आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

एउटा चिकित्सकको तेक्वान्दो खेलाडीदेखि विश्वकप क्रिकेटसम्मको यात्रा

मङ्गलबार, ०८ असोज २०८१, १३ : ३२
मङ्गलबार, ०८ असोज २०८१

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको नवौँ संस्करण अक्टोबर ३ देखि २० तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुँदैछ । प्रतियोगितामा १० वटा टोलीले भाग लिँदैछन् । अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका प्रतियोगिताको समूह ‘ए’ मा छन् । बङ्गलादेश, इङ्गल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज समूह ‘बी’ मा परेका छन् ।

यसपटक स्कटल्यान्डले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छ । स्कटल्यान्डले पहिलो पटक महिला टी–२० विश्वकप खेल्न लागेको हो । स्कटल्यान्डलाई विश्वकपमा छनोट गराउन २५ वर्षीया अब्ताहा मकसुदको भूमिका महत्वपूर्ण रहेको थियो ।

उनी टोलीकी प्रभावशाली स्पिन बलर हुन् । पहिलो पटक विश्वकपको अनुभव बटुल्ने तयारीमा रहेकी अब्ताहा मकसुद आफू निकै उत्साही छिन् । ‘एक दिन क्रिकेट विश्वकप पनि खेल्नेछु भनेर मैले सपनामा पनिसोचेकी थिइनँ,’ उनी भन्छिन् ।

रमाइलो पक्ष के भने, उनी पहिले तेक्वान्दो खेलाडी थिइन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका तेक्वान्दो प्रतियोगितामा उनले थुप्रै पदक पनि जितेकी छन् । तेक्वान्दो खेलाडीका रूपमा उनले सन् २०१४ मा ग्लासगोमा आयोजित राष्ट्रमण्डलीय खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाएकी थिइन् ।

उनी पछिमात्र तेक्वान्दो खेल छाडेर क्रिकेटमा सक्रिय भएकी हुन् । ‘पहिले क्रिकेट मेरो रोजाइको खेल थिएन । म तेक्वान्दो खेलाडीका रूपमा आफ्नो परिचय बनाउन चाहन्थेँ । मेरो परिवारका सदस्यलाई भने क्रिकेटमा निकै रुचि थियो । त्यसैले बिस्तारै म पनि क्रिकेटमा होमिन पुगेँ,’ उनी भन्छिन् ।

खेलसँगै अध्ययनमा समेत अब्बल उनी चिकित्सक पनि हुन् । उनी दाँतको डक्टर हुन् । अब्ताहा मकसुदले स्कटल्यान्डको राष्ट्रिय टोलीबाट हालसम्म ५३ वटा टी–२० प्रतियोगिता खेलिसकेकी छन् । उनले टी–२० खेलमा कुल ५४ विकेट पनि लिइसकेकी छन् ।  

अब्ताहा मकसुदको परिवार पाकिस्तानबाट स्कटल्यान्डमा बसाई सरेको हो । तर, उनको जन्म भने स्कटल्यान्डमै भएको हो । अब्ताहा मकसुदले हिजाब लगाएर अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडीको परिचय पनि बनाएकी छन् ।

उनको जन्म स्कटल्यान्डमै भए पनि आफ्नो रितिरिवाजप्रति उनी निकै संवेदनशील छिन् । त्यसैले उनी हिजाब लगाएरै मैदानमा ओर्लन्छिन् । सामाजिक सञ्जालमा पनि अब्ताहा मकसुदको भिडियो भाइरल हुने गरेको छ ।

‘सुरुमा मैले केवल मनोरञ्जनका लागि क्रिकेट खेल्न सुरु गरेकी थिएँ । बिस्तारै यो खेलले मेरो मन लोभ्यायो । त्यसपछि त यो खेलसँग छुट्टिनै नसक्ने गरी जोडिन पुगेँ,’ उनी भन्छिन् । १० वर्षसम्मको अथक प्रयासपछि आफ्नो टोली विश्वकपमा पुग्न सफल भएको उनी बताउँछिन् । उनी विश्वकपमा आफ्नो टोलीले बलिया प्रतिद्वन्द्वीहरूलाई गतिलो चुनौती दिने दाबी पनि गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप