बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

दाङको देउखुरीमा लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन निर्माण धमाधम

मङ्गलबार, ०८ असोज २०८१, १० : ३६
मङ्गलबार, ०८ असोज २०८१

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा अहिले लुम्बिनी  प्रदेश सरकारले  प्रशासनिक केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । राप्ती उपत्यका देउखुरीमा एउटै भवन परिसरबाट  प्रदेशको सम्पूर्ण प्रशासनिक कामकाज अघि बढ्ने छ ।

मन्त्रालय, विभाग, निर्देशनालयहरू, मातहतका अन्य कार्यालयहरूले एकै थलोबाट सेवा प्रवाह गर्नेछन् । यसलाई प्रदेश सरकारले गाैरवको आयोजनाको रूपमा राखेको छ । विसं २०७९ फागुन ३ गते लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसर पारेर शिलान्यास गरिएको भवनमा काम अहिले धमाधम चलिरहेको र केही भवनको  निर्माणको अन्तिम चरणमा रहेको  प्रदेशमा भौतिक पूर्वधार मन्त्री भुमिश्वर ढकालले रातोपाटीलाई बताए ।

हालसम्म ५६ प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । अबको एक वर्षभित्र प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्नेगरी निर्माणको काम भइरहेको  बताए । करिब १९ विगाह क्षेत्रफलमा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ । मुख्यमन्त्री चेतनारायण  आचार्यले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन समेत दिएका छन्।

एउटै हाताभित्र निर्माण हुने सरकारका प्रशासनिक भवन मुलुककै नमुनायोग्य हुने र यसले प्रदेशको प्रशासनिक कामकाजलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

Messenger_creation_7D142B08-FE76-4D27-909B-87F8BEC7A1E7

एउटै हाताभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० वटा भव्य प्रशासनिक भवन निर्माणको कार्य तीब्र गतिमा अगाडि बढेको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईको भनाई छ ।

राप्ती उपत्यका देउखुरीस्थित प्रदेश राजधानीलाई मुलुककै उत्कृष्ट र व्यवस्थित बनाउन सरकारका प्रशासनिक भवनलाई नमुना बनाउने गरी निर्माण कार्यलाई अगाडि बढाइएको हो । ३अर्बमा शर्मा सगन जेभी कम्पनीले भवन निर्माणको काम गरिरहेको हो ।

यस्ता सुविधा हुनेछन्

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन छ तलाको हुनेछ । जसमा मुख्यमन्त्री, प्रमुख सचिव कार्यकक्ष, मिटिङ हल र मल्टिप्रपोज हलसहित ९६ कोठा रहनेछन् । जसमा दुईवटा लिफ्ट रहनेछन् भने भुईँ तला अपाङ्गमैत्री हुनेछ । मण्डला आकारमा निर्मित मन्त्रालयका प्रशासनिक भवनले मुलुकमै फरक पहिचान स्थापना गर्ने विश्वास भवन इकाईका सूचना अधिकारी   इन्जिनियर  प्रदीप  भट्टराईले बताए ।

अन्य नौवटा मन्त्रालयका भवनहरू पाँच तलाका हुनेछन् र हरेक भवनमा ५४ वटा कोठा रहनेछन् । सम्पूर्ण भवनमा लिफ्ट, अपाङ्गमैत्री सुविधा, अण्डरग्राउण्ड पार्किङको व्यवस्था हुनेछ । भ्याटबाहेक तीन अर्ब नौ करोड रुपैयाँ बराबरको लागतमा निर्माण हुने संरचनाअन्तर्गत सडक सञ्जाल निर्माण, बगैँचा निर्माणका आयोजना समेटिएको छ  ।

Messenger_creation_83308339-6D9B-472D-9AC6-6AA986B799A1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप