेयर छाडेर निस्केको हुँ । पछि पैसा कहाँबाट ल्याए, मलाई थाहा भएन ।’  

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ । समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेविरुद्ध पूरक अभियोग लैजान लागिएको हो ।

गोर्खा मिडियाका अध्यक्ष गितेद्रबावु राई विरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । उनलाई पक्राउ गर्न इन्टरपोलबाट रेड नोटिश जारी गरिएको छ । सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परेका थिए । अहिले उनी मुद्दा पुर्पक्षका लागि थुनामा छन् । सूर्यदर्शनको १ अर्ब ८ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप