शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

लेबनानमा इजरायलको हमला : सोमबार मृत्यु हुनेको संख्या ३५६ पुग्यो

मङ्गलबार, ०८ असोज २०८१, ०१ : ३३
मङ्गलबार, ०८ असोज २०८१

बेरुत । लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ३५६ पुगेको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहानैदेखि दक्षिणी लेबनान, बेका र बालबेकका सहर र गाउँहरूमा इजरायली हमलाका कारण ३५६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २४ जना बालबालिका र ४२ महिला रहेका छन् । 

आक्रमणमा परी एक हजार २४६ जना घाइते भएका छन् । आक्रमणपछि देशको दक्षिणी भागका दसौँ हजार मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले बताएका छन् ।

 'यी आक्रमणहरूको मुख्य उद्देश्य लक्षित क्षेत्रहरूबाट नागरिकहरूको यो पलायनलाई उक्साउनु थियो,' स्वास्थ्यमन्त्री अबियादलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । उनका अनुसार हिजबुल्लाह पेजर र वाकी–टाकीहरू विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए । 

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरू हिंसामा तानिएका थिए । 

इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ । हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ ।

विश्व शक्तिहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्ला दिनहरूमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्र रूपमा सरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप