बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

कर्णाली रङ्गशालाको काम ९५ प्रतिशत सकियो

बुधबार, ०९ असोज २०८१, ०६ : ११
बुधबार, ०९ असोज २०८१

सुर्खेत । कर्णाली सरकारद्वारा निर्माणाधीन एकमात्र गौरवको आयोजना प्रदेश रङ्गशालाको काम अन्तिम चरणमा पुगेको छ । रङ्गशाला निर्माणको काम ९५ प्रतिशत पूरा भएको हो ।

बाँकी ५ प्रतिशत काम असोज मसान्तसम्म सकिने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । अहिले रङ्गशालामा दुई सय मजदुर र मेसिनले काम गरिरहेका छन् ।

१० हजार दर्शक अट्ने क्षमताको उक्त रङ्गशालामा अहिले अन्तिम चरणका सिट राख्ने, फ्यासिलिटी भवनको छाना, बिजुली, रङरोगन लगायतका काम भइरहेका छन् ।

ठेकदार कम्पनी एमएसी–जीएसएलका प्रतिनिधि दीपक बरालका अनुसार १० हजार सिटमध्ये ६ हजार राखिसकिएको छ भने बाँकी चार हजार सिट अबको केही दिनमा राखिने छ ।

फ्यासिलिटी भवनमा छानाको काम अन्तिम अवस्थामा छ भने सेनेटरी, बिजुली र रङरोगन गर्ने काम आधा भइसकेको छ । कबर्ड हलको कार्य थोरै बाँकी छ । रङ्गशालामा दुई वटा ठुला गेट बनाइएको छ । ती गेटको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

एउटा गेट सर्वसाधारणका लागि र अर्को भीआईपी गेट बनाइएको छ । ती गेट निकै कलात्मक (पञ्चमुख मन्दिर) तरिकाले बनाइएका छन् ।

रङ्गशालाभित्रका संरचना अत्याधुनिक प्रविधिबाट बनाइएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालन गर्ने गरी संरचना बनाइएको प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले रातोपाटीलाई बताए ।

karnali rangashala

फुटबल मैदान, प्याराफिट, पौडी पोखरी, भलिबल कर्बड हल, एथलेटिक्स ट्रयाक, मार्सल आर्ट इन्डोर हलदेखि आउटडोर हल निर्माण भइसकेका छन् ।

ती संरचना अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइएको सञ्ज्याल बताउँछन् । मैदानभित्र सिँचाइका लागि नयाँ प्रविधिको स्प्रिनकल जडान गरिएको छ भने भारी वर्षात् हुँदा २५ मिनेटमै मैदानको पानी सुक्ने गरी व्यवस्था गरिएको छ ।

खेलाडीको सुविधाका लागि वेटिङ कक्ष, रेस्टरुम, फिजियो कक्ष, चेन्जिङ कक्ष, मेडिकल कक्ष लगायतका संरचना बनाइएका छन् ।

अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गने गरी बत्ती जडान गरिएको छ भने व्यवस्थित साउन्ड सिस्टम राखिएको छ ।

पौडी पोखरी ‘फिना’ स्टान्डरको बनाइएको छ, जुन २५ मिटर चौडाइ र २५ मिटर लम्बाइको छ । त्यसमा एकै पटक १० जनाले भाग लिन सक्नेछन् भने पानी फिल्टर गर्ने मेसिन र प्रतियोगितामा सहभागी हुने खेलाडीलाई छुट्टै भवनसमेत बनाइएको कम्पनीका प्रतिनिधि इन्जिनियर बरालले बताए ।

सदस्यसचिव सञ्ज्याल भन्छन्, ‘रङ्गशालाभित्र कर्णालीका इतिहास झल्कने परम्परागत चित्र पनि राख्ने छौँ, जसले रङ्गशालाको शोभा झन् बढ्ने छ ।’ रङ्गशालाभित्र खाली रहेको ठाउँमा विभिन्न बिरुवा रोपिएका छन् ।

सञ्ज्यालले असोज मसान्तसम्म सम्पूर्ण काम सम्पन्न गरिसक्ने दाबी गरे । एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय लागत रहेको रङ्गशालामा एक अर्ब ५० करोड जतिको काम भइसकेको उनले बताए ।

3

०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले रङ्गशाला निर्माणको शिलान्यास गरेका थिए । रङ्गशालामा विभिन्न १६ वटा खेल खेलाउन सकिने छ ।

‘हामीले १०औँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर काम धमाधम गरेका हौँ तर राजनीतिक खिचातानीका कारण मंसिरमा हुने भनिएको प्रतियोगिताबारे अन्योल बढेको छ,’ उनले भने, ‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गरेका हौँ । केन्द्रबाटै प्रतियोगिता पछाडि धकेल्ने काम भयो ।’

सङ्घीय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता फागुनसम्ममा हुने बताएका छन् । मंसिर, पुस र माघ महिनामा चिसो हुने भन्दै फागुनतिर प्रतियोगिता गर्न सकिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप