बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
शिक्षण पेसा

स्कुल पढाएर पनि जीवन चल्छ, आफ्नो भविष्य नबनाउने ?

मङ्गलबार, ०८ असोज २०८१, १२ : ५१
मङ्गलबार, ०८ असोज २०८१

ज्ञान भनेको जति अरुलाई बाँड्यो, त्यति बढ्छ । स्कुले जीवनमा त्यति साह्रै पढ्ने विद्यार्थी होइन म, तर फेल भएको थाहा छैन । मलाई सम्झना छ— स्कुले जीवनमा म साथीहरूसँग भन्दा आफूभन्दा स–साना भाइबहिनीसँग रमाउँथेँ, किताब पढ्न रुचाउँथेँ । आफूभन्दा साना बालबालिकासँग रमाउने मेरो स्वभाव नै हो । सायद त्यसैले म आज भाइबहिनीलाई पढाउने पेसा (निजी विद्यालय)मा आबद्ध छु, अर्थात् मेरो मनले आफू रमाउने ठाउँ पाएको छ । 

समाजमा शिक्षण पेसालाई प्रतिष्ठित रूपमा त हेरिन्छ, तर आर्थिक पक्षबाट अर्थात् जनजीविकाका हिसाबले यसलाई त्यति महत्त्व दिइँदैन ।

आफ्नो पेसामा म एकदमै खुसी र सन्तुष्ट छु । यद्यपि आफन्तसँगको भेटघाट र साथीभाइसँगको जमघटमा हुँदा जस्ता प्रश्न सोधिन्छन्, त्यसले मलाई निराश बनाउँछ । कहिलेसम्म पढाइरहने ? तलब कति छ नि ? स्कुल पढाएर पनि जीवन चल्छ ? आफ्नो भविष्य नबनाउने ? यी र यस्तै तमाम प्रश्नका कारण मैले त्यस्ता भेटघाटमा रुचि दिन छाडेकी छु । गुणस्तरीय शिक्षासँगै यसमा आबद्ध शिक्षकको सेवा–सुविधाका विषयमा राज्यले सोच्नुपर्छ । अर्को कुरा, कुनै पनि पेसा वा क्षेत्रमा आबद्ध हुनु व्यक्तिको व्यक्तिगत सोच र चिन्तनको विषय हो । 

पैसाभन्दा पनि ठुलो खुसी र आत्मसन्तुष्टि हो भन्ठान्छु मैले । मेरो भविष्य बिर्सिएर भाइबहिनीको भविष्य बनाउन लागिपरेकी छु । यो अर्को गौरवको विषय होइन र ? पैसा र सम्पत्ति मात्र ठुलो हुने कस्तो समाज निर्माण गर्दै छौँ हामीले ? 

अरुका बालबालिकालाई आफ्नै बालबच्चाझैँ गरी सिकाउनु निश्चय नै गौरवको कुरा हो । शिक्षण पेसाले शिक्षकलाई समाजसँग जोड्छ, राज्यका नीति–नियमसँग जोड्छ । शिक्षकले विद्यार्थीलाई सिकाएका मात्रै हुँदैनन्, बालबालिकाबाट पनि केही सिकिरहेका हुन्छन् । विगत ६ वर्षदेखि शिक्षण पेसामा रहँदा मैले यस्तै महसुस गरेकी छु । 

कक्षा १ बाट पढाउन सुुरु गरेकी मैले ६ वर्षको अन्तरालमा कक्षा १० सम्म पढाउन थालेकी छु । पहिलो दिन, निकै डर–त्रासका साथ बालबालिकालाई पढाउनका लागि कक्षाकोठामा प्रवेश गरेकी थिएँ । त्यो दिन र आजका दिन तुलना गर्दा मलाई आत्मसन्तुष्टि नै मिल्छ । 

साना बालबालिकालाई अक्षर र अंक चिनाउनेदेखि उनीहरुको इच्छा, चाहना र क्षमता अनुरुपको भविष्यको बाटो देखाउन सहज छैन । तर उनीहरूसँग बिताउने समय, उनीहरूसँग बनेको सम्बन्धले मलाई सधैँ शिक्षण पेसामा घचघच्याइरह्यो र आजसम्म निरन्तरता दिइरहेँ । 

कहिलेसम्म पढाइरहने ? तलब कति छ नि ? स्कुल पढाएर पनि जीवन चल्छ ? आफ्नो भविष्य नबनाउने ? यी र यस्तै तमाम प्रश्नका कारण मैले त्यस्ता भेटघाटमा रुचि दिन छाडेकी छु । गुणस्तरीय शिक्षासँगै यसमा आबद्ध शिक्षकको सेवा–सुविधाका विषयमा राज्यले सोच्नुपर्छ ।

जिन्दगीको यात्रामा उकालो मात्रै वा ओरालो मात्रै हुँदैन । शिक्षण पेसामा आरोह–अवरोह निकै झेलेकी छु र जसबाट सिकेर अगाडि बढिरहेकी छु । पहिले आफ्नो भविष्यको पछि परेकी थिएँ, अहिले स–साना बालबालिकालाई उज्यालो भविष्यको बाटो देखाउन प्रयत्नरत छु । 

हामीले राम्रो व्यवहार ग¥यौँ भने बालबालिकाका अभिभावकले निकै स्नेह देखाउँछन् । आफ्ना छोराछोरीलाई खाजा ल्याइदिँदा कहिलेकाहीँ हामीलाई पनि केही ल्याइदिएर खान कर गर्छन् । कहिलेकाहीँ बिरामी भएर हामी विद्यालय नगएका दिन तिनै अभिभावकको फोन आउँछ । यही नै मेरा लागि यस क्षेत्रबाट कमाएको ठुलो सम्पत्ति हो । यद्यपि तलब, सेवा–सुविधाले कहिलेकाहीँ पिरोल्छ पनि । 

हो, परदेसिएका साथीहरूले जसरी यस क्षेत्रमा लागेर कमाउन सकिनँ, तर पछुतो छैन । किनकि घर–परिवार र देश रोजेकामा मलाई गर्व छ । म त नेपालमै बसेर स–साना भाइबहिनीको माया कमाउँदै छु ।
अहिलेको वर्तमान अवस्था हेर्ने हो भने शिक्षकलाई आफ्नो जीविका चलाउन पनि धौधौ पर्न थालेको छ । महँगी यति बढेको छ कि त्यसका अगाडि आफ्नो तलबको केही लाग्दैन । महँगी, त्यसमाथि देशमा कुनै पनि क्षेत्रमा लागेर जीविकोपार्जन गर्न समस्या हुने भएकाले युवाहरु बिदेसिएका छन् । पढे–लेखेका मजस्तै शिक्षण क्षेत्रमा योगदान दिन्छु भन्नेहरूको ध्यान पनि अचेल विदेशतिर भड्कन थालेको पाउँछु ।

साथीभाइ हेर्दा र आफन्तका कुरा सुन्दा मेरो मन पनि आत्तिन्छ । अर्कोतिर आफूले पढाएका कतिपय विद्यार्थीले पनि विदेशकै सपना देखेको पाइन्छ । यस्तो लाग्छ, शिक्षा र रोजगारीलाई जोडेर अगाडि बढ्न पाउने भए धेरै विद्यार्थीले विदेशको सट्टा स्वदेशमै अवसर खोज्ने थिए । 

देशको सबै क्षेत्रमा विकास हुँदै गर्दा शिक्षा क्षेत्रले अझै फड्को मार्न सकेको छैन । अझै पनि स–साना भाइबहिनीलाई सानै उमेरदेखि सुगारटाइ गर्ने चलन छ । दुई–तीन वर्ष नपुग्दै विद्यालयको ढोकामा लगेर छाड्ने प्रचलन बढ्दै छ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खोरमा थुने जसरी विद्यार्थीलाई विद्यालयमा थुनिन्छ । फेरि त्यही विद्यार्थी विद्यालय सकिएको भोलिपल्टदेखि विदेशी भाषादेखि कम्प्युटर आदिको कक्षा खोज्दै भौँतारिन थाल्छ । 

शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउन धेरै नै आवश्यक छ । किताबका पाठ रटाउनुको सट्टा व्यावहारिक सिकाइमा जोड दिनुपर्छ । शिक्षण पेसासँगै शिक्षण पेसामा आबद्ध भएका व्यक्तिलाई गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्छ ।

शिक्षण पेसामा युवाहरुलाई आकर्षित गर्न एकदमै आवश्यक छ र शिक्षकहरुलाई बेला बेला तालिमको आवश्यक छ । एउटा असल शिक्षकले भोलिको प्रतिभा जन्माउन सक्छ । यसो नभए पनि कम्तीमा गरिखाने सीप दिन सक्ने खालको शिक्षा हुने हो भने देशमा धेरै परिवर्तन आउन सक्छ । विद्यार्थीलाई देशमै केही गर्ने भावना ल्याउन विद्यालयको वातावरणदेखि देश र समाजको समग्र क्षेत्रमा परिवर्तन आवश्यक छ । हामीले स्कुलमा मात्रै सिकाइको वातावरण खोज्छौँ । विद्यार्थीले सीप विकास गर्ने वातावरण समाजमा पनि हुनुपर्छ । यसमा खासगरी राज्यले ध्यान दिनुपर्छ । 
(शिक्षक, सुनौलो भविष्य स्कुल, जोरपाटी ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुभद्रा चौलागाईं
सुभद्रा चौलागाईं
लेखकबाट थप