बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

आजको दुनियाँ बहुध्रुवीय होइन

मङ्गलबार, ०८ असोज २०८१, १० : ५८
मङ्गलबार, ०८ असोज २०८१

आजको दिनमा धेरैजसो राजनीतिज्ञहरू, कूटनीतिज्ञहरू र अन्तर्राष्ट्रिय राजनीतिका अध्येताहरू संसार बहुध्रुवीय भइसक्यो वा अब हुँदै छ भन्ने तर्क जोडतोडले अघि सारिरहेका छन् । पछिल्ला केही महिनामा यस्ता तर्क धेरै क्षेत्रका अगुवाबाट सुन्न थालिएको छ । यसो भन्नेहरूमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, जर्मन चान्सलर ओलाफ स्कल्ज, जर्मन विदेशमन्त्री अन्नालेना बायरबक, फ्रान्सेली राष्ट्रपति इम्यान्युएल म्याक्रोन, ब्राजिलियन राष्ट्रपति लुला इनासियो दा सिल्भा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसम्म पर्छन् । 

युरोपेनी संघको विदेश मामिलाका उच्चस्तरीय प्रतिनिधि जोसेफ बोरेल त सन् २००८ को वित्तीय संकटदेखि नै संसार ‘जटिल बहुध्रुवीयता’को प्रणालीमा गइसकेको दाबी गर्छन् । 

यो विचार व्यापारको क्षेत्रमा अझ चर्चित भइरहेको छ । विश्वकै ठुलोमध्ये पर्ने लगानी बैंक मोर्गन स्टान्लीले हालसालै ‘बहुध्रुवीय संसारमा कसरी चल्ने’ भन्नेबारे रणनीतिपत्र निकालेको छ । अर्काे प्रतिष्ठित युरोपेली बिजनेस स्कुल ‘इन्सिड’ त यस्तो संसारमा कस्तो नेतृत्व कौशल चाहिन्छ भन्नेबारे चासो गर्न थालेको छ ।

राजनीतिज्ञहरू, विज्ञहरू र लगानी बैंकहरूले यस्तो दाबी गरे पनि आजको समयमा दुनियाँ बहुध्रुवीय छ वा छिटै हुँदै छ भन्ने कुरा केवल कोरा कल्पना मात्रै हो ।

यसो भन्नुका कारण सरल छन् । ध्रुवीयता (पोलारिटी)को सामान्य अर्थ विश्व प्रणालीमा धेरै महाशक्तिहरू छन् भन्ने हुन्छ । र, विश्व बहुध्रुवीय हुनलाई कम्तीमा तीन वा तीनभन्दा धेरै महाशक्तिको उपस्थिति हुनुपर्छ । आजका दिनमा हेर्दा आर्थिक आकार, सैन्य शक्ति र विश्वव्यापी लाभ उठाउने क्षमताको हिसाबमा अमेरिका र चीन दुईवटा देशले मात्र आफूलाई महाशक्तिको रूपमा उभ्याउन सक्ने देखिन्छ । अरु महाशक्तिहरू देखिँदैनन् र छिटै देखिनेजस्तो अवस्था पनि छैन । ठुलो जनसंख्या र बढ्दो अर्थतन्त्र भएका उदाउँदै गरेका मध्यम शक्तिहरू र केही असंलग्न मुलुकहरूलाई हेरेर संसारलाई बहुध्रुवीय भइसक्यो भनेर भन्न मिल्दैन ।

ध्रुवीयता (पोलारिटी)को सामान्य अर्थ विश्व प्रणालीमा धेरै महाशक्तिहरू छन् भन्ने हुन्छ । र, विश्व बहुध्रुवीय हुनलाई कम्तीमा तीन वा तीनभन्दा धेरै महाशक्तिको उपस्थिति हुनुपर्छ ।

हामीले मसिनो गरी हेर्‍यौँ भने दुई ध्रुवबाहेक अर्काे तेस्रो, चौथो ध्रुव भेटाउँदैनौँ । सन् २०२१ मा भारत तेस्रो धेरै रक्षा खर्च गर्ने मुलुक थियो, जुन आफैँमा शक्तिको मापनको महत्त्वपूर्ण आधार हो, तर पछिल्लो समय स्टकहोम पिस रिसर्च इन्स्टिच्युटले प्रस्तुत गरेको आँकडा अनुसार भारतको सैन्य बजेट चीनको एक चौथाइ हाराहारी मात्रै छ, (जब कि चीनको सैन्य बजेट सार्वजनिक आँकडाभन्दा धेरै हुन सक्ने अनुमान छन्) । 

आज भारतको मुख्य ध्यान आफ्नो विकासतर्फ बढी केन्द्रित छ । यसको परराष्ट्र सेवा क्षेत्र अझै सानो छ । हिन्द प्रशान्त क्षेत्रमा लाभ लिन अधिक उपयोगी जलसैन्यको मामिलामा चीनले पछिल्लो पाँच वर्षमा भारतभन्दा पाँच गुणा भार क्षमताको परिचालन गरेको छ । भारत कुनै दिन एउटा ध्रुव बन्ने सम्भावनालाई नकार्न त सकिन्न तर त्यो सुदूर भविष्यमा मात्रै आउँछ ।

शक्ति परिचालन क्षमताको अर्काे सूचक आर्थिक सम्पत्ति हो । जापान संसारको तेस्रो ठुलो अर्थतन्त्र हो, तर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को पछिल्लो तथ्यांक अनुसार जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) चीनको तुलनामा एक चौथाइभन्दा कम देखिन्छ । यस पछाडि रहेका चार ठुला अर्थतन्त्रहरू जर्मनी, भारत, बेलायत त फ्रान्स अझै साना छन् ।

म्याक्रोन लगायत केही मानिसले अविराम दाबी गरेजस्तो युरोपेली संघ पनि तेस्रो ध्रुव हुन सक्दैन । युरोपेली राज्यहरूका राष्ट्रिय चासो फरक–फरक छन्, तिनीहरूको एकता नै दरार आउने खालको छ । युक्रेनको समर्थनमा युरोपेली संघको एकढिक्का एकता देख्न सकिन्छ, तर त्यहाँ एकीकृत रक्षा, सुरक्षा वा विदेशनीति देखिँदैन । बेइजिङ, मस्को वा वासिङटनले कुरा गर्नुपर्‍यो भने सिधै पेरिस, बर्लिनसँग कुरा गर्छन् । ब्रसेल्ससँग कुरा गर्ने भन्ने बिरलै मात्रै हुन्छ ।

ठुलो भूमि, अत्यधिक प्राकृतिक स्रोत–साधन र आणविक हतियारको विशाल भण्डारका कारण रुस पक्कै पनि महाशक्तिको सम्भावित दाबेदार हुन सक्छ । यो देशले आफ्नो सीमा बाहिर पनि प्रभाव पार्न सक्छ । अहिले प्रमुख युरोपेली युद्ध नै लडिरहेको छ । फिनल्यान्ड र स्विडेनलाई नेटोमा धकेलेको छ । यद्यपि इटालीभन्दा सानो अर्थतन्त्र र चीनको एक चौथाइ हाराहारी सैन्य खर्चको आधारमा रुस अन्तर्राष्ट्रिय प्रणालीको तेस्रो महाशक्तिको रूपमा अझै योग्य हुन सक्दैन । हदैसम्म गर्दा रुसले चीनलाई सहयोग गर्ने भूमिका खेल्ने हो ।

विश्व बहुध्रुवीय भइसकेको छ भन्नेहरूले व्यापक रूपमा दाबी गर्ने गरेको अर्काे तर्क ग्लोबल साउथको उदय र पश्चिमा मुलुकहरूको खुम्चिदो भूमिका हो । आफ्नै ध्रुव बनाउन सक्ने आर्थिक, सैन्य र अरु प्रभावकारी शक्ति नभएका भारत, ब्राजिल, टर्की, दक्षिण अफ्रिका र साउदी अरबजस्ता पुराना र नयाँ मध्यम शक्तिहरूको उपस्थितिले व्यवस्थालाई बहुध्रुवीय बनाइहाल्दैन । अर्काे शब्दमा भन्ने हो भने यी देशसँग चीन र अमेरिकासँग जुध्न सक्ने क्षमता छैन ।

धेरै युरोपेलीको बुझाइमा बहुध्रुवीयताले नियमहरूमा आधारित व्यवस्थामार्फत विश्वलाई थप राम्रो विश्व बनाउने, विविध शक्तिहरूसँगको विश्वव्यापी साझेदारीलाई सहज बनाउने र नयाँ ब्लकहरूको उदयलाई रोक्ने काम गर्छ ।

यो कुरा सत्य हो, विश्व अर्थतन्त्रमा अमेरिकाको हिस्सा घट्दो क्रममा छ तर पनि चीनसँग जोडेर हेर्दा यसले आफ्नो प्रभावशाली उपस्थिति कायमै राखेको छ । यी दुई महाशक्तिहरूको रक्षा खर्च पूरा विश्वको रक्षा खर्चको आधा छ । यी दुई मुलुकको अर्थतन्त्र जोड्दा त्यसपछिको सूचीमा रहेका ३३ ठुला अर्थतन्त्रहरू जोड्दासँग बराबर हुन्छ ।

दक्षिण अफ्रिकाको जोहान्सबर्गमा भएको शिखर बैठकमा भएको ब्रिक्सको विस्तार (यसअघि ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेको समूह)को निर्णयलाई केहीले बहुध्रुवीयताको छनक वा त्यसतर्फको महत्त्वपूर्ण पाइला भनेका छन् । तर यो समूहमा एउटै ध्रुवको रूपमा कार्य गर्नलाई अप्ठेरो हुने तहको विविधता छ, तिनीहरू सहजै छुट्टिन सक्छन् । ब्रिक्स प्रस्ट रूपमा कुनै एउटा ब्लक बन्ने सन्निकटमा छैन । यसका सदस्यहरू अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थामा साझा धारणा राख्ने तहसम्म मिल्न सक्छन्, तर अन्य विविध क्षेत्रमा उनीहरूका धारणा फरक–फरक छन् । एउटै पंक्तिमा भएको देखाउने मुख्य विषय सुरक्षा नीतिको मामिलामा यो समूहका ठुला सदस्यहरू चीन र भारतबिचमा ठुलो मतभेद छ । बरु बेइजिङको उदयले नयाँ दिल्लीलाई अमेरिकाको नजिक पुर्‍याइरहेको अवस्था छ ।

brics

प्रश्न उठ्छ— विश्व बहुध्रुवीय छैन भने किन बहुध्रुवीयताका दाबीहरू यति लोकप्रिय छन् ? यसो हुनुमा अन्तर्राष्ट्रिय राजनीतिका तथ्य र धारणा बुझ्न जाँगर नभएर बेवास्ता गर्नेबाहेक तीनवटा प्रस्ट कारण देखिन्छन् ।

पहिलो कारण— बहुध्रुवीयताको विचारलाई अगाडि बढाउने धेरै व्यक्तिका लागि यो आग्रह मिश्रित अवधारणा हो । यो पश्चिमा जगतको वर्चस्वको युग सकिएको छ र त्यो शक्ति फैलिँदै छ वा फैलिनुपर्छ भन्ने वा आशा गर्ने अर्काे तरिका हो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बहुध्रुवीयतालाई विश्व–व्यवस्थालाई सन्तुलनमा ल्याउने तथा बहुपक्षीयताका विषय हल गर्ने उपायका रूपमा लिएका छन् । 

धेरै युरोपेली नेताले बहुध्रुवीयतालाई चीन–अमेरिकाको द्विध्रुवीयताको विकल्प हुन सक्छ भन्ने आशाको रूपमा लिएको पाइन्छ । किनभने उनीहरूको बुझाइमा बहुध्रुवीयताले नियमहरूमा आधारित व्यवस्थामार्फत विश्वलाई थप राम्रो विश्व बनाउने, विविध शक्तिहरूसँगको विश्वव्यापी साझेदारीलाई सहज बनाउने र नयाँ ब्लकहरूको उदयलाई रोक्ने काम गर्छ ।

पक्कै पनि बहुपक्षीय ढाँचाले सोचेजस्तो काम गरिरहेको छैन । पश्चिमा जगतमा धेरैले बहुध्रुवीयताको विचारले अलि राम्रोसँग काम गर्छ भन्ने सोच्छन् । यसलाई बहुपक्षीयता पुनर्जीवित गराउने र ग्लोबल साउथसँगको टुट्दै गएको सम्बन्धलाई पुनर्जागृत गराउने अवसरका रूपमा पनि हेरेका छन् । अर्काे शब्दमा भन्नुपर्दा अस्तित्वमै नभएको बहुध्रुवीयताप्रतिको विश्वास एक प्रकारले विश्व व्यवस्थामा आशा र सपनाको एउटा काल्पनिक गुलदस्ता (बुके) हो भन्न सकिन्छ ।

दोस्रो कारण— बहुध्रुवीयताको यति धेरै चर्चा हुनुको दोस्रो कारण अलि फरक छ । तीन दशकको भूमण्डलीकरण र सापेक्षिक शान्तिको अवधिपश्चात् यसमा अभ्यस्त नीतिनिर्माताहरू, टिप्पणीकारहरू र प्राज्ञिकहरू दुई ध्रुवमा विभाजित हुँदै सबैलाई तान्दै सघन रूपमा बढिरहेको प्रतिद्वन्द्वितालाई स्विकार्न तयार छैनन् । यसरी हेर्दा बहुध्रुवीयताप्रतिको विश्वास एक प्रकारले यथार्थभन्दा परको अर्काे बौद्धिक बहाना पनि हो । साथै यसमा अर्काे शीतयुद्ध नहोस् भन्ने कामना पनि देख्न सकिन्छ ।

बहुध्रुवीयताप्रतिको विश्वास एक प्रकारले यथार्थभन्दा परको अर्काे बौद्धिक बहाना पनि हो । साथै यसमा अर्काे शीतयुद्ध नहोस् भन्ने कामना पनि देख्न सकिन्छ ।

तेस्रो कारण— बहुध्रुवीयताको छलफल एक किसिमले शक्तिको खेलको एउटा हिस्सा पनि हो । बेइजिङ र मस्कोले बहुध्रुवीयतालाई अमेरिकी शक्तिलाई रोक्ने र आफ्नो अवस्थालाई थप विकास गर्ने तरिकाको रूपमा लिन्छन् । सन १९९७ मा संयुक्त राज्य अमेरिका धेरै बलियो शक्ति भएको बेला रुस र चीनले बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको स्थापनाको संयुक्त घोषणामा हस्ताक्षर गरेका थिए । चीन आज महाशक्ति भए पनि अमेरिकालाई आफ्नो मुख्य चुनौतीका रूपमा हेर्छ । मस्कोसँग मिलेर बेइजिङले बहुध्रुवीयताको विचारलाई ग्लोबल साउथको चाप्लुसी गर्न र यसलाई आफ्नो उद्देश्यतर्फ आकर्षित गर्ने सहज तरिकाको रूपमा प्रयोग गर्छ । 

बहुध्रुवीयता सन् २०२३ मा चीनको कूटनीतिक आकर्षणको प्रयोगको केन्द्रीय विषय बन्यो । पुटिनले जुलाईमा रूस–अफ्रिका शिखर सम्मेलनमा उपस्थित नेताहरूले बहुध्रुवीय विश्वलाई प्रवद्र्धन गर्न सहमत भएको घोषणा गरे । त्यसैगरी जब ब्राजिलमा लुलाले जस्तै उदाउँदो मध्यम शक्तिका नेताहरूले बहुध्रुवीयताको विचारलाई बढावा दिन्छन् यो प्रायः आफ्नो देशलाई एक अग्रणी असंलग्न राष्ट्रको रूपमा स्थापित गर्ने प्रयासको रूपमा हुने गर्दछ ।

जो–कोहीले पनि ध्रुवीयता र यसबारेका गलत बुझाइले के अर्थ राख्छ होला र भनेर सोच्न सक्छ । सजिलो उत्तर यो हो कि विश्वव्यवस्थामा कति ध्रुव छन् भन्ने कुराले ठुलो अर्थ राख्छ । यसबारेका गलत अवधारणाले रणनीतिक चिन्तनलाई अलमल्याउँदै अन्तिममा गलत नीति तर्जुमा हुने अवस्थामा पुर्‍याउँछन् । ध्रुवीयताको महत्व मुख्य दुई कारणले धेरै छ ।

पहिलो कारण— राज्यहरूले एकध्रुवीय, द्विध्रुवीय र बहुध्रुवीय व्यवस्थामा फरक खालका अवरोध सामना गर्छन् । जसलाई सम्हाल्न फरक रणनीति र नीतिको खाँचो पर्छ । उदाहरणका लागि गत जुनमा जारी भएको जर्मनीको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई लिन सकिन्छ । यसमा ‘अन्तर्राष्ट्रिय र सुरक्षा वातावरण झन् बहुध्रुवीय र थप अस्थिर बन्दै गएको छ’ भनिएको छ । 

बहुध्रुवीय प्रणालीलाई एकध्रुवीय वा द्विध्रुवीय प्रणालीको तुलनामा कम स्थिर रूपमा लिइन्छ । बहुध्रुवीय व्यवस्थामा एउटा राज्य अर्काेमा हाबी हुन नसकोस् भनेर महाशक्तिहरू गठबन्धन वा समूहहरू बनाउँछन् । फलतः निरन्तर मुख्य शक्तिहरूका चासोका आधारमा विभिन्न समूहका गठन र पुनर्गठन भइरहेका हुन्छन् । द्विध्रुवीय व्यवस्थामा दुई महाशक्तिहरूले मूूल रूपमा एकले अर्काेलाई सन्तुलनमा राखेका हुन्छन् । उनीहरूमा आफ्नो प्रधान दुश्मन को हो भन्नेबारे कुनै द्विविधा हुँदैन । त्यसैले हामीले जर्मनीको रणनीतिक पत्र गलत छ भन्ने आशा गर्नुपर्ने हुन्छ ।

ध्रुवीयताले व्यापरमा पनि अर्थ राख्छ । मोर्गन स्टान्ली र इन्सिडले आफ्ना ग्राहक र विद्यार्थीलाई बहुध्रुवीय विश्वका लागि तयार गरिरहेका छन् । तर द्विध्रुवीय विश्वमा बहुध्रुवीय विश्वका रणनीतिहरू उपयोग गर्नु धेरै महँगो गल्ती साबित हुन सक्छ । व्यापार र लगानीको बहाब फरक ध्रुवीय परिस्थितिमा फरक प्रकृतिको हुन्छ । द्विध्रुवीय प्रणालीमा दुई महाशक्तिहरू सापेक्षिक लाभबारे धेरै चासो गर्छन्, जसले थप विभाजित र ध्रुवीकृत आर्थिक व्यवस्था निर्माण गर्छ । हरेक खालका व्यवस्थाका आफ्नै भूराजनीतिक जोखिम हुन्छन् । कारखाना कहाँ खोल्ने भन्नेबारे गलत रणनीति लिन पुग्दा त्यसले ठुलो क्षति गराउँछ ।

दोस्रो कारण— द्विध्रुवीय दुनियाँमा बसेर बहुध्रुवीय दुनियाँको वकालत गर्दा आफ्ना मित्र र दुश्मन दुवैमा गलत सूचना र संकेत प्रवाह हुन्छ । गएको अप्रिलमा आफ्नो चीन भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपति म्याक्रोनले व्यक्त गरेको धारणाले ल्याएको हलचलले यो कुरालाई राम्रोसँग चित्रण गर्छ । 

चीनबाट फर्किने क्रममा हवाईजहाजभित्रै दिएको अन्तर्वार्तामा उनले युरोपले तेस्रो महाशक्ति बन्नुको महत्त्वबारे जोड गरेका थिए । बहुध्रुवीयताबारे रमाइलो कुरा गरेँ भन्ठानेका म्याक्रोनको अभिव्यक्तिले वासिङ्टन र युरोपमा राम्रो सन्देश दिएन । यो अभिव्यक्तिबाट चिनियाँ खुसी देखिन्थे, तर उनीहरूले म्याक्रोनको बहुध्रुवीयताबारेका अभिव्यक्तिमा फ्रान्स र युरोपमालाई चीन अमेरिका प्रतिद्वन्द्वितामा आफ्नो पक्षतर्फ ढल्किएको संकेतको रूपमा बुझेका भए निश्चय नै त्यो गलत बुझाइ नै हुन जान्छ ।

बहुध्रुवीय प्रणाली दुई मात्रै महाशक्ति भएको विश्वभन्दा कम ध्रुवीकृत हुन त सक्छ तर यसले उन्नत विश्वतर्फ लैजान्छ नै भन्ने पटक्कै होइन । बहुपक्षीयताको तत्कालको समाधानका रूपमा देखिए पनि यसले थप क्षेत्रीय विभाजनतर्फ लैजान सक्छ । हुँदै नभएको बहुध्रुवीयताबारे सोचेर तथा यसमा ऊर्जा खर्च गर्नुभन्दा हाल कायम रहेको द्विध्रुवीय व्यवस्थामा विद्यमान समस्याबारे उन्नत रणनीतिहरू बनाउने, समाधानहरू खोज्ने र संवादका मञ्च तयार गर्नेतर्फ ध्यान दिनु श्रेयस्कर हुन्छ ।

भारतको उदय हुँदै गएर चीन र अमेरिकाको हाराहारीमा पुग्न सक्यो भने दीर्घकालमा विश्व बहुध्रुवीय हुन पनि सक्छ । तर आजको दिनबाट हेर्दा यो धेरै टाढाको कुरा हो । हामी लामो समयसम्म द्विध्रुवीय विश्वमा रहन्छौँ । त्यसैले नीति र रणनीतिहरू पनि सोही अनुसार बनाउनुपर्ने हुन्छ ।

(जो इङ्गे बेक्केभोल्डले ओस्लो विश्वविद्यालयमा राजनीति शास्त्र अध्ययन गरेका हुन् । पेकिङ विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गरेका उनी सन् १९९९ मा नर्वेको विदेश सेवामा सामेल भए । विभिन्न कूटनीतिक भूमिकामा काम गरेका उनी हाल चिनियाँ भूराजनीति तथा रुस र भारतसँगको चीनको सम्बन्धबारे अनुसन्धान परियोजनाहरूमा काम गरिरहेका छन् ।)

(यो लेख फरेन पोलिसी पत्रिकाबाट लिइएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जो इङ्गे बेक्केभोल्ड
जो इङ्गे बेक्केभोल्ड
लेखकबाट थप

छुटाउनुभयो कि ?