बालबालिकामा क्यान्सर, नेपालमै उपचार
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस सकेर कालिकोट जिल्ला अस्पताल आएको केही दिनपछि डा. अप्सरा हमालको ओपीडीमा १२ वर्षकी नानी उपचारका लागि आइन् । लामो समयदेखि ज्वरो आउने, तौल घट्ने, अनुहार पहेँलो हुँदै गएको र खान मन नलाउनेजस्ता समस्या लिएर उनी आफ्नो बुवासँग आएकी थिइन् ।
जाँच गर्दा रगतमा होमोग्लोबिनको मात्रा २ देखियो । उनीमा रगतको दीर्घरोग रहेको शंका लागेर पाटन अस्पतालकी बाल हेमाटोलोजिस्ट तथा अन्कोलोजिस्ट डा. सुचारिता तुलाधरसँग फोनमा कुरा भयो । तत्काल पाटन पठाउनका लागि सल्लाह भयो ।
पाटन अस्पतालमा थप जाँच गर्दा उनलाई क्यान्सर भएको शंका गरियो । रोग पत्ता लगाउन महत्त्वपूर्ण जाँच गर्नुपर्ने थियो । जाँचहरू अत्यन्तै महँगा थिए अझ केही जाँच भारत पनि पठाउनुपर्ने थियो । बिरामीको आर्थिक अवस्था कमजोर रहेछ । ‘घरबाट ल्याएको १० हजार सकियो’ भन्दै बिरामीका बुवाले गहभरि आँसु पारे ।
डा. सुचारिताले चिनेका सहयोगी संस्थाहरू र पाटन अस्पताल अन्तर्गत निकै मिहिनेतले खोलिएको ‘पेडियाट्रिक अन्कोलोजी फन्ड’को सहयोग लिएर सम्पूर्ण जाँच गरिदिनुभयो । यो फन्डमा डा. सुचारिताका चिनजान र आफन्तले आफ्नो जन्मदिन, वार्षिकोत्सवजस्ता महत्त्वपूर्ण समयमा विशेष योगदान गर्ने गरेका छन् । रिपोर्ट हेर्दा नानीलाई ‘फिलाडेल्फिया पोजेटिभ ब्लड क्यान्सर’ (एएलएल) भएको रहेछ ।
पाटन अस्पतालबाट एमबीबीएस सकेर दुर्गममा काम गरिरहेका कैयौँ डाक्टरहरूले रोगको शंका लागेका आफ्ना सिनियरसँग सल्लाह गरी समयमै पाटन अस्पताल रिफर गर्नाले पनि कतिपय बालबालिकाको उपचार सम्भव भइरहेको छ ।
उपचार सुरु गरेपछि नानीलाई कम्तीमा ६ महिना केमोसहित डाक्टरको कडा निगरानीमा राख्नुपर्थ्यो । तर बिरामीको परिवारको आर्थिक अवस्था ६ महिनासम्म काठमाडौँमा बस्न सक्ने थिएन ।
डा. सुचारिताको विशेष पहलमा ‘लिओनार्दाे इडवार्ड श्रेष्ठ’ फाउन्डेसनले खोलेको सेल्टर होममा बिरामी नानी र उनका बुवालाई निःशुल्क खाने–बस्ने व्यवस्था गरियो । यो सेल्टर होममा क्यान्सर भएका, केमो पाइरहेका अन्य बालबालिका र उनका कुरुवाहरूले निःशुल्क खान–बस्न पाइरहेका छन् ।
नानीलाई डाक्टरको ६ महिनाको नियमित निगरानी, औषधि र केमोपश्चात् निको हुँदै गयो । अहिले आवश्यक औषधि व्यवस्थापन गरेर कालिकोट पठाइएको छ । केमोको औषधि प्रयोग गर्दा गर्नुपर्ने आवश्यक जाँच एवं उपचारबारे कालिकोट जिल्ला अस्पतालले डा. सुचारितासँग नियमित सल्लाह लिने गरेको छ । यसरी एकजना बालिकाको जीवन जोगियो ।
यो एक प्रतिनिधि घटना मात्र हो । डा. सुचारिता तुलाधरले क्यान्सर भएका बालबालिकालाई आफूले सकेको सहयोग गरिरहनुभएको छ । आफ्ना व्यक्तिगत इच्छा त्यागेर भ्याएसम्म सबैलाई सहयोग गरिरहनुको कुरा अस्पतालको ‘हेमाटो–अन्को वार्ड’मा प्रस्ट देखिन्छ । त्यहाँ अहिले पनि कैयौँ बालबालिका उपचाररत छन्— कोही मधेसबाट, कोही कर्णालीबाट त कोही सुदूरपश्चिमबाट आएका बिरामीका अभिभावकले डा. सुचारितालाई आफ्नो बिरामीको जीवनरक्षा गरिदिन रुँदै अनुनय गरिरहेका दृश्य देखिन्छन् ।
यो रोग पत्ता लगाउन जाँचहरू एकदम महँगो तर गर्नैपर्ने जाँच छन् । नेपाल सरकारले क्यान्सरका बिरामीलाई आर्थिक सहयोग स्वरूप रोग पत्ता लागेपछि एक लाख रुपैयाँ दिन्छ । यता जाँचकै क्रममा कैयौँ परिवार आर्थिक हिसाबले पिल्सिसकेका हुन्छन् । एक त क्यान्सरजस्तो रोगका लागि राज्यले गर्ने आर्थिक सहयोग थोरै छ भने अर्काे समयको व्यावहारिकता परिमार्जन गर्न आवश्यक देखिन्छ ।
हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने बालबालिकामा क्यान्सर पत्ता लाग्न समय लाग्छ, यसका पनि धेरै कारण छन्— जस्तै : सुरुमा देखिएका लक्षणको बेवास्ता गरिनु, दुर्गममा डाक्टरको पहुँच नहुनु, अत्यावश्यक जाँचको उपलब्धता नहुनु, समयमै रिफर नहुनु, बिरामीको आर्थिक अवस्था कमजोर हुनु र अर्काे महत्त्वपूर्ण कारण चाहिँ बालबालिकामा पनि क्यान्सर हुन्छ भन्ने कैयौँ अभिभावकलाई ज्ञान नहुनु ।
बालबालिकाको क्यान्सर समयमै पत्ता लगाउन सकियो भने उपचार सम्भव छ, नेपालमै यसको उपचार हुन्छ भनेर सबैलाई जानकारी दिनु अत्यन्तै आवश्यक छ ।
- क्यान्सरका लक्षण
– शरीरका विभिन्न भाग, जस्तै : छाती, पेट, काखीतिर नदुख्ने गाँठो देखिनु क्यान्सरको संकेत हुन सक्छ । यस्तो अवस्थामा गाँठोको परीक्षण आवश्यक हुन्छ ।
– शरीरका विभिन्न भागमा नीला डाम देखिनु र रगत धेरैबेर बग्ने, घाउ सजिलै निको नहुने, रगतमा हेमोग्लोबिन अत्यन्तै न्यून हुने, सेतो रगतको मात्रा अस्वाभाविक हुनेजस्ता समस्या पनि देखिन सक्छन् ।
– बालबालिकामा फुर्ती हराउँदै जानु, कमजोर हुँदै जानु, खान मन घट्दै जानु, तौल घट्दै जानु पनि क्यान्सरको संकेत हुन सक्छ ।
– लामो समयसम्म ज्वरो आउने, सामान्य औषधिले पनि निको नहुने ज्वरो आइरहने हुन्छ । यस्तोमा डाक्टरको सल्लाह आवश्यक रहन्छ ।
– बालबालिकालाई लामो समयदेखि टाउको दुख्नु र हड्डी तथा जोर्नी दुख्ने लक्षण क्यान्सरको पनि हुन सक्छ ।
- उपचार विधि र बच्ने उपाय
बालबालिकामा क्यान्सरको अवस्था हेरेर उपचारका विधि रहेका छन् । ब्लड क्यान्सरको पनि प्रकार हेरेर महिना–वर्षदेखि जीवनभर औषधि सेवन गर्नुपर्ने हुन सक्छ ।
आँखामा देखिने रेटिनोब्लास्टोमा र दिमागमा देखिने ब्रेन–ट्युमर अत्यन्तै संवेदनशील भएकाले बेलैमा उपचार सुरु गर्नुपर्छ । जन्मजात क्यान्सर (कन्जेनाइटल क्यान्सर) भएका शिशुहरूको उपचार जन्मेपछि नै सुरु गर्नुपर्ने हुन्छ ।
केही वर्षअघि कालिकोटबाट ‘रेटिनोब्लास्टोमा’को उपचारका लागि एक नौ वर्षीया बालिका काठमाडौँको टिचिङ अस्पताल आएकी थिइन् तर निकै ढिलो आएकाले उपचारका क्रममा उनको ज्यान गयो ।
जिनको समस्या मुख्य भए पनि बालबालिकामा यही कारणले क्यान्सर हुन्छ भन्न अप्ठेरो छ । यस्तै, त्यसअनुरूप बच्ने उपाय भन्न मुस्किल हुन्छ ।
कैयौँ बिरामीका परिवारलाई बालबालिकाको क्यान्सरको नेपालमै उपचार हुन्छ भन्ने जानकारी छैन । हाम्रा अस्पताल धेरै मानेमा अब्बल भइसकेका छन् । बालबालिकामा देखिने रगत क्यान्सरको उपचार पाटन अस्पतालमा भइरहेको छ । पाटन अस्पतालबाट एमबीबीएस सकेर दुर्गममा काम गरिरहेका कैयौँ डाक्टरहरूले रोगको शंका लागेका आफ्ना सिनियरसँग सल्लाह गरी समयमै पाटन अस्पताल रिफर गर्नाले पनि कतिपय बालबालिकाको उपचार सम्भव भइरहेको छ ।
अहिले नेपालका धेरै ठाउँमा एमबीबीएस डाक्टर पुगेका छन्, टेलिमेडिसिनको उचित प्रयोग गरेर पनि दूरदराजका बिरामीको अवस्था र गर्नुपर्ने उपचार, रिफरलबारे सल्लाह लिन सक्छौँ ।
(लेखक कालिकोट जिल्ला अस्पतालमा मेडिकल अधिकृत छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री श्रेष्ठ भन्छन्– ‘१० औँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडी र कर्णाली प्रदेशप्रति अन्याय हो’
-
मेडिसिटीमा बिरामीको मृत्यु : आफन्त भन्छन्– अस्पतालको लापरबाही
-
बागमती सरकारद्वारा एक सचिवको पदस्थापन, २ जनाको सरुवा
-
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकटमा ५ हजार छुट
-
नेपाली यू–१९ टोलीले जित्यो कर्नाटकविरुद्धको एकदिवसीय शृंखला
-
कार्यालय समयमा अत्यासलाग्दो जाम, समयमा गन्तव्यमा पुग्नै सकस (फोटो/भिडियो)