थपिँदै डेंगुका बिरामी, भरिँदै अस्पताल (तस्बिरहरु)
काठमाडौँ । डेंगुका बिरामी थपिँदै गएपछि अस्पतालहरू पनि भरिँदै गएका छन् । काठमाडौँमा असोज सुरु भएयता डेंगुका बिरामीको चाप बढ्दै गएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ । आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवका अनुसार अस्पतालमा १० दिनयता डेंगु संक्रमितको संख्यामा उल्लेख वृद्धि भएको छ ।
‘असोज १ गते ११ जना, २ गते ३ जना, ३ गते जना २३, ४ गते २८ जना, ५ गते १९ जना र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना भएका छन् । जबकि साउन ११ र भदौ महिनाभर ५३ जना मात्रै डेंगुका संक्रमित अस्पतालमा भर्ना भएका थिए’, यादवले भने । यस्तै आइतबार एकैदिन २० जना बिरामीलाई अस्पतालले डिस्चार्ज गरेको उनले बताए । उनका अनुसार इमर्जेन्सीका साथै शुक्रराज अस्पतालको फिभर क्लिनिकमा पनि बिरामीको संख्या बढेको छ ।
काठमाडौँका साथै अहिले नेपालभर डेंगुको संक्रमण बढेको छ । गत पुसयता मात्रै ११ हजार ५४५ जना मानिस डेंगु संक्रमण भएर अस्पताल पुगेका छन् भने तीमध्ये ६ जनाको मृत्यु भएको छ ।
‘इमर्जेन्सीमा आउनु भएका बिरामीमध्ये अवस्था हेरेर हामी भर्ना लिने गर्छौं । कोही बिरामी अवस्था जटिल भएपछि मात्रै आउनुहुन्छ । उहाँहरूलाई हामी आइसियुमा राखेर उपचार गर्छौं नभए सामान्य अवस्था छ भने उहाँहरूकै आग्रहमा अवस्था हेरेर घर जान अनुमति दिन्छौँ । टाढाबाट आउनु भएका बिरामीको हकमा भने हामी उहाँहरूलाई वार्डमा भर्ना गरेर केही दिन अब्जरभेसनमा राखेर सुधारिएपछि जान दिन्छौँ,’ यादवले भने । यो पटक सबैभन्दा धेरै संक्रमित गण्डकी प्रदेशमा ५ हजार ४८२ जना छन् । बागमतीमा भने ३ हजार १७८ जनामा संक्रमण भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार उच्च जोखिममा कास्की, तनहुँ, काठमाडौँ, पर्वत, चितवन, गोरखा, ललितपुर जिल्ला छन् । पछिल्लो हप्ता पानी पर्न रोकिएसँगै डेंगुका लार्भा सक्रिय हुन थालेको यादवले बताए । जसका कारण डेंगु संक्रमण बढ्दै गएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’